कांग्रेस बागमतीमा बानियाँ र केसी भिड्ने, प्रधान आउट 

कांग्रेस बागमतीमा बानियाँ र केसी भिड्ने, प्रधान आउट 

हेटौडा : नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ र जगदिशनरसिंह केसीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रदेश अधिवेशनमा सभापतिका तीन उम्मेदवार मध्ये पहिलो र दोस्रो मत प्राप्त गर्ने बानियाँ र केसी फेरि भिड्ने भएका हुन्। 

२ हजार ७१ मत मध्ये बानियाँले ९९१, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए। कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ।

केसी र प्रधान भन्दा बढी मल ल्याए पनि बानियाँको ५१ प्रतिशत नपुगेका फेरि चुनाव गराउन लागेको मतदान अधिकृत कृष्ण अर्यालले जानकारी दिए। १० मत बदर भएको उनले बताए। 

‘हामी फेरि चुनाव गराउने तयारीमा छौँ,’अर्यालले उकेरासँग भने,‘अरू पदाधिकारीको मतगणना सभापति पदको चुनाव सकिएपछि सँगै हुन्छ।’ 

बानियाँ शेरबहादुर देउवा, केसी वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रधान कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए। 

यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनले सुरुवाती अग्रता लिएका छन्। संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ।

राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २ सय मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए।

प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट भरत कुमार साह र संस्थापन इतरबाट अमर बहादुर पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्।

१९ मंसिर, २०७८, १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।