बडुवाल हत्या प्रकरण : काठमाडौँको आक्रमणको बदला लिन २१ जना मिलेर मारेका थिए भूपेन्द्रलाई

बडुवाल हत्या प्रकरण : काठमाडौँको आक्रमणको बदला लिन २१ जना मिलेर मारेका थिए भूपेन्द्रलाई

धनगढी : कैलालीको टिकापुरमा हत्या गरिएका भूपेन्द्र बडुवाल घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै प्रहरीले हत्यामा २१ जनाको संलग्नता रहेको खुलाएको छ।

सोमवार पत्रकार सम्मेलनमार्फत कैलाली प्रहरीले बडूवाल हत्या घटनाको विवरण सार्वजनिक गर्दै उनीहरूमध्ये १२ जना पक्राउ गरेको र ९ जना अझै फरार रहेको जानकारी दिए।

प्रहरीका अनुसार कैलालीमा विभिन्न आपराधिक समूह सक्रिय छन्। जिल्लाको टिकापुर र लम्कीचुहा नगरपालिकामा मुख्यतया दुई समूह सक्रिय छन्। एउटा समूहको नेतृत्व नवीन रावल र अर्कोको जयन्द्र शाहले गर्दै आएका छन्।

‘मनमुटाब र आपसी वैमनश्यताले केही समय अघि देखी मात्रै छुट्टा– छुट्टै समूहको नेतृत्व गर्न थालेका रावल र शाहको समूहबिच पटक–पटक विवाद तथा झगडा हुने गरेको थियो,‘जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने,‘रावल र शाह समूहका सदस्यहरूका विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको भेटिएको छ। त्यसमा कोही धरौटीमा छुटेका थिए त कोही अहिलेसम्म पनि फरार छन्।’

प्रहरी उपरीक्षक अधिकारीका अनुसार काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले ०७८ भदौमा नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरीले हानेर हत्या प्रयास गरेका थिए। तर प्रयास असफल भयो। त्यसपछि सोही समूहका कपिल श्रेष्ठले नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजना बनाएका थिए। काठमाडौँमै डेरा गरीबसीरहेका श्रेष्ठ योजना अनुसार कार्तिक २० गते लम्की पुगे ।

२३ गते रावलको समूह लम्कीमा आएको खबर पाएपछि श्रेष्ठको टोलीले उनीमाथि आक्रमणको प्रयास गर्यो। आफूमाथि आक्रमण हुन लागेको चाल पाएपछि नवीन आफ्नो समूह सहित टिकापुर गए।

‘लम्कीमा आक्रमणबाट बच्न सफल भएका रावल आफ्नो समूह सहित आक्रोशमा टिकापुर गए। जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने उनीहरूले योजना बनाएका थिए। आफ्नो समूहबाट एक्लिएका कपिलले साथी भूपेन्द्रलाई फोन गरेर आफ्नो उद्धारका लागी बोलाएका रहेछन्,’कैलाली प्रहरी प्रमुख अधिकारीले भने,‘नवीन रावलले जयन्द्र समूहको खोजीका लागी टिकापुरका सबै क्षेत्रतिर आफ्ना मान्छे खटाइसकेका थिए। कपिलको उद्धारका लागी गएका भूपेन्द्रको रावल समूहको फन्दामा परे।’

२ किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटेल नजिक भूपेन्द्रमाथि आक्रमण भएको खुलेको अधिकारीले बताए। ‘आर्यन देवकोटा, चिरञ्जीवी शाही, रोशन शाही र रोहित आलेले पेट र छातीको भागमा २ पटक, पिठ्युँको भागमा ३ पटक र टाउकोको पछाडि एक पटक धारिलो हतियार प्रहार गरेको खुलेको छ,’अधिकारीले भने’,आक्रमणपछि एक जनाले अपराध स्विकार्ने र अरू फरार रहने योजना अनुसार रावलको समूह त्यहाँबाट फरार भयो।  आर्यन देवकोटा बौनिया बजारमै बसे। नवीन रावल,चिरञ्जीवी शाही, हेमन्त शाही,हिमाल शाही र रोशन शाही लगायतका चायाँभावर गाउँमा लुके। २५ गते धनगढीको जुगेडा हुँदै उनीहरू भारत गएको अनुसन्धानबाट खुलेको छ।’

यी हुन फरार अभियुक्त

घटनामा संलग्न लम्कीचुहा नगरपालिका–३ चिसापानीका २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भनिने दीपेन्द्र शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भनिने निशान्त मल्ल,वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का,टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर,टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, र बर्दिया ठाकुरबाबा–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन्।

तर ९ जना भने अझै फरार छन् लम्कीचुहा नगरपालिका –३ चिसापानीका २७ वर्षीय नवीन रावल, चिरञ्जीवी जङ्ग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह,टीकापुर–१ बस्ने विकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही,टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही फरार रहेको कैलाली प्रहरी प्रमुख अधिकारीले बताए।  

नवीन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैद सजाय माग दाबी गरिएको उनको भनाइ छ।

यस्तै लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय र दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिब क्षतिपूर्तिको माग गरिएको अधिकारीले जानकारी दिए। फरार रहेकाहरूको खोजी कार्य तीव्र पारिएको छ। 

२० मंसिर, २०७८, १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।