पूर्व राजा ज्ञानेन्द्रको नक्कली ट्विटर अकाउन्टलाई मेन्सन गर्दै भडाँस पोख्दै छन् थापा

पूर्व राजा ज्ञानेन्द्रको नक्कली ट्विटर अकाउन्टलाई मेन्सन गर्दै भडाँस पोख्दै छन् थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षमा पराजित हुनुको कारण पूर्व राजा ज्ञानेन्द्र शाहले खेलेको भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा कति हुस्सु छन् भन्ने उनैले पुष्टि गरे।

आफ्नो हारको कारण निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दाबी गर्दै उनले ट्विट गरे ' पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। Congrats . Thank you मैले राहत र उन्मुक्ति पाएको छु।'

उनले यो ट्विटमा मेन्सन गरेको ह्यान्डल हो @GBBShah। के यो पूर्व राजा ज्ञानेन्द्रकै ट्विटर ह्यान्डल हो त?

यही ह्यान्डलमा पूर्व राजा ज्ञानेन्द्रको भनाई झैँ आएका सामाग्रीहरू समाचार बन्न थालेपछि नेपालफ्याक्ट चेकले यसबारे तथ्य जाँच गरेको थियो २०७७ वैशाख ७ मा। उसको तथ्य जाँचमा यो ह्यान्डलसँग पूर्व राजा ज्ञानेन्द्र वा उनको सचिवालयको कुनै साइनो नै नभएको खुलेको थियो।

सो ह्यान्डलबारे नेपाल फ्याक्ट चेकले ज्ञानेन्द्रका  संवाद सचिव डा. फणीराज पाठकलाई उद्धृत गर्दै लेखेको छ'‘उहाँले त्यस्तो ट्विटर, फेसबुकहरू चलाउनु भएको छैन।’

'पाठकले पूर्व राजा ज्ञानेन्द्रलाई योबारेमा सोधेका थिए। उनका अनुसार पूर्वराजले भने, ‘मैले त चलाएको छैन। बरु कसले चलाएको हो, खोज्नू,’ नेपाल फ्याक्टचेकले लेखेको छ।

१९ मंसिर, २०७८, १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।