राप्रपा अध्यक्ष लिङदेनले भने ‘ अब टुट्ने फुट्ने हुँदैन, सबैलाई मिलाएर लैजान्छु’

राप्रपा अध्यक्ष लिङदेनले  भने ‘ अब टुट्ने फुट्ने हुँदैन, सबैलाई मिलाएर लैजान्छु’

काठमाडौँ : २०७४ सालको आमनिर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा निर्वाचित भएका छन्।

कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष रहेको पार्टीको एकता महाधिवेशनबाट लिङदेन अध्यक्षमा निर्वाचित भएका हुन्। 

सर्वसम्मत अध्यक्ष बन्ने थापाको प्रयास सफल हुन सकेनन्। उनी अध्यक्षमा लिङदेनसँग पराजित भए। 

अध्यक्षमा निर्वाचित लिङदेनले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए। अब पार्टी टुट्ने फुट्ने नहुने र एउटै राप्रपा भएर अगाडि बढ्ने उनले बताए। ‘सबैलाई मिलाएर लैजानु पर्छ,’लिङदेनले उकेरासँग भने,‘टुट्ने फुट्ने हुँदैन।’ 

उनले दिउँसो १ बजे अध्यक्ष पदको शपथ ग्रहण गरेपछि थप कुरा गर्ने बताए। 

२०४६ सालको आन्दोलनको बलमा स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहले घोषणा गरेको बहुदलीय व्यवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना भएको हो।

२०४७ सालको संविधान पछि स्थापना भएको राप्रपालाई राजावादीहरूको पार्टी भनेर चिनिन्थ्यो। राजा वीरेन्द्र शासनमा मन्त्रीपरिषद्का अध्यक्ष भएका सूर्यबहादुर थापाको निधन भएको छ। उनी राप्रपाको अध्यक्ष थिए। उनका छोरा सुनिल थापा अहिले नेपाली कांग्रेसको सहमहामन्त्री बनेका छन्। 

राप्रपामा सूर्यबहादुर थापापछि लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र कमल थापा चर्चामा छन्। २०७४ सालको चुनावपछि भने १६५ निर्वाचन क्षेत्र मध्ये एउटा मात्रै क्षेत्रमा चुनाव जितेर आएका लिङदेनको चर्चा सुरु भएको हो। 

झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा पार्टी सभापतिमा पराजित कृष्ण सिटौलालाई लिङदेनले पराजित गरेका थिए। उनी २०७० सालको संविधान सभा चुनावमा भने पराजित भएका थिए। 

राप्रपाको चुनावमा ३ हजार ८६५ मत खसेको थियो। लिङदेनले १ हजार ८१७ मत पाउँदा थापाले १ हजार ६१७ मत पाए। ४ सय ३१ मत बदर भएको निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले जानकारी दिए। 

नयाँ नेतृत्व चयन गर्न मतदान भइरहँदा थापाले लिङदेनलाई लक्षित गर्दै ‘काँचो नेतृत्व’को संज्ञा दिएका थिए। पशुपति शमशेरको हस्त लिखित पत्र राखेर थापाले राणाको त्यागका नाममा स्वार्थको काम गरेको आरोप लगाएका थिए। 

लिङदेनले थापाको काँचो नेतृत्वको कुरामा कुनै प्रतिक्रिया जनाएनन्। मिलाएर लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए। 

लिङदेन २०६६ सालपछि पार्टीको महामन्त्री बनेका थिए। राप्रपाले राजासहितको लोकतन्त्र र हिन्दु राज्य कायम हुनुपर्ने माग गर्दै आएको छ। तर, जनमत भने एक सिटमा सीमित भएको छ। 

अबको एक वर्ष भित्र राप्रपालाई स्थानीय, प्रदेश र सङ्घको चुनावमा अरू दलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। राप्रपाका अध्यक्ष लिङदेनलाई राप्रपाभित्र एकता कायम राखेर संसदीय चुनावमा एक सिटबाट बढाउनु पर्ने चुनौती छ। 

राप्रपाको उपाध्यक्षमा थापा र लिङदेनको प्यानलमा परेका विक्रम पाण्डेसँगै थापा प्यानलबाट बुद्धिमान तामाङ र रोशनी कार्की निर्वाचित भएका छन्। महामन्त्रीमा धवल शमशेर राणा मात्रै लिङदेनको प्यानलबाट विजयी भएका छन्। कुन्ती शाही र भुवन पाठक थापा प्यानलबाट निर्वाचित भएका छन्। 

राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष बाहेकका बहुमत पदाधिकारी र सदस्यहरूमा थापा प्यानलकै विजयी भएका छन्।

थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। टुट्नु र फुट्नुलाई सामान्य रूपमा लिने राप्रपामा एकता कायम राखिरहनु पर्ने चुनौती पनि लिङदेनको काँधमा आएको छ। 

१९ मंसिर, २०७८, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।