जसले छेस्को देखाएर प्रधानमन्त्रीलाई पट्याए

जसले छेस्को देखाएर प्रधानमन्त्रीलाई पट्याए
तस्बिर : कृष्पा श्रेष्ठ

२०३८ साल वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन भयो। देशभर ११२ निर्वाचन क्षेत्र तोकियो। जसमा नुवाकोट जिल्लाको तीन वटा क्षेत्र पनि समावेश थियो।

नुवाकोटका तीन क्षेत्रमध्ये दुई नम्बर क्षेत्रबाट निर्वाचित भए प्रकाशचन्द्र लोहनी। लोहनी निर्वाचित हुनुको पछाडि पञ्चकन्या गाउँ पञ्चायत वडा ६ निवासी गंगाधर खनालको ठूलै भूमिका रह्यो।

खनाल नुवाकोटमा नाम कहलिएका पुरोहित थिए। फलादिश गर्ने, जजमानी गर्ने, जन्मपत्रिका बनाउने मात्र होइन, रसिलो पाराले भागवत कथा वाचन गर्न पनि उनी खप्पिस थिए। हँसिमजाक गर्ने उनको अन्दाज त तारिफयोग्य नै थियो।

जुँघाको रेखी नबस्दै घरबाट भागेर व्याकरण पढ्न बनारसमा पुगेका खनाल सानै उमेरबाट वाकपटुतामा माहिर थिए। 

ब्राह्मण परिवारका उनलाई सानै उमेरमा गुरुकुल पठाइयो। बनारसमा चार वर्ष व्याकरण पढेपछि खनाल फलादिशतिर पनि लागे। कर्मकाण्ड त उनी गाउँमा छँदा नै गर्नसक्ने भइसकेको थिए। 

हाँस्यचेतले भरिपूर्ण खनाल भारतमा रहँदा नै मारबाडीहरुलाई कथा सुनाउने गर्थे। यो सिलसिला नेपाल नफर्किंदासम्म रह्यो। उनले त्यो बेला कथा सुनाएवापत पैसा पनि राम्रै कमाए।

करिब ६ वर्ष भारत बसाइपछि वि.सं. २०२० सालमा उनी नेपाल फर्के। त्यतिबेला १८ वर्षका थिए।

००० 
राजा महेन्द्रको शासन रहेको बेला खनालमा पनि पञ्चायतको प्रभाव रहेकै थियो। गाउँमा रहेर आफ्नो पेसा सम्हालिरहदा उनी दुई पटक गाउँ पञ्चायतमा पनि उठे तर हारे।

नेता हुन वैदिक हुनुपर्छ भन्ने उनको मान्यता थियो। लोहनी विदेशमा पढेर आएका, धर्म र कर्मको बाटो पनि मिल्ने।

‘चुनावी प्रचार गर्न छहरेमा भेला हुने कुरा भयो। गाउँबाट ४० जनाको हुल लिएर आएँ,’ खनाल सम्झन्छन्, ‘चारगाँउको पुरोहित थिएँ म। करिब ४ सय घरधुरी त मेरा यजमानमा थिए। एक किसिमको पावर मसँग थियो। म हार-जितको निर्णायक बन्न सक्थें।’

उनी हरेक यजमानको घरघर पुगे। ‘मैले मेरो यजमानीबाट कमाएको सम्मान र विश्वासलाई दाउमा लगाएँ,’ खनालले भने।

खनाल यजमानको घरघर पुगेर ‘मेरो लागि दक्षिणा भनेकै तपाइँहरुले लोहनीलाई जिताउनु हो। उहाँलाई जिताउनुभयो भने म खुसी हुन्छु। मेरो लागि यही ठूलो उपहार हुन्छ’ भन्न थाले।  

लोहनीसँगै हरेक सभा-समारोहमा पुगे। आफ्नो वचन र भविष्यवाणी खेर नगएको र नजाने भन्दै उनले जनमानसलाई सोचनीय बनाए।

नभन्दै खनाल निर्णायक बने। उनको अस्त्रले काम गर्यो। लोहनी जिते।

जितेपछि उनी लोहनीलाई भेट्न काठमाडौं आए। गाउँमा खानेपानीको हाहाकार थियो। योजनाको लागि अपिल गरे। लोहनीले ‘भर्खर निर्वाचित भएको छु, अहिले केही गर्न सकिँदैन, केही समय पर्खनूस्’ भने।

खनाल गाउँ फर्किए। गाउँमा पुरानै काम गर्न थाले। उनको प्रसिद्धी उस्तै रहिरह्यो।

०००
चुनाव जितेको ६ महिनापछि लोहनी सत्तामा पुगे। खनाल फेरि आए भेट्न। लोहनीले ‘योजनामा के गर्न सकिन्छ गरौंला’ त भने तर उनको प्रथामिकतामा खनालको वडाको खानेपानी योजना परेन।

