चुनावी परिणाम स्वीकार्न थापालाई सकस : शपथमा नगई फेसबुकमा गीत पोस्टे' केले सिउने केले टाल्ने'

चुनावी परिणाम स्वीकार्न थापालाई सकस : शपथमा नगई फेसबुकमा गीत पोस्टे' केले सिउने केले टाल्ने'

काठमाडौँ : पराजयको कारण पूर्व राजा ज्ञानेन्द्र शाहलाई देखाउँदै लोकतान्त्रिक पद्धति स्वीकार नगरी अराजनीतिक संस्कार देखाएका कमल थापा नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणमा उपस्थित भएनन्।

शनिवार भएको निर्वाचनमा थापा राजेन्द्र लिङदेनसँग पराजित भए। पराजित भए लगत्तै उनले एकता महाधिवेशनमा आएका बहुमत प्रतिनिधीहरुको विश्वास जित्न नसकेको भन्दै उदारता देखाउनुको साटो हारको कारण' निर्मल निवासको हस्तक्षेप' भन्दै ट्विट गरेका थिए।

उनी यतिमै रोकिए। वर्तमान तीन अध्यक्षमध्येको एक अध्यक्ष समेत रहेका उनी  शपथ ग्रहण समारोहमा गएर लिङदेनलाई कार्यभार दिन समेत अस्वीकार गर्दै निर्वाचनको परिणामलाई नै अस्वीकार गरेको सन्देश दिए।

अध्यक्षमा उनी पराजित भए पनि पदाधिकारीमा उनको प्यानलमा रहेका उम्मेदवारहरूले जितेका छन्। उनको छोरी, भाइ अनि भतिज समेत केन्द्रीय सदस्य भएको निर्वाचन परिणाम स्विकार्न उनलाई सकस भएको देखियो।

जबकि बरु महिला महामन्त्रीको उम्मेदवार हुँदा निकै राजनीतिक नोकझोक चलेको रेखा थापाले मत परिणाम आए लगत्तै तस्बिरै राखेर महिला महामन्त्रीमा जितेकी कुन्ती शाहीलाई बधाई दिएकी थिइन्। तर थापाले रेखाको जति पनि राजनीतिक संस्कार देखाउन सकेनन्। उनी फेसबुक र ट्विटरमा हारको कारण दरवारतिरै पन्छाउँदै गीत लेखेर बसे :

‘पोहोर साल खुसी फाट्दा

जतन गरी मनले टालेँ

त्यही साल माया फाट्यो

त्यसलाई पनि मनले टालेँ

यसपालि त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?’

अनि ट्विटरमा हिमानी शाहको नक्कली ट्विटर ह्यान्डलमा मेन्सन गरेर मनको भडाँस पोखे।

राप्रपा एकतापछि थापासँगै पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी गरी तीन अध्यक्ष भएका थिए। शपथ समारोहमा अन्य अध्यक्ष भने उपस्थित थिए।थापासँग मिलेर पार्टी विभाजन गर्ने तयारीमा रहेको शङ्का गरिएका राणा शपथ ग्रहण समारोहमा उपस्थित भएर निर्वाचन परिणाम सबैले स्वीकार गर्नुपर्ने बताए।

उनले महाधिवेशनका क्रममा सकेसम्म सहमति गरौँ, चुनाव भए परिणाम सबैले स्वीकार गर्नुपर्छ भनेको बताउँदै उनले आफूले परिणाम स्वीकार गरेको र अन्यले पनि परिणाम स्विकार्नु पर्ने बताएका थिए।

उनले भने'महाधिवेशन प्रतिनिधिहरूको जुन निर्णय छ, त्यो हामीलाई शिरोधार्य छ।’

लिङ्देनले थापा विनाको राप्रपा कल्पना नगरेको भन्दै भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो। म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौ।’

१९ मंसिर, २०७८, १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।