उकेरा कला

नेपाली चलचित्रले मधेशी पात्रलाई किन मजाकमा उडाउँछ ?


तस्बिर : कृष्पा श्रेष्ठ

यदि तपाईले  ‘सक्किगोनी’ सिरियल हेर्नुभएको छ भने पक्कै रामभजनलाई बिर्सनु भएको छैन। तराईको प्रतिनिधित्व गर्दै सक्किगोनीमा देखा परेका रङ्गकर्मी हुन् रामभजन कामत।

क्यामेरामा त्यति देखिन नचाहने रामभजन सक्किगोनीमा कलाकारका रूपमा देखा परे। दर्शकले उनलाई मन पनि पराए। तर पछिल्लो समय भने उनी खासै देखा परेका छैनन्। कारण, मधेसका मुद्दा खासै नउठेर हो कि जस्तो लाग्छ उनलाई।

उनले आस भने मारेका छैनन्। ‘सिमाना’ जस्तै उत्कृष्ट एपिसोड निर्माण गर्न जिग्री-पाँडेले उनको इनर्जी बचाएर राखेका छन्।

उनै रामभजनलाई मन पर्ने मधेशी कलाकार र नेपाली चलचित्रमा मधेशी पात्रका बारेमा उकेराको ‘मलाई मन पर्छ’ कोलमका लागि ईश्वरकुमारले गरेको कुराकानीको सम्पादित अंश:

०००

नेपाली चलचित्र उद्योगमा मधेसबाट प्रतिनिधित्व गर्ने निकै कम कलाकार छन्। जसमध्ये म पनि एक हुँ।

नाम नै लिने हो भने नाजिर हुसेन, कामेश्वर चौरसिया, रविन्द्र झा, प्रमोद अग्रहरी लगायतका केही कलाकार मात्र चलचित्रमा बढी देखिएका छौँ। यतिले मात्र मधेश र मधेशीको प्रतिनिधित्व समेटिँदैन।

यसो भनिरहँदा सक्किगोनीले मधेसका पात्रको रूपमा मलाई चिनायो, नेपाली दर्शकमाझ। त्योभन्दा अघि म रंगकर्म गर्थेँ। रंगकर्मकै क्रममा मैले सिरिएल खेल्न पाएँ। त्यही सिरिएल नै मेरो स्क्रिनको लागि कोशेढुंगा भइदियो। र, मैले धेरै मधेशी पात्रको प्रस्ताव पाएँ। केहीमा काम पनि गरेँ, म त्यसलाई बोनसको रूपमा लिन्छु।

आज पनि नेपाली चलचित्र क्षेत्रमा मधेशी पात्रलाई हँसिमजाकको रूपमा प्रस्तुत गरिन्छ। मधेसको भन्दैमा हाँ... र हुँ... गरेर बोल्छ, महिलो लुगा र पुरानो साइकल नै बोकेर हिँड्छ भन्ने मान्यता छ।

सबैको उस्तै बोली र उस्तै काम हुन्छ, नेपाली निर्मातालाई यस्तै लाग्छ। जुन सरासर गलत हो। हामीसँग पनि कथा छ। हाम्रो पनि कथा छ। हाम्रो पात्रबाट हाम्रो कथा चाहिँ किन देखाउन चाहँदैनन् निर्माता? मेरो प्रश्न त्यहाँनेर हो।

हामीले बुझ्नुपर्ने कुरा भनेको कथा हो। पात्रलाई हँसिमजाकमा उभ्याउनुभन्दा कथालाई हाँस्यप्रधान बनाउनुपर्ने थियो। मधेशी पात्र सबैले एकै काम र एकै बोली बोल्दैनन् नि। सबैको एकै कथा हुँदैन नि। एकै पृष्ठभूमि हुँदैन नि।

जिग्री-पाँडेको एक खासियत छ। उहाँहरू कुनै नयाँ पात्रलाई ल्याउनुभयो भने त्यो एपिसोडमा धमाका मच्चाउनुहुन्छ। मेरो सन्दर्भमा पनि त्यस्तै भयो।

