राप्रपामा सत्ता ताक्ने 'मुसो' बाहिरिए, व्यवस्थाको अँगेनो ताक्ने 'कट्टर बिरालो' भित्रिए

राप्रपामा सत्ता ताक्ने 'मुसो' बाहिरिए, व्यवस्थाको अँगेनो ताक्ने 'कट्टर बिरालो' भित्रिए

जहाँ-जहाँ राजेन्द्र लिङदेनले मञ्च पाए उनले पाँच विषय कहिल्यै छाडेनन्।

पहिलो : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री।

यसबारे उनको मत थियो अब जनताले आफ्नो कार्यकारी प्रमुख आफैँले छान्न पाउनुपर्छ। सांसदहरूले हैन।

दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली।

प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली महँगो भएको र यसले राजनीतिलाई विकृत बनाएको उनले तर्क गर्ने गरेका छन्।

तेस्रो : सांसद मन्त्री बन्न नपाउने।

सांसद मन्त्री बन्दा कानुन बनाउने क्रम फितलो भएको र जनप्रतिनिधि जनताप्रति उत्तरदायी नबनेको उनको विश्लेषण सुनिन्छ।

चौथौँ : संवैधानिक राजतन्त्र

यसमा उनको मत छ' शासन र प्रशासन जनताको छोराले नै चलाउन पाउनुपर्छ। तर राष्ट्राध्यक्षको रूपमा संवैधानिक राजतन्त्र फर्काउनै पर्छ। उनले यसको पुष्टिका लागि बेलायतको राजसंस्थाको उदाहरण दिँदै खोपीमै राख्ने भए पनि राजतन्त्र चाहिने तर्क गरिरहन्छन्।

पाँचौँ : धर्म निरपेक्ष देशबाट हिन्दु राष्ट्र बनाउने त उनको मुख्य अजेण्डा नै भइहाल्यो।

नेपाली राजनीतिमा ३० वर्षदेखि सक्रिय उनै लिङदेन आइतबारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कमान्डर बनेका छन्।

राजतन्त्र पक्षधर लिङदेन पूर्वका लागि अपरिचित नेता थिएनन्, छैनन्। तर उनलाई राष्ट्रिय रूपमै नेताको परिचय बनाइदियो २०७४ को निर्वाचनले।

गत निर्वाचनमा उनले काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई झापामा हराएर राप्रपाको एक्ला सांसद भए। आफ्नो पार्टीले नेपाली काँग्रेससँग गठबन्धन गरे पनि उनले झापामा एमालेसँग गठबन्धन गरेर सिटौलालाई हराइदिएका थिए।

यो परिणामले उनको नाम झापाबाट राष्ट्रिय रूपमा फैलाउने काम गर्यो। त्यही पहिचानको बलले उनलाई आफ्नै राजनीतिक गुरु कमल थापालाई पराजित गर्ने बल समेत दियो।

उनी लोकतान्त्रिक प्रणालीबाटै राप्रपाको कमान्डर बन्न सके। तर उनको पृष्ठभूमि भने लोकतन्त्र मैत्री छैन। उनको व्यवहार र शैली कट्टर राजतन्त्र पक्षधर नै हो। उनी निरङ्कुशतन्त्र पक्षपाती हुन्।

अहिले उनले भन्नलाई संवैधानिक राजतन्त्र भन्ने गरेका छन्। मुखमा संवैधानिक भए पनि उनको मनमा त सक्रिय राजतन्त्र नै छ।

पञ्चायतकलामा उनले खेलेको भूमिका होस् या राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएको समय होस् उनले देखाएको चरित्र नै काफी छ उनको मनमा एक र मुखमा अर्को छ भन्नलाई।

२०६१ मा उनलाई तत्कालीन सरकारले जिल्ला विकास समितिको सभापति बनाउँदा देखाएको चरित्र नै काफी छ उनको कट्टरता पुष्टिका लागि। उनको कट्टर राजतन्त्रवादी नेताको छवि ज्ञानेन्द्र कालमै बनेको हो।

अहिले उनी राजालाई कार्यकारी भूमिका दिने पक्षमै देखिएका छैनन्। उनी सम्मानित राजतन्त्र मात्र भनिरहेका छन्। गणतान्त्रिक मुलुकलाई एकै पटक सक्रिय राजतन्त्रमा फर्काउन सकिन्न भन्ने उनी जतिको कुटिल नेताले नबुझ्ने कुरै भएन। उनको 'प्लान ए' मा संवैधानिक अनि 'प्लान बी' मा सक्रिय राजतन्त्र रहेको लुकेको छैन।

उनले उठाउने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली उनको मात्र एकल अजेण्डा पनि हैन। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराइले पनि जोड लगाइरहेकै छन्।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका अन्य प्रभावशाली नेता जनार्दन शर्मा लगायतकाले उठाइरहेकै छन्।

यही अजेण्डा मिलेकाले होला राप्रपाको एकता महाधिवेशनको उद्घाटन शत्रमा गएका माओवादी अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो कुण्डली मिल्ने भाषण गरेका।

सांसद मन्त्री बन्न नपाउनेबारे अन्य दलका नेताहरू पनि फाट्टफुट्ट बोल्ने गरेका छन् नै। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको बाटोमा विवेकशील साझा पार्टी हिँड्ने प्रयत्नमा छ। तर अहिलेको अवस्थामा

यी दुवै राप्रपाको एकल अजेण्डा हो।

राप्रपाको अध्यक्षको रूपमा लिङदेनका लागि मुख्य चुनौती नै यही दुई अजेण्डा हुन्। तर यी दुवै उपलब्धि पाउन विशाल जनमत या जनविद्रोहविना सम्भव छैन।

