कांग्रेस अधिवेशन : प्रदेश १ मा ५२ मतदाता अनुपस्थित 

कांग्रेस अधिवेशन : प्रदेश १ मा ५२ मतदाता अनुपस्थित 

इटहरी : नेपाली कांग्रेस प्रदेश १ समितिको निर्वाचनमा १७५२ जनाले मतदान गरेका छन्। विराटनगरमा भएको कांग्रेसको पहिलो प्रदेश समितिको निर्वाचनमा १८०४ जना मतदाता थिए।

५२ जना मतदानमा सहभागी नभएका निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए। मतदान सम्पन्न भएको र भोलि आइतबार मात्रै गणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। 

प्रदेश सभापतिमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहको संयुक्त प्यानलबाट उद्धव थापा र डा. शेखर कोइराला समूहको प्यानलबाट गुरुराज घिमिरे मैदानमा छन्। घिमिरेलाई झापा, मोरङ र सुनसरीको आस छ भने थापाले पहाडी जिल्लाको मत पाउने आस गरेका छन्।

जिल्ला सभापतिमा देउवा सिटौला प्यानल बलियो देखिएकाले सोही अनुसार प्रदेशमा मत आउने थापाको विश्वास छ। 

तर थापाकै गृह जिल्ला झापाबाट घिमिरेलाई समर्थन बढेको छ। कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको मौनताले थापालाई फाइदा पुग्ने देखिएको छ।

कोइराला आफै सभापतिको आकाङ्क्षी भएको तर टिमले टिकट नदिएका कारण मौन बसे। 

संस्थापन इतर प्यानलको बलियो जिल्ला मानिएको सुनसरीले घिमिरेलाई समर्थन नगर्दा थापाको पक्षमा मत परिणाम जाने अनुमान हुन थालेको छ। मतदान सकिए पनि गणना भने भएको छैन।  

९ जना पदाधिकारीका लागि २० जना चुनावी मैदानमा छन्। २ जना उपसभापतिमा गोविन्द ढुङ्गाना र विश्वनाथ रिजाल कोइराला प्यानलका उम्मेदवार हुन भने टङ्क राई र रमेशजंग रायमाझीले संस्थापन प्यानलबाट उम्मेदवारी दिएका छन्। 

महामन्त्रीमा कोइराला प्यानलका दिपेन श्रेष्ठ र उमेश राई उम्मेदवार भएका छन्। संस्थापन प्यानलबाट भूपेन्द्र राई र पदम सुन्दर पालुङ्गा चुनावी मैदानमा छन्।

१८ मंसिर, २०७८, २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।