डा. रबिनको सुख-दुःख : जसको डरले दसैँमा घर गएनन् उनीहरूकै उपचारमा डेढ वर्ष खटिए

डा. रबिनको सुख-दुःख : जसको डरले दसैँमा घर गएनन् उनीहरूकै उपचारमा डेढ वर्ष खटिए

काठमाडौँ : डा. रबिन खड्का एमबिबिएस अध्ययनका क्रममा जुन समूहदेखि डराएर घरै गएनन् एमबिबिएस अध्ययनपछि उनी उनीहरूकै उपचारमा खटिए।

दैलेखको नारायण नगरपालिकाका रबिनले २०५१ मा दैलेखकै ‘त्रिभुवन मावि’बाट एसएलसी पास गरेपछि काठमाडौँ हान्निए। २०५१ मा ‘अस्कल क्याम्पस’मा भर्ना भएर २०५३ मा राम्रो अङ्कसाथ आइएस्सी अध्ययन पूरा गरे।

आइएस्सीपछि रबिनले छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनको प्रयास गरे। त्यो बेला महाराजगन्ज क्याम्पस, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न पाइन्थ्यो। छात्रवृत्ति कोटामा अध्ययनका लागि छनोट परीक्षा उत्तीर्ण हुन कठिन थियो।

त्यसमाथि पनि अङ्ग्रेजी कमजोर भएका विद्यार्थीलाई त छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनमा छनोट हुनु थप कठिन हुने नै भयो।

अङ्ग्रेजी विषय कमजोर भएकाले धेरै पटकको प्रयासमा पनि उनी छनोट परीक्षामा उत्तीर्ण हुन सकेनन्। एमबिबिएस अध्ययनका लागि छनोट परीक्षा दिइरहँदा बीएस्सी भर्ना भएर पढिरहेका पनि थिए।

उनले एमबिबिएसको छनोट परीक्षा दिन भने छाडेनन्। धेरै पटकको प्रयासपछि २०५६ मा शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि उनको नाम निस्कियो।

त्यो बेला उनी बीएस्सी दोस्रो वर्षमा पुगिसकेका थिए। एमबिबिएस अध्ययनका लागि छनोट भएपछि उनले बिएस्सी अध्ययन छोडे।

त्यसपछि रबिन पोखरास्थित ‘मनिपाल कलेज अफ मेडिकल साइन्सेस’मा २०५६-०५७ मा एमबिबिएस अध्ययनका लागि भर्ना भए। उनले २०६२ मा एमबिबिएस अध्ययन पूरा गरे। राम्रो नम्बर आयो। २०६२-०६३ को जनआन्दोलन अघि उनले भर्खर एमबिबिएस अध्ययन सकेका थिए।

०००

एमबिबिएस पढ्दाताकाको केही क्षण सम्झँदा रबिनलाई अहिले पनि खल्लो लाग्ने रहेछ। उनी दुई वटा दसैँमा घर जानै पाएनन्। कारण माओवादी द्वन्द्व।

रबिनले एमबिबिएस पढिरहँदा सरकार र तत्कालीन माओवादीबिचको द्वन्द्व उत्कर्षको समय थियो। उनको घर दैलेख। त्यो बेला बिदामा घर जान उनलाई द्वन्द्वका कारण निक्कै सकस पर्यो। बाटोमा माओवादीको डर हुन्थ्यो। ठाउँ ठाउँमा सेना र प्रहरीको चेकजाँचले हैरान।

घर जान दुई दिन लाग्थ्यो। त्रासै त्रासमा यात्रा गर्नुपर्ने भएपछि उनी दुई वटा दसैँमा घर जान सकेनन्।

एमबिबिएस अध्ययनको क्रममा रबिनले मणिपाल र गण्डकी अस्पतालमा इन्टर्नसिप गरे। एमबिबिएसपछि उनले पोखराकै मणिपाल शिक्षण अस्पतालमा करिब तीन महिना करार जागिरेका रूपमा काम गरे।

तर, रबिनलाई दुर्गममा नै पुगेर उपचार सेवा गर्ने सपना थियो। त्यसैले उनले पोखरापछि लमजुङको गोरखा सामुदायिक पोलिक्लिनिकमा काम गर्न पुगे। लमजुङमा जागिरेका रूपमा करिब नौ महिना काम गरे उनले।

