'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'

'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'
तस्बिर : कृष्पा श्रेष्ठ

स्वरसम्राट नारायणगोपाल बितेको झण्डै तीन दशक भइसक्दा पनि 'नारायणगोपाल नभएको भए रामकृष्ण ढकाल के हुन्थे' भन्ने विवेचना हुन छाडेको छैन। प्रश्न बडो हाँसोलाग्दो छ, साथै गम्भीर पनि। उहाँ हुनु भएको भए पनि, नहुनु भएको भए पनि म रामकृष्ण ढकाल नै हुन्थें र आज पनि म रामकृष्ण ढकाल नै छु। 

सुरुवाती दिनहरुमा म हिन्दी गीतहरु गुन्गुनाउँथें। तर चर्चामा आएको चाहिँ नारायणगोपालकै गीतबाट हो। वि.सं. २०४४ सालतिरबाट नारायणगोपालको गीत गाउन थाल्ने बित्तिकै म सबैको नजरमा पर्न सफल भएँ।

मैले नारायणगोपालको गीत गाएको धेरैले मन पराएपछि उहाँका अन्य गीतहरु पनि खोजीखोजी सुन्न थालें र स्टेजहरुमा गाउँन थालें। त्यो समयमा मिडियाहरुले मलाई प्रश्न सोध्थे, 'ठूलो भएपछि के बन्ने?' म जवाफ दिन्थें, 'नारायण गोपाल।' त्यही कारणले प्राय:ले मलाई फुच्चे नारायणगोपाल भन्थे।

नारायणगोपाल बन्नु चानचुने पक्कै थिएन। किनभने अहिलेसम्म पनि म नारायणगोपाल हुन सकेको छैन। मलाई नारायणगोपालपछिको गायक भन्छन्। केही दिनअघि मात्रै एउटा पार्टीमा गएको थिएँ। त्यहाँ मेरो परिचय दिँदा नारायणगोपालपछिको गायक भनेर चिनाइयो। यसरी चिनाउँदा राम्रै लाग्यो। 

आफ्नै छुट्टै पहिचान बनाउन मन लाग्नु अर्को कुरा, उहाँसँग नाम जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो। 

तर, विस्तारै मानिसहरुले मलाई कपी सिङ्गर भन्न थाले। ल क्याम्पसमा मैले पहिलो प्रस्तुति दिएको थिएँ। त्यहाँबाट सानै उमेरदेखि नै स्टेजमा कार्यक्रम गर्न थालें। हरेक स्टेज कार्यक्रममा अधिकांश नारायणगोपालकै गीत गाउँथें। अहिलेसम्म पनि यो क्रम रोकिएको छैन।

वि.सं. २०४५ सालमा पहिलो पटक मेरो सोलो स्टेज कार्यक्रम भएको थियो। ढकाल सांगीतिक साँझ नाम राखिएको उक्त कार्यक्रममा मैले २२ वटा गीत गाएँ। जसमा अधिकांश नारायणपालका गीत नै थिए। त्यो समयमा उहाँको ‘गीतियात्रा’ नामको एल्बम भर्खरै निस्केको थियो। त्यही एल्मबका गीतहरु गाएँ। 

ती कार्यक्रमहरुमा उहाँकै अधिकांश गीत गाएकाले पनि होला, मलाई कपी सिङ्गर भनियो। यसमा चाहिँ मलाई चित्त दुख्छ। यदि उहाँका गीत मात्रै गाएर जिन्दगी कटाएको भए चित्त दुख्दैनथ्यो तर त्यो बेलासम्म मैले मेरै ओरिजिनल एल्बम निकालिसकेको थिएँ। ‘हाम्रो सुन्दर संसार थियो’ भन्ने गीत मेरो पहिलो आफ्नो गीत थियो। 

तर, मलाई नारायणगोपालको छायाबाट आफूलाई निकाल्न धेरै समस्या पर्यो। 

नारायणगोपालसँगको भेट
मैले नारायणगोपाललाई जम्मा एक पटक मात्रै भेट्ने मोका पाएँ। उहाँलाई भेट्दा म त्यस्तै ११ वर्षजतिको थिएँ होला। उहाँको ‘गीतियात्रा’ नामको एल्बमको रेकर्डिङ भइरहेको थियो। वरिष्ठ संगीतकार मदन दिपेनले मलाई नारायणगोपालसँग भेटाएका थिए। 

डिल्लीबजारको पिपलबोट छेउको स्टुडियोमा उहाँलाई देखेको हो। भेटमा मैले टेबुल बजाएर ‘म त लालीगुराँस भएछु’ भन्ने गीत सुनाएको थिएँ। उहाँ आफैं पनि तबला बादक भएकाले मेरो टेबुलको बिट मन पराउनुभएको थियो। 

