लुम्बिनीलाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

लुम्बिनीलाई यु–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

काठमाडौँ : लुम्बिनी प्रदेशले यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो।

लुम्बिनीले जितका लागि दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्दै बाहिरिए। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अजय चौहानले सर्वाधिक पाँच विकेट लिँदा दुर्गेश गुप्ताले तीन तथा मोहम्मद हुसेनले दुई विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान दिए। देवले ९५ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे। त्यस्तै विशाल विक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे।

सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे। शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए। नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए।

१९ मंसिर, २०७८, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।