त्यो समयमा स्नातकोत्तर तहको एमडी अध्ययनका लागि चीनमा सरकारी छात्रवृत्ति कोटामा छनोट भए पनि उनी चीन गएनन्। उनलाई चीनमा अध्ययन गर्न जान मन लागेन।

रबिनले एमबिबिएस अध्ययन गरेपछिको समयमा सरकारले चिकित्सक परिचालन निर्देशिका ल्यायो। निर्देशिका अनुसार छात्रवृत्तिमा पढेबापत दुई वर्ष सरकारी स्वास्थ्य संस्थामा अनिवार्य काम गर्नुपर्ने भयो। त्यसैले सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरे बापतको सेवाका लागि २०६४ मा उनी बर्दिया जिल्ला अस्पताल गए।

शिविरमा लडाकुको उपचार

त्यो समयमा तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेको थियो। माओवादी सेना सात वटा शिविरमा बसेका थिए। जसमध्ये एउटा शिविर चितवनमा थियो।

रबिन बर्दियामा काम गरिरहेको समयमा सरकारले चितवनको शक्ति खोरमा माओवादी शिविरका लागि अस्थायी प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दी सृजना गर्यो। देशैभरि सात वटा यस्ता शिविर थिए। माओवादी शिविरका स्वास्थ्य केन्द्रहरूमा सरकारले स्वास्थ्यकर्मी खटाउने निर्णय गर्यो।

संयोग नै भन्नुपर्छ। एमबिबिएस अध्ययन गर्दा द्वन्द्वको डरले घर नगएका रबिन माओवादीकै उपचारमा खटिन पुगे। त्यो बेला रबिनले बर्दियामा काम गरेको एक वर्ष बितिसकेको थियो।

रबिन बर्दियाबाट सरुवा मागेर चितवनको शक्तिखोरस्थित माओवादी शिविरको अस्थायी प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न पुगे।

सुरुमा हतियारधारी माओवादी शिविरमा कसरी काम गर्ने होला भन्ने रबिनको मनमा डर रहेछ।  सुरुसुरुमा उनलाई शिविर छिर्दा अनौठो संसारमा आएको अनुभव भएको थियो रे।

शिविरमा छिरिसकेपछि रबिनले जताततै लाल सलाम कमरेड मात्र सुन्थे। उनले पनि धेरैको ‘लाल सलाम’को सल्युट लिए।

काम गर्दै जाँदा बिस्तारै रबिन उनी माओवादी लडाकुसँग घुलमिल हुँदै जान थाले। कम्रेडहरुसँग आत्मीयता बढ्दै गयो। उनलाई पनि ‘कमरेड’ शब्द उच्चारण गर्ने बानी पर्दै गयो।

माओवादी शिविरमा रहेका स्वास्थ्य केन्द्रलाई माओवादीहरूले जनसैन्य अस्पताल भन्ने गर्थे। यस्ता स्वास्थ्य केन्द्र माओवादी लडाकुको उपचारका लागि स्थापना गरिएको थियो। लडाकु शिविरमा एक जना चिकित्सक सहित नौ जना स्वास्थ्यकर्मीको टिम सरकारले खटाएको थियो। जसको नेतृत्व डा. रबिनले गरेका थिए। उनले सुनाए, ‘टिम लिडर म थिएँ।’

त्यसो त शिविरमा माओवादीकै तर्फबाट पनि स्वास्थ्यकर्मीहरू थिए। माओवादी तर्फबाट जनसैन्य अस्पतालका प्रमुखको नेतृत्व हुन्थ्यो। सरकारी स्वास्थ्यकर्मीको टोली र माओवादीको स्वास्थ्य कर्मीको टोलीको समन्वयमा लडाकुको उपचार हुन्थ्यो।

शक्ति खोरमा माओवादीको तर्फबाट त्यतिखेर स्वास्थ्य हेर्ने डिभिजन प्रमुख ‘विनोद जी’ भन्ने नुमाकान्त आचार्य थिए। उनको नेतृत्वमा पनि स्वास्थ्यकर्मीको ठुलो टिम थियो। शक्तिखोर शिविर अन्तर्गत रहेका माओवादी कमान्डरसँग समन्वय गरेर माओवादी सेनाको उपचारको व्यवस्थापन गर्नुपर्थ्यो।

उनले सुनाए, ‘त्यहाँ भएका लडाकु साथीहरूको स्वास्थ्य जाँच गर्ने, त्यहाँ नसकेका उपचार ठुला अस्पतालमा रिफर गरिन्थ्यो।’

खुट्टाको गोली निकाल्दा रक्तस्राव भएपछि...

