पराजयपछि रेखा थापाले भनिन् : नयाँ अध्यक्ष पाउनु सफलता, कुन्ती दिदीलाई बधाई 

पराजयपछि रेखा थापाले भनिन् : नयाँ अध्यक्ष पाउनु सफलता, कुन्ती दिदीलाई बधाई 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पाटीको महामन्त्रीमा रेखा थापा पराजित भएकी छन्। प्रतिस्पर्धी कुन्ती शाहीसँग ३६८ मत कम ल्याएर थापा पराजित भएकी हुन्। 

शाहीले २ हजार ८ मत पाउँदा थापाले १ हजार ६४० मत ल्याइन। महामन्त्रीमा पराजित थापाले यो नतिजाबाट आफू एकदमै खुसी रहेको प्रतिक्रिया दिइन।

‘जतिसुकै धाँधलीको प्रयास गरे पनि, धेरै प्रकारको बाधा आउन खोजे पनि मलाई एकदमै खुसी लागेको छ’, रेखाले भनिन्। उनले यो सबै भन्दा महत्त्वपूर्ण र ठुलो विजय भएको बताइन। 

उनले वर्षौँदेखि एउटै व्यक्तिले पद ओगटेर छोड्न नचाहेको परम्परा अन्त्य भएको बताइन। ‘यो हामी सबैका लागि खुसीको कुरा हो,’थापाले उकेरासँग भनिन्,‘आइएम सो ह्यापी।’ 

उनले महामन्त्रीमा विजयी कुन्ती शाहीलाई बधाई र शुभकामना दिँदै पार्टीमा राम्रोसँग काम गर्नु हुन्छ भन्ने अपेक्षा लिएको बताइन। आफू पार्टीमा आबद्ध भएको चार वर्ष मात्रै भएको भन्दै पार्टी भित्रको योगदानको हिसाबले कुन्तीले जित्नु स्वाभाविक भएको उल्लेख गरिन्। 

‘अब मैले अझ बढी चुनौती र अझ बढी होमवर्क गर्नुपर्ने देखेको छु।’उनले भनिन्,‘मैले जुन मत पाएको छु, म सम्पूर्ण मतदातालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।’

उनले मतदाताको मन जित्नलाई कटिबद्ध रहेको बताइन। ‘यो मत मेरो विजयी मत हो,’उनले भनिन्,‘आशा अर्कै भए पनि यो मतले अझ बढी जिम्मेवार बनाएको छ।’

उनले राप्रपामा नयाँ नेतृत्व आइसकेपछि अव सबै जना ऊर्जाशील भएर लाग्ने बताइन। उनले अबको नेतृत्वलाई हिजोका विकृति हटाउँदै जनताको घर आँगनमा पुग्नु पर्ने सुझाव पनि दिइन। 

१९ मंसिर, २०७८, ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।