खनालले प्रधानमन्त्री सूर्यबहादुर थापासँग भेटाइदिन लोहनीलाई अनुरोध गरे। लोहनी आफैंले लगेर भेटादिए पनि।

त्यसबेला प्रधानमन्त्रीको व्यस्तताका कारण खनालसँग सामान्य चिना-परिचय मात्र भयो। त्यही चिना–परिचयमा तत्कालीन प्रधानमन्त्री थापाले खनाललाई पछि भेट्न निम्तो पनि दिए।

उनी गाउँ फर्किए। गाउँ पञ्चायतमा वडाअध्यक्ष हारेका खनालले राजनीतिप्रति चासो बढाउँदै लगेका थिए। लोहनीसँगको संगतले उनलाई राजनीतिक रुपमा सक्रिय बनाउँदै थियो। लाहनीले पनि खनालको गुन तिर्न उनलाई राजनीतिमा सक्रिय बनाउँदै लगे।

०००
प्रधानमन्त्री सूर्यबहादुर थापाको निम्तो मान्न करिब तीन महिनापछि  खनाल काठमाडौं आए। त्यतिबेला काठमाडौं नुवाकोट हिँडेरै आउजाउ गर्नुपर्थ्यो। 

बाटोमा हिँडदै गर्दा उनको दिमागमा कसरी खानेपानी योजना पार्ने भन्ने चलिरह्यो। 

लोहनीले खनाललाई सूर्यबहादुर थापाको घरमै लगे। सूर्यबहादुरसँगै राजेश्वर देवकोटा गफिँदै रहेछन्। खनाल प्रधानमन्त्री थापा, राजेश्वर देवकोटा र लोहनी सोफाको चरकुना पारेर बसे।

खनालले अनैपचारिक वार्तापछि आफ्नो मुद्दा उठाए।

‘मैले एउटा सर्तसहित बिन्ती बिसाएँ,’ उनी भन्छन्, ‘मलाई जसरी पनि यसपालि खानेपानीको योजना लानु छ।’

खनालले थापालाई दुई अम्मल लामो छेस्को देखाए। यदि यो छेस्कोलाई नछोई सानो पार्न सकें भने मलाई योजना दिनुपर्छ। खनालको सर्तमा थापा राजी भए। साथैमा भएका लोहनी र राजेश्वर देवकोटा मुखामुख गर्न थाले।

‘म के गर्नेवाला थिएँ, उहाँहरुलाई अनुमान नै थिएन,’ खनाल भन्छन्, ‘मैले चलाखी गरें। फ्याट्ट कोटको बगलीबाट ६ अम्मल लामो छेस्को झिकेर सानो छेस्को मास्तिर राखिदिएँ।’

खनालको यो चर्तिकलापछि थापा र देवकोटा हाँस्न थाले। थापा सोफामा ढलेरै हाँसे रे। त्यसपछि थापाले वचन अनुसार खनाललाई योजना दिने भए।

तत्कालीन पञ्चकन्या गाउँ पञ्चायत वडा ६ का ४९ घर धुरीलाई खानेपानीको १ लाख ८० हजार रुपैयाँको योजना पर्यो।

योजना कार्यान्वयन पनि भयो। तीन माइल टाढाबाट गाउँमा पानी आयो। तर खनालकै घरमा भने पानी आएन। कारण थियो, गाउँको सिरानघर नै उनको थियो। 

४८ घरको आँगनमा पानी निरन्तर खस्न थाल्यो। गाउँका महिलालाई सहज भयो। करेसाबारी फस्टाउन थाले। गाईवस्तु बढ्न थाले। तर खनाललाई पानी लिन छिमेकमै धाइरहनुपर्यो।

‘फेरि लोहनीकहाँ आएँ। १००० मिटर पाइप मागें। उनले दिए। पानी लगें,’ खनाल भन्छन्, ‘तर पाइप गाड्नुपर्नेजति। गाडिएन। पाइप त चोरेर खत्तम। फेरि उही हाल भयो मेरो। गाउँभरि पानी छ तर आफू चाहिँ पानीका लागि छिमेकमै जानुपर्ने अवस्था आइलाग्यो।’

फेरि उनी लोहनीकैमा धाए। लोहनीले पाइप दिए। उनको दैलोमा पानी आयो। गाउँलेको जस्तै उनको करेसाबारी पनि हरियो भयो। गाउँलेले जस्तै पानीको दुःखबाट खनाल परिवार पनि मुक्त भयो।

२० मंसिर, २०७८, १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।