द भोइसमा टिकटकर मयुरको धमाका, कोच प्रमोदसँग झोक्किइन् प्रविशा

द भोइसमा टिकटकर मयुरको धमाका, कोच प्रमोदसँग झोक्किइन् प्रविशा

काठमाडौँ : चारै जना कोचले आफ्नो समूहका १२ प्रतियोगी पाएसँगै 'द भोइस किड्स' को ब्लाइन्ड अडिसन सकिएको छ। शनिवार प्रसारण भएको कार्यक्रम नै ब्लाइन्ड अडिसनको अन्तिम अडिसन थियो। अब अर्को हप्ताबाट ब्याटल राउन्ड सुरु हुनेछ।

प्रतियोगी फकाउन सबैभन्दा धेरै बाठा कोच प्रमोद नै हुन्। तर प्रतियोगीको सङ्ख्याको आधारमा भने पहिला कोच राजुको समूह भरियो। कोच राजुको समूहका सदस्य पुगेपछि दोस्रोमा कोच प्रमोदले १२ प्रतियोगी पाए। तेस्रोमा कोच मिलनको समूहका सदस्य सङ्ख्या पुग्यो भने अन्तिममा कोच प्रविशाको टिमका सदस्य भरिएका थिए।

शनिवार प्रसारण भएको कार्यक्रममा सबैभन्दा पहिला दिदी बहिनै नै प्रतियोगी भएर आएका थिए।

सात वर्षकी मयुर बस्नेतले सधै-सधै आइरहन्छ बोलको गीत गाएकी थिइन्। टिपिकल नेपाली पोसाकमा आएकी उनले गीत चैँ रक-पप फ्लेवरको छानेकी थिइन्। उनको गीत सुनेर चारै कोचको कुर्सी घुम्यो।

उनी टिकटककी परिचित प्रयोगकर्ता हुन्। उनी आमा बनेर अभिनय गरेर भिडियो अपलोड गरिरहन्छिन्। परिचित टिकटकर मयुरलाई कोच प्रमोद र प्रविशाले चिनिहाले। टिकटकमा @mayurbasnet2000 मा उनका ४९.६ के फलोअर्स छन्।

चारै कोचले उनलाई आफ्नो टिममा ल्याउन फकाए पनि उनले कोच प्रमोद छानिन्। प्रतियोगी भटाटभ प्रमोदतिर गएपछि प्रविशाले थर्काउँदै भनिन्' तपाई धेरै नबोलिस्यो त। कुर्सीमा बसिस्यो त।'

मयुरपछि उनको दिदी हिमांशी बस्नेत रक लुक्समा आएकी थिइन्। तर उनको प्रस्तुतिमा कुनै जजको कुर्सी घुमेन। सबै कोचले फकाउँदै उनलाई अर्को पटक प्रयास गर्न आग्रह गरे।

संवृद्धि परियारले चारै कोचलाई फर्काउन सफल भइन्। उनको बुबा चार वर्ष अगाडि स्थानीय चुनावमा निधन भएको थियो। उनका बुबा रङ्गमञ्चका कलाकार समेत थिए।

उनको आमा गायिका नै हुन्। चारै कोचबिच उनलाई आफ्नो समूहमा ल्याउन भरमार फकाएका थिए।

'कस्तो गजब तपाईँको स्वर। नेपालमा एक जना राम्रो फिमेल सिङगर' भनेर फकाए प्रमोदले। उनी पनि बाठी रहिछिन्। उनले सबै कोचको फ्यान भन्दै प्रविशाको त मज्जाले प्रशंसा गरिन्। तर छान्ने बेलामा भने कोच प्रमोद छानिन्। प्रमोद छान्नुको कारण खुलाउँदै भनिन्' मलाई प्रमोद सरसँगै गाउने धोको छ।'

प्रविशाले भनिन्' म के गरौँ। रोउँ कि हाँसु।'

चार कोचमध्ये प्रमोदको टिम ब्यालेन्स देखिन्छ। उनको टिममा ६ बालिका र ६ बालक छानिएका छन्। द भोइसका बलिया कोच हुन् उनी। उनको समूहका सदस्यहरूले द भोइसको शृङ्खलामा दबदबा कायम गर्दै आएका छन्।

राजु पनि अनुभवी कोच नै हुन्। कोच प्रविशा र मिलनका लागि भने यो पहिलो अनुभव हो। तै पनि दुवैको समूहमा राम्रा प्रतियोगीहरू परेका छन्। द भोइसको फर्म्याट अनुसार सबैभन्दा रोचक ब्लाइन्ड अडिसन नै हो। अबका शृङ्खलामा कोचहरूका प्रतियोगीहरुविच ब्याटल चल्छ। ब्याटलबाट कोचले आफ्ना प्रतिस्पर्धीमध्येबाट प्रतियोगीलाई जोगाउँदै अगाडि बढाउँछन्।

१९ मंसिर, २०७८, १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।