पछिल्लो समय सिरियल र सिनेमामा देखिएका मधेशी पात्रलाई नियाल्दा भाषा बिगारेर मधेसको सम्मान गरेको देखाउनुभन्दा बरु मधेसलाई नसमेटेरै धेरै सम्मान होला कि भनेर पनि बहस चलाउनुपर्ने अवस्था आउन लागिसक्यो।

मधेशी पात्र सधैँ कथाविहीन भएर नै देखिएका छन्, साना-ठुला पर्दामा। मधेशी हो भनेर अनुहार देखाउन मात्र त उभ्याउनुको अर्थ के छ र? अनुहार देखाउनुभन्दा ती अनुहार भित्रका कथा देखाउनुपर्छ। र, सक्किगोनीमा मलाई दर्शकले सोही अनुरूप नै देख्नुभएको छ।

मैले मेरो भाषा र संस्कृतिलाई बोक्ने हो। त्यो नै मेरो कलाकारिताको प्रमुख कुरा हो भन्ने मेरो बुझाइ छ। यसो भनिरहँदा मेरो भाषा र संस्कृति बाहिरका कुरा चाहिँ मेरा हैनन्, म गर्दिनँ भन्ने होइन। सबैले आफ्नै कुरालाई त केन्द्रमा राख्ने हो नि।

मलाई सक्किगोनीपछि धेरै मधेशी रोलमा अफर आयो। तर सबैले उही मधेशी खोजे जुन हामीले सधैँ देखिआएका छौँ। म पात्र मात्र त हुनभएन नि। मेरो कथा पनि हुनुपर्छ नि।

एकै प्रकारको रोल मात्र अफर आउँदा मलाई हाँसो लाग्छ। के मधेशी कलाकार त्यही पुरानो सोचाइभन्दा माथि उठेर कला प्रस्तुत गर्न सक्दैनन्? पक्कै सक्छन्। कलामा मधेशी, पहाडी, हिमाली भन्ने नै हुँदैन। सबैले आफ्नोपन प्रस्तुत गर्न सक्छन्।

त्यसैले, नेपाली निर्माताहरुले सबैलाई ससम्मान स्थान दिनुपर्छ। स्थान दिने नाममा अनुहार र भेषभुषामात्र देखाउने होइन, कथा देखाउने हो। त्यता बढी अभ्यास हुनु जरुरी छ।

जीवनशैली फेरिएको छ। मानिस शिक्षित हुँदै गएका छन्। मधेश पनि त्यसबाट अछुतो छैन। त्यो बुझ्नुपर्‍यो। हरेक कुराको निश्चित अवधि हुन्छ। मधेसका पात्रलाई सधैँ उस्तै र उही पाराले मात्र प्रस्तुत गर्नु सुखद होइन।

०००

मैथिली नाटकको एउटा टिम छ- मिनाव। त्यो समूहले मैथिली भाषामा नाटक गर्छ। यो टिमका कलाकारको इनर्जी अरू कलाकारमा कमै मात्र देख्छु म।

ममा मिनावको प्रभाव निकै रह्यो। आफ्नो भाषामा पनि नाटक हुने रहेछ भन्न त्यही समूहको नाटकले दिमागमा हालिदियो। त्यसले नाटकतिर तानिन सहयोग गर्‍यो। त्यसकै जगमा मैले विराटनगरको गुरुकुलबाट नाटकको यात्रा सुरु गरेँ।

मलाई सधैँ रमेशरञ्जन झाबाट आफ्नोपनमा बाँच्ने र कलाकर्म गर्ने प्रेरणा मिल्यो। उनैको प्रेरणाले म पहिलो पटक आजभन्दा १० वर्षअघि कलाकारबाट नाटकको निर्देशक पनि बनेँ। आफ्नो भाषाप्रतिको मोहमा बढोत्तरी भयो। उनै हुन् मलाई मन पर्ने मधेसको कलाकार।

मधेसको कलाकार हो भन्दैमा भाषा बिगारेर, दरिद्रता प्रदर्शन गर्नुपर्छ भन्ने सोचाइको खिलाफ उहाँको कला हो। त्यसले हाम्रा निर्माताहरुलाई पनि सोच्ने ठाउँ बनाइदिएको छ।