शिविरमा रबिनले दर्जनौँ लडाकुहरूको शरीरबाट शल्यक्रिया गरेर गोली निकालेका छन्। लडाकुको शरीरबाट गोलिका छर्रा निकालेका छन्। शिविरमा लडाकुको शरीरबाट गोलिका छर्रा निकालेकामध्ये एउटा घटना रबिनको मानसपटलमा अझै ताजा नै छ।

एक जना खुट्टामा गोली लागेका लडाकुको शल्यक्रिया गरेको क्षण उनी अझै सम्झन्छन्। शिविरमा करिब २३ वर्षका पुरुष लडाकुको खुट्टामा भएको गोली निकाल्न रबिनको टिमले शल्यक्रिया थालेको थियो। एक्स–रे को भरमा शल्यक्रिया गर्नुपर्दा गोली लागेको ठाउँ ठम्याउन मुस्किल पर्यो। शल्यक्रिया गर्ने क्रममा ती लडाकुको खुट्टाबाट रक्तस्राव भयो।

रक्तस्राव बढी हुन थालेपछि उनलाई भरतपुर अस्पताल रिफर गर्नु पर्यो। केही दिनपछि ती लडाकु डिस्चार्ज भएर शिविर फर्किए। तर, अन्य धेरै लडाकुहरूको भने रबिनले त्यही शिविरमा नै गोली झिक्न सफल भएका छन्। त्यो बेला रबिनले गोली झिकिदिएका तथा उपचार गरेका धेरै लडाकुहरू अहिले पनि सम्पर्कमा रहेको उनले सुनाए।

रबिनले शिविरमा काम गर्दागर्दै लोकसेवाको परीक्षा खुल्यो। उनले परीक्षा दिए। परीक्षाको नतिजा राम्रो आयो। २०६६ मा रबिन लोकसेवा परीक्षा मार्फत सरकारी स्थायी चिकित्सकका रूपमा जागिरे भए। उनी स्थायी मेडिकल अधिकृत भए।

स्थायी सरकारी जागिरे भएपछि शिविरका धेरै लडाकुहरूले शिविरमा नै पोस्टिङ भएर आउनु काम गर्नुपर्छ भनेका थिए। शक्तिखोरका डिभिजन कमान्डर राजेश भन्ने व्यक्तिले उनलाई त्यहीँ बस्न निक्कै अनुरोध गरेका थिए।

डा. रबिनले शक्तिखोरस्थित माओवादी शिविरमा करिब डेढ वर्ष लडाकुको उपचार गरिसकेका थिए। त्यसपछि भने रबिनले दुर्गम नै सम्झिए। दुर्गममा नै गएर काम गर्ने निर्णय लिए।

शिविरबाट बिदाबारी हुँदा लडाकुहरूले न्यानो बिदाइ गरेको उनी बिर्सँदैनन्। रबिनले उपचार गरेका धेरै घाइतेहरूले आँखा रसाउँदै बिदाइको हात हल्लाएको उनी अहिले पनि सम्झन्छन्।

दैलेखको अधुरो सपना

माओवादी शिविरबाट बिदाबारी भएपछि रबिनले सरकारी चिकित्सकका रूपमा पहिलो पोस्टिङ जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा मागे। आफू जन्मेको जिल्लामा पोस्टिङ भएपछि रबिन दैलेख जिल्ला अस्पतालको कमान्ड सम्हाल्न पुगे। उनको घर अस्पतालसँगै जोडिएको रहेछ। त्यही जिल्ला अस्पतालकै आँगनमा खेलेर हुर्किएका थिए उनी।

