जब कमल थापाकी छोरी प्रतिष्ठा फोन गर्दै गणना स्थलबाट बाहिरिइन्...

जब कमल थापाकी छोरी प्रतिष्ठा फोन गर्दै गणना स्थलबाट बाहिरिइन्...
तस्बिर : दिपेन्द्र अधिकारी

काठमाडौँ : मङ्सिर १७ गतेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षमध्येका एक कमल थापालाई एकता महाधिवेशनबाट आफैँ अध्यक्ष बन्नेमा ढुक्क थिए। उनी निकट नेताहरू भन्थे 'निर्विकल्प उहाँ नै अध्यक्ष हुनुहुन्छ।'

कार्यकर्ताको भनाई त झन् कडा थियो। थापाको विरोध गर्ने सक्कली राप्रपा नै होइनन् उनीहरू नक्कली हुन् भन्थे उनीहरू। पार्टीभित्र डाई हार्ट फ्यान बनाएका थापा अन्ततः १९ गते बिहान सार्वजनिक मत परिणाम अनुसार आफैले केन्द्रीय सदस्य बनाएका नेता राजेन्द्र लिङ्देनसँग पराजित भए २ सय २७ मत अन्तरले।

मतदानको समयमा पनि थापा अर्का अध्यक्ष पशुपति शमशेर राणाका कार्यकर्तालाई भोट हाल्ने सूची बाँड्न मै व्यस्त थिए। उनी होलसेलमा मत मागेका थिए। उनी महाधिवेशन प्रतिनिधिहरू भएको स्थानमा नमस्कार गर्दै आउँथे। यसो घुम्थे अनि फर्कन्थे। व्यक्तिगत रूपमा भेटघाटलाई उनले प्राथमिकता दिएनन्।

प्रकाशचन्द लोहनी लिङदेनको पक्षमा खुलेकाले राणा पक्षका प्रतिनिधि आफ्नो पक्षमा पार्न सके आफ्नो पल्ला भारी हुने निष्कर्ष थियो उनको। मतदान चलिरहँदा थापा निकट नेताको भनाइ थियो,‘माहौल हाम्रै पक्षमा छ। जित निस्कन्छ भन्नेमा विश्वस्त छौँ।’

अध्यक्षका प्रत्याशी लिङ्देन भने कार्यकर्तासँग होलसेल र खुद्रा दुवै माध्यमबाट मत माग्न व्यस्त थिए। उनी सकेसम्म सबै महाधिवेशन प्रतिनिधीहरुसँग व्यक्तिगत रूपमै भेटेर भोट मागिरहेका देखिन्थे। कहिले एक्लै त कहिले समूहमा घुमिरहेका उनी अधिकांश समय महाधिवेशन स्थल वरपरै रहे।

मतदान सुरु भएको मध्यान्हतिर माहौल बदलिँदै गयो। कसैको पक्षमा नखुलेका राणाले आफू काँचो नेतृत्वको पक्षमा नभएको भन्दै थापाको पक्षमा खुले।

लिङ्देन निकट नेताहरूको प्रतिक्रिया पनि उस्तै थियो। ११ घण्टा लामो मतदान चलिरहँदा अन्तिम समयतिर थापा निकट नेतालाई उकेराको प्रश्न थियो 'अहिले कस्तो छ माहौल ?' उनीहरूको जवाफ थियो, ‘कडा प्रतिस्पर्धा हुने बुझियो। हाराहारी नै होला। ब्यालेटले के भन्छ हेरौँ ।’

मतदान सकिए लगत्तै रातको साँढे ११ बजे मतदान स्थलमा सूचना आयो, ‘थापाले हार स्वीकार गरिसके रे !’  थापा निकट नेताहरूसँग पहिलेको आत्मविश्वास देखिएन। मतदान सकिएको एक घण्टामा आचारसंहिता तयार पारेर अर्को २ घण्टामा सम्पूर्ण मत परिणाम दिने उद्घोष गरेको निर्वाचन समितिले २ बजेसम्म अध्यक्षको लागि भएको मतपत्रको मतदानका मुचुल्का तयार गर्दै आचारसंहिता बनाउन सकेन।

सो बेलासम्म अध्यक्ष बाहेकका पदको लागि भोटिङ मेशिनबाट भएको निर्वाचनको परिणाम तयार थियो। मत गणना स्थलमा सञ्चारकर्मीलाई प्रवेश अनुमति थिएन। नतिजा भोटिङ मेशिनमा प्राविधिकले मात्र ठम्याउन सक्थे। सामान्य रूपमा प्रिन्ट गर्नुपर्थ्यो। मतदान स्थलमा माहौल कस्तो छ भन्ने प्रश्नमा निर्वाचन प्रतिनिधिको उत्तर थियो, ‘यदि अध्यक्षमा लिङ्देनले जिते पनि पदाधिकारीमा प्यानलबाट कम छ भन्ने सुनिन्छ। महामन्त्रीमा धवलदाई लगभग निश्चित छ अरू खोइ ?’। उकेराले नतिजा मिश्रित रहेको सूचना पायो।

निर्वाचन समितिले सहमति जुटायो। २ : ०५ मा मतपेटिका खोलियो। तर मत गणना भएन। तीन समूहमा विभाजन भई काम गरेर मत पत्र राखियो। करिब २ घण्टामा अध्यक्षको लागि खसेको ३ हजार आठ सय ७३ मतपत्र मिलाइयो।

यो बेलासम्म नतिजा कसको पक्षमा छ भन्ने पूर्वानुमान गर्न थाली सकिएको थियो। एक प्रतिनिधि भन्दै थिए '१९०–२१० अन्तरको हारजित हुन्छ।'