हिजोका मण्डलेआजका विकास प्रेमी

२०३९ सालमा तत्कालीन पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भएर राजनीतिमा अगाडि बढेका हुन् उनी। मण्डले भनिने त्यो सङ्गठनको अध्यक्ष थिए उनले पराजित गरेका थापा।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष, ०४७ मा राप्रपाको झापा पार्टी सचिव, २०४८ र २०५४ मा गोलधाप गाविस वडा नं. ३ का वडाध्यक्ष अनि २०६१ मा जिविस सभापति भएर उनले स्थानीय तहमा विकास प्रेमी नेताको छवि बनाएका छन्।

२०६६ मा राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै ०७० मा राप्रपाको महामन्त्री भएका उनी राजतन्त्र पुनर्स्थापनाका लागि कमल थापाको विकल्प बन्दै २०७८ मा पार्टी अध्यक्ष भए। यसले उनको नेतृत्व क्षमता देखाउँछ नै।

पार्टीभित्र सँगै राष्ट्रिय राजनीतिमा पनि बिस्तारै खुट्किला चढ्दै गएका नेता हुन् उनी। २०५६ को संसदीय चुनावमा झापामा तेस्रो मत ल्याएका उनी २०७० मा काँग्रेस नेता सिटौलासँग पराजित हुँदा दोस्रो भएका थिए। २०७४ मा उनले सिटौलालाई हराएर राप्रपाको एक्लो सांसद हुँदै राष्ट्रिय राजनीतिमा उदाए।

उनले आफ्नै गुरु थापालाई ढाल्न नेतृत्वको पुस्तान्तरण अनि थापाको सत्ता मोहलाई मुख्य हतियार बनाए। आफ्नै पार्टीको सरकार ढालेर मन्त्री बन्न समेत पछि नपर्ने थापाको स्वभाव सत्तामाजाने मौका आउनासाथ हाम फाली हाल्ने अवसरवादी नै थियो।

माओवादीको नेतृत्वको सरकारमा होस् या केपी ओली नेतृत्वको सरकारमा होस् मौका पाएसम्म उनले मन्त्री बन्न छाडेनन्। धन्न, यो बेला उनी सांसद हुन सकेनन्। र राजनीतिक खिचातानीमा निष्क्रिय बन्न बाध्य भए।

सायद लिङदेनको स्थानमा थापा एकल सांसद भएका भए दृश्य पक्कै बदलिन्थ्यो। राप्रपा कुनै पनि समय सत्ताधारी हुन सक्थ्यो।

लिङदेन एकल सांसद भए पनि उनले सत्ताको लोभ भने गरेनन्। एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गरेको संसद् विघटनको पक्षमा उभिए पनि सत्तामा जान उनी हतारिएनन्। उनको त्यही छविले समेत थापालाई पराजित गर्न उनलाई सहज भएको देखियो महाधिवेशनमा।

राजतन्त्रको पक्षमा पनि उभिने अनि राष्ट्रपतिको निर्वाचनमा समर्थक पनि बस्ने थापाको दोहोरो व्यवहारले 'राजतन्त्र र हिन्दु राष्ट्र' शब्द उनका लागि राजनीतिक हतियार मात्र हो भन्नेमा निर्मल निवास पक्का भइसकेको थियो।

त्यसले समेत लिङदेनलाई राप्रपाको नेतृत्वमा आउन सहज बनायो। त्यसैले अबका दिनमा निर्मल निवासको रोडम्याप अनुसार उनले मृत संवैधानिक राजतन्त्रको कान फुकेर ब्युँताउने अजेण्डामा बल लगाउने पक्का छ।

हिन्दु राष्ट्र भन्दै जनमत आफ्नो पक्षमा ल्याउने प्रयास गर्ने नै छन् उनले। त्यसैले उनी अब जनविद्रोह भन्न थालिसकेका छन्।

गणतन्त्रवादी दलका स्वार्थी नेताबाट दिक्क भएको जनमत अब राजा चाहियो भन्दै उनको साथमा आउने आशा हुनसक्छ उनमा। तर राजा खोज्नेहरूले वीरेन्द्र खोज्छन् ज्ञानेन्द्र हैन।

धर्मको आडमा दलले कस्तो समाज निर्माण गर्छन् भन्ने त छिमेकी देश भारतको अवस्था हेरेरै यहाँका हिन्दु धर्मावलम्बीले चेतिसके। बढ्दो धर्म रूपान्तरण अभियानले केही हिन्दुवादी बिच्किए पनि अधिकांश हिन्दु धर्मावलम्बीले 'धर्मको राजनीतिले ल्याउने नतिजा' देखिसकेका छन्।

हात दिँदा डुँडुलोको निल्ने राजतन्त्रको स्वभाव अनि राज्यको धर्म हुनुहुँदैन भन्नेमा सचेत बलियो जनमतलाई संवैधानिक राजतन्त्र अनि हिन्दु राष्ट्रका लागि जनविद्रोहमा उतार्न सहज छैन। यसमा उनी जत्तिको चतुर राजनीतिक खेलाडी जानकार नहुने कुरै भएन।

तैपनि लिङदेनले विकृत राजनीतिकबाट दिक्किएको जनमत र बढ्दो धर्म परिवर्तनका घटनालाई क्यास गर्ने प्रयत्न भने पक्कै गर्नेछन्। उनको नेतृत्वको राप्रपाले थापाले झैँ चाँडै सत्ता नताक्ला, तर व्यवस्था पक्कै ताक्नेछ।

१९ मंसिर, २०७८, २२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।