त्यसैले उनले सानैदेखि अस्पतालमा पुगेका कयौँ बिरामी उपचार नपाएर फर्किएको देखेका थिए। कयौँको अस्पतालमा मृत्यु भएको देखेको थिए।

तर, रबिनले दैलेख जिल्ला अस्पतालमा जे सपना देखेर गएका थिए, उनको त्यो सपना पूरा हुन सकेन। किनकि अस्पतालमा अधिकांश कर्मचारी चिने जानेका र नातागोता थिए। जसले गर्दा उनलाई आफ्नै नातागोता र आफन्त कर्मचारीलाई काम अह्राउन, खटाउन असहज भयो। उनले चार महिना काम गरिसकेपछि दैलेखबाट सरुवा हुने निर्णय लिए।

कालिकोटमा पञ्चेबाजा

दैलेखपछि छिमेकी ‘जिल्ला स्वास्थ्य कार्यालय कालिकोट’ सरुवा भए रबिन। उनले कालिकोटमा २०६७ देखि २०६९ सम्म करिब साढे दुई वर्ष काम गरे।

कालिकोटमा स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेर अस्पतालको सुधारसम्बन्धी धेरै काम गर्ने मौका पाए उनले। कालिकोटमा काम गर्दा अस्पतालमा नै बिरामीको मृत्यु हुँदा टुलुटुलु हेर्नुपरेको बाध्यता समेत रबिनले सुनाए।

कालिकाकोमा भीरबाट लडेर टाउकामा चोट लागेका करिब ३० वर्षका व्यक्ति मृत्युको घटना उनी अझै भुल्दैनन्। वर्षाको समय भएकाले ती घाइतेलाई न हवाई मार्गबाट थप उपचारका लागि रिफर गर्न सम्भव भयो न स्थल मार्गबाट नै। केही विकल्प नभएपछि त्यहीँ उपचार गरेर ती घाइतेलाई उनले बचाउने प्रयास गरे। तर, केही चलेन। बिरामीको मृत्यु भयो।

दुर्गम कालिकोटमा उनले प्रसूति सेवा, एपेन्डिसाइटीसको शल्यक्रिया, आन्द्रा फुटेको शल्यक्रिया लगायत आपतकालिन शल्यक्रिया तथा सेवाको सुरु गरे।

कालिकोटबाट बिदा हुँदा रबिनलाई पञ्चेबाजा सहित बिदाबारी गरियो। कालिकोट सम्झँदै उनले भने,‘कालिकोटको कामले मलाई आज पनि धेरैले सम्झनुहुन्छ।’

हुम्लामा चार दिन हिउँले थुनिँदा...

२०६३ मा एमबिबिएस उत्तीर्ण गरेका रबिनले थप अध्ययन गर्ने निर्णय लिएपछि उनी कालिकोटबाट बिदा भएका थिए। कालिकोटबाट उनी सरुवा भएर काठमाडौँको जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६९ मा सरुवा भए।

काठमाडौँ आएको करिब चार महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छात्रवृत्ति कोटामा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए पनि रबिनले सोचेजस्तो विषयमा एमडी पढ्न पाएनन्।

आफूले चाहेजस्तो विषयमा एमडी अध्ययन गर्न नपाएपछि रबिनलाई काठमाडौँ बस्न मन लागेन। उनले फेरी दुर्गममा नै जाने निर्णय लिए।

त्यसपछि रबिन सरुवा भएर २०६९ कात्तिकमा हुम्ला पुगे। मौसम हिउँ पर्न सुरु हुने मौसम थियो। हुम्लामा उनी पुग्नुभन्दा ३-४ महिना अघिदेखि डाक्टर नै पुगेका रहेनछन्।

हुम्लामा हिउँदमा एक पटक त निरन्तर हिउँ पर्दा चार दिनसम्म बाहिर निस्कनसम्म नसकेको अनुभव रबिनले सुनाए।

हिउँका कारण ढोका नखोलिँदा चार दिन त कोठा भित्र उनी थुनिए। रबिनले त्यो क्षण सुनाए, ‘४-५ फिट हिउँ पर्यो। हिउँले ढोका जाम भएर नखुलेपछि चार दिन त कोठा भित्रै थुनियौँ।’ हुम्लामा रबिन करिब एक वर्ष काम गरे।