मतदान स्थलमा चर्चा थियो, पहिलो २ हजार एक सय मतपत्रमा लिङ्देन अगाडी त्यो पछिकोमा थापा अगाडी। ४ : १५ मा अध्यक्षको लागि तीन समूह बनाएर मतगणना थालियो। प्रारम्भिक नतिजा बाहिरियो लिङदेन २  सय ६२ थापा १ सय ८७। ६ सय मत गन्दा दोस्रो चरणको नतिजा बाहिरियो लिङदेन ३ सय थापा २ सय २९।

यो समयसम्म बदर मत ७१ पुगेको थियो। तेस्रो चरणको मत परिणाम बाहिरिँदा लिङदेन ४ सय ६ थापा ३ सय १७ थियो। यति बेला बदर मत १ सय ३ पुगेको थियो। चौथो चरणको मत परिणाम बाहिरिँदा लिङदेन ९ सय २२ थापा ८ सय १८ थियो भने बदर मत २ सय ६० थियो।

२ हजार मत गनिसकेपछि बाहिरको ठन्डी छल्नलाई सञ्चारकर्मीलाई शान्त रहने सर्तमा मत गणना हलको एक कुनामा बस्न दिइयो। धेरै मात्रामा मत बदर भएपछि निर्णायक मत बदर भएको अड्कल गर्न थालियो। कसको मत बढी बदर भयो ? प्रश्न उठ्यो।

युवा पुस्ताको आकर्षण रहेकाले लिङदेनको मत कम बदर भएको ठम्याइ थियो। एक सूचनाले उक्त कुरा पुष्टि गरिदियो। पाँचौँ चरणमा लिङदेनको १३ सय ७१ र थापाको १२ सय ५४ मत थियो। यति बेला बदर मत सङ्ख्या ३ सय ३९ पुगेको थियो भने गणना हुन बाँकी ९ सय ९ थियो।

६ : २३ बजे प्रतिनिधि र कार्यकर्ता मतगणना स्थल पुग्न थालेकाले सञ्चारकर्मीलाई मतगणना स्थलबाट बाहिर जान भनियो। अब निश्चय भैसकेको थियो राप्रपाको अध्यक्षमा लिङदेनले बाजी मार्नेछन्। ६ : ४५ बजिसकेको थियो। सूचना आयो लिङदेन विजयी। तर पुष्टि हुन सकेको थिएन।

निर्वाचन समितिका पदाधिकारीले नतिजा आएको र सङ्ख्या गणना हुन मुचुल्का तयार पार्ने काम भइरहेको जानकारी गराए। त्यस बेला कमल थापाकी छोरी प्रतिष्ठा थापा फोन गर्दै मतदान स्थलबाट बाहिरिइन्। प्रतिष्ठा कमल थापाको प्रतिनिधि थिइन्। उनले बुबा कमला थापालाई फोन गरेको भन्नेमा अलमल थिएन।

लगत्तै ७ बजे कमल थापाको ट्विट आयो ‘ सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

उनले पूर्व राजा ज्ञानेन्द्रको चुनावमा हस्तक्षेप रहेको आशयको ट्विट गरे। पूर्व राजा ज्ञानेन्द्रलाई मेन्सन गर्दै थापाले लेखे, ‘ पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु।’

थापाले सामाजिक सञ्जालमा हार स्वीकार गर्दा निर्वाचन समितिले भने औपचारिक घोषणा गरेको थिएन। निर्वाचन समितिका अध्यक्ष हरि बहादुर बस्नेतले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा विजयी घोषणा गर्दा ७ :१७ भएको थियो। सो समयमा थापाको ट्विट भाइरल भैसकेको थियो।

राप्रपाको अध्यक्षमा लिङ्देन विजयी बने पनि पदाधिकारीमा भने कमल थापा पक्ष नै हाबी देखियो। खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी भए। महिला उपाध्यक्ष रोशन कार्की विजयी बन्दा खुला तर्फबाट धवल शमशेर राणा र भुवन पाठक महामन्त्री बन्न सफल भए।

अध्यक्ष लिङ्देन र महामन्त्री धवल शमशेर राणाबाहेक अन्य सबै कमल थापा प्यानलका हुन् भने उपाध्यक्ष बनेका पाण्डे साझा उम्मेदवार हुन्। अध्यक्षमै निर्वाचित लिङ्देनको कुरा मान्ने हो भने पाण्डे लिङ्देन समूहका व्यक्ति हुन्। 

बदर भएको ४ सय ३१ मत कुन पक्षको थियो भनेर निर्वाचन समितिका अध्यक्ष बस्नेतले बोल्न चाहेनन्। मत बदर हुनेबारे उनको प्रष्टिकण थियो, ‘कोठामा नलागेको, उम्मेदवारको नाममा लागेको, लगाउनु पर्ने ठाउँमा नलागेको, बिचमा परेको नचिनिने गरी दाग लागेको, मत कोठाबाट बाहिर पचास प्रतिशत भन्दा बढी भएको मतहरू बदर भयो।’ 

मतगणनामा रहेका एक प्रतिनिधिका अनुसार अधिकांश बदर मत थापा र लिङदेन दुबैलाई मत परेकाहरू थिए। मतपत्रको अवस्था हेर्दा थापातिर गाढा अनि लिङदेनतिर हल्का चिन्ह लागेकाले पट्याउँदा मसी नसुकी, नमिलाई पट्याउँदा दुवै उम्मेदवारलाई मत दिएझैँ देखिएको उनले बताए। 

१९ मंसिर, २०७८, १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।