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको कालो दिन

काठमाडौंको नेवार भएकाले उहाँको आवाज पनि नेवारी नै आउँथ्यो। तबलालाई तमल भन्नुहुन्थ्यो। अनि मतिर हेरेर हाँस्दै ‘तमल बजाई त गज्जब छ नि’ भन्नुभयो।

पातलो नै थियो मेरो आवाज त्यो समयमा। उहाँले निकै प्रशंसा पनि गर्नुभएको थियो। संयोग भनौं, विस्तारै हुर्कँदै जाँदा उहाँको र मेरो स्वरको टोन पनि मिल्न गयो। अनि त, उहाँको र मेरो गायकी उस्तै जस्तै लाग्न थाल्यो।

यतिसम्म कि, मेरी आफ्नै छोरीले समेत मेरो र नारायणगोपालको स्वर ठम्याउन सकिनन्। उनी अलि सानै हुँदा रेडियोबाट ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ भन्ने गीत बजिरहेको थियो। उनी मलाई तिमी भनेर सम्बोधन गर्छिन्। गीत सुनेर मेरो छोरीले ‘यो त तिम्रो गीत हैन र’ भनिन्।

मृत्यु सही समयमा थियो
मानवीय स्वभाव हो, मृत्यु स्वीकार्न कसैले पनि चाहँदैन। तर मलाई लाग्छ, उहाँको मृत्यु सही समयमा भएको थियो। उहाँ निकै चर्चित भएको समयमा नै बित्नुभयो। 

उहाँ बित्दा मलामी देखेको थिएँ। त्यति मलामी आजसम्म कुनै कलाकारको मृत्युमा देखेको छैन। अहिलेसम्म बिरामी भएर बाँचेको भए उहाँको चर्चा आज जति छ, त्यति हुँदैनथ्यो जस्तो लाग्छ। जे कुरा पनि चर्चामा हुँदा सेलेबल (बिक्री गर्न लायक) हुन्छ।

अहिलेको जेनेरेसनले गायक चिन्दैनन्। नारायणगोपाल सही समयमा जन्मिएका थिए जस्तो लाग्छ। नारायणगोपाल यो समयमा जन्मिएका भए उनको गीत अहिलेका पुस्ताले सुन्दैनथे। गीत सदाबहार हुँदैनथे।

संगीत क्षेत्रलाई घाटा, मलाई नाफा
नारायणगोपालको मृत्युपछि उहाँका लागि बनाइएका गीतहरु मैले गाउन पाएँ। मेरो पहिलो फिल्मको गीत ‘झझल्को’ फिल्मको थियो। त्यसैमा समेटिएको ‘जिन्दगीले यसरी धोका दियो कि’ भन्ने गीत नारायणगोपालका लागि बनाइएको थियो। त्यस्ता धेरै गीतहरु मैले गाउन पाएँ। ममा उहाँको छवि भएकाले त्यो गीत गाउने अवसर पाएँ।

धेरै लोकप्रिय गीत आफैंले गाउँदा पनि उहाँको छवि मसँगै छ। अहिले भने मलाई यो कुराको गौरव लाग्छ। उहाँका लाखौं प्रसंशक छन्। त्यसमा मलाई पनि अग्रपंक्तिमा राख्दा खुसी लाग्छ।

उहाँको अल्पायुमा मृत्यु भयो। भन्न त नमिल्ने हो, तर उहाँको मृत्यु मेरो करिअरका लागि बरदान भयो। उहाँ नै हुनुभएको भए त अप्सन खोज्दै मानिसहरु मेरो आवाजमा आउँदै आउँदैनथे होला नि। 

अर्को कुरा कस्तो छ भने, उहाँको स्वभाव अलि रिसाहा थियो। नारायणगोपाल बाँचिरहेको भए म पो पहिलो च्वाइस बन्न सक्थें कि भन्ने पनि लाग्छ। 

म जस्ता कति धेरै कलाकार संघर्ष गरिरहेका थिए। लामो समयदेखि संघर्ष गरिरहेका कलाकार पनि थिए। तर ह्वात्तै नारायणगोपालपछि रामकृष्ण ढकाल हो भन्दा उहाँहरुको चित्त पनि दुख्छ होला। हिजोआज जस्तो त्यो बेला थिएन। काठमाडौं बाहिरबाट आएर पनि मेरो नाम नारायणगोपालसँग जोडिएकै कारण म सजिलै संगीत क्षेत्रमा छिर्न सकेको हो। 

त्यसैले उहाँको निधनले नेपाली संगीत क्षेत्रले एउटा उत्कृष्ट स्वर गुमायो। म पनि मिस गरिरहन्छु नारायणगोपाललाई। तर करिअरका हिसाबले हेर्ने हो भने मलाई फाइदा भयो।

(उकेराकर्मी पुष्पा थपलियासँग ढकालले गरेको कुराकानीमा आधारित)

१९ मंसिर, २०७८, २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।