छनोटमा दुर्गम

अध्ययनको भोक मरैकै थिएन रबिनलाई। त्यसैले एमडी अध्ययनका लागि हुम्लामा नै छनोट परीक्षाको तयारी गरे र छनोट परीक्षा दिए। छात्रवृत्तिमा रेडियोलोजी अध्ययनका लागि उनी छनोट परीक्षामा पास भए।

त्यसपछि डा. रबिनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहमा ‘एमडी रेडियोलोजी’ विषयको २०७० मा अध्ययन सुरु गरे। उनले २०७३ मा एमडी रेडियोलोजी विषयको अध्ययन पूरा गरे।

एमडी अध्ययनपछि डा. रबिनले करिब ६ महिना रोडियोलोजिष्ट चिकित्सकका रूपमा वीर अस्पतालमा नै काम गरे।

तर, गाउँकै वातावरणमा रमाउने बानी परिसकेका रबिनलाई सहरको कोलाहलमा बस्न मन लागेन। त्यसैले उनी वीर अस्पतालबाट सरुवा भएर २०७४ मा क्षेत्रीय अस्पताल सुर्खेत पुगे। त्यो क्षेत्रका सरकारी अस्पतालमा नै रेडियोलोजिष्ट चिकित्सक थिएनन्। उनी पुगेपछि अस्पतालमा रेडियोलोजी सेवा तथा सिटी स्क्यान सेवा सुरु भयो।

२०७४ मा रबिन आठौँ तहबाट नवौँ तहमा बढुवा भए। त्यसपछि उनी कन्सल्ट्याण्ट रेडियोलोजिष्टका रूपमा काम गर्न थाले। दुई महिना स्वास्थ्य मन्त्रालय नै पोस्टिङ भयो उनको। त्यसपछि चितवनको भरतपुर अस्पतालमा २०७५ मा पोस्टिङ भएर मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवारी लिएर पुगे।

तर, भरतपुरमा करिब चार महिना काम गरेपछि त्यहाँबाट तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई हटाइदिए। उनी फेरी सुर्खेत पुगे।

क्षेत्रीय अस्पताल सुर्खेतमा नै पुनः काम गर्न थाले। २०७५ देखि २०७७ असारसम्म उनले सुर्खेतमा काम गरे। सुर्खेतपछि उनी कोभिड–१९ व्यवस्थापन सम्बन्धी कामका लागि काजमा स्वास्थ्य मन्त्रालय तानिएर दुई महिना काम गरे।

मन्त्रालयको दुई महिना बसाइपछि उनी कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रमुखको जिम्मेवारी पाएर सुर्खेत पुगे। कोरोना भाइरसको सङ्क्रमणको समयमा उत्कृष्ट काम गरेबापत उनले सरकारलगायतबाट सम्मान पाएका छन्।

डा. रबिन हालसम्म करिब डेढ वर्षदेखि निर्देशनालयको निर्देशकको भूमिकामा काम गरिरहेका छन्। सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. रबिन अहिले अध्ययनको विशेषज्ञता भन्दा बढी प्रशासनिक जिम्मेवारीमा छन्।

छात्रवृत्तिमा अध्ययन गरेकाले पढे बापतको खर्च उठाउनुपर्ने बाध्यता नभएकाले दुर्गम नै छनोट गरेको रबिनले सुनाए। उनले भने,‘एक पैसा पनि खर्च नगरी पढियो। सरकारले पढायो। दुर्गममा जन्मिएको हुनाले दुर्गममा नै काम गरेँ।’

डा. रबिनले दुर्गममा बस्दा–बस्दा झन्डै विवाह नै गर्न बिर्सिएको भन्दै ठट्टा समेत गरे। उनले २०७५  सालमा ३८ वर्षमा विवाह गरेका रहेछन्। उनीकी श्रीमती पनि प्याथोजिष्ट चिकित्सक हुन्। उनीहरूको अढाई वर्षकी छोरी छन्। 

१८ मंसिर, २०७८, १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।