०००

समय क्रमसँगै म नाटकमा रम्दै थिएँ। शिल्पी थिएटरका कलाकार सविन कट्टेलले सक्किगोनीका पात्र कक्रोजलाई नम्बर दिनुभएको रहेछ।

सक्किगोनी टिमले मेरो अडिसन लियो। म त थिएटरको मान्छे, क्यामेरासँग उति परिचय थिएन।

उहाँहरूले खोजेको पात्र म हो/होइन भन्ने थियो मनमा। त्यसैले पहिला नै सर्त राखेँ, भाषा बिगारेर म काम गर्न सक्दिनँ। उहाँहरूले भाषा नबिगार्न नै तपाईँ जस्तो कलाकार खोजेको भनेपछि म काम गर्न तयार भएँ।

मुन्नीको बा भनेर मलाई स्थापित गराउनमा सक्किगोनीको ठुलो हात रह्यो।

सुरुमा म आफैँले पनि सिरियल हेरेको थिइनँ। काम नै गर्ने भएपछि ५/७ एपिसोड हेरेँ। मुड्खुमा सुट थियो। मुन्नी र म सँगै गयौँ। मुन्नी र म दुवै सुनिल पोखरेलका चोलाचेली हौँ।

हामी थिएटरका मान्छेलाई सिरियल उति चासोमा पर्दैन। मुन्नी र म सुटिङमा पुग्यौँ। के गर्ने होला? दर्शकले के भन्लान् भन्ने डर थियो। तर सबैलाई माछा खुवाएको मेरो पहिलो एपिसोड नै हिट भयो।

जिग्री-पाँडेको एक खासियत छ। उहाँहरू कुनै नयाँ पात्रलाई ल्याउनुभयो भने त्यो एपिसोडमा धमाका मच्चाउनुहुन्छ। मेरो सन्दर्भमा पनि त्यस्तै भयो।

त्यसपछि म पैदल यात्रीलाई बाइकको खाँचो भयो। गाडीमा बूढाबूढीले समेत सिट छाड्न थाले। चारैतिर तारिफ पाएँ।

रङ्गकर्मी भएका नाताले ताली र गालीभन्दा कर्म ठुलो भन्ने भाव हामीमा गुरुहरूले हालिदिनुभएको छ। चौतर्फी तारिफ भएपछि सार्वजनिक रूपमा हिँडडुल गर्न असहज भयो र बाइक किनेँ। यो पनि मेरो सक्किगोनीले दिलाएको एक उपलब्धि हो।

पछिल्लो समय सक्किगोनीमा फाट्टफुट्ट मात्र देखिन्छु। सायद मेरो कथा आउँदै होला। बोलाए भने जान्छु। हाम्रो काम भाइरल हुने खालको हुँदैन। भाइरल हुने काम हामी गर्न नै सक्दैनौँ। जान्दैनौँ।

पछिल्लो समय प्रकाश सपुतको ‘यो देश मेरो पनि होइन’ मा पनि मैले काम गरेको थिएँ।

मलाई एक पटक गरिसकेको भूमिका फेरि दोहोर्‍याउन मन लाग्दैन। त्यही अभ्यासमा पनि छु। जसले अपनत्व मर्न नदेओस् र आफ्नो भाषालाई पनि परिष्कृत गर्न सकोस् त्यस्तो भूमिका गर्न मन लाग्छ।

समुन्द्रमा सानो ढुङ्गाले हान्दा छाल त देखिँदैन तर छाल उठेको भने पक्कै हुन्छ। म त्यो सानो ढुङ्गा हुँ जो निरन्तर भाषा, संस्कार र अपनत्व बोक्ने काम गरिरहेको हुन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आइडलबाट गोल्डेन माइक विजेता मदन बाहिरिँदा' उठेर हिँडौँ जस्तो लाग्यो' भन्दै रिसाए शम्भुजित

त्यस्तै भयो बिहीबार प्रसारण भएको कार्यक्रममा। यो सिजनको २ गोल्डेन माइक विजेतामध्येका एक मदन गुरुङ बाहिरिएका छन्। कार्यक्रमको प्रारम्भमै यो साताको बटम थ्रीको नाम भनियो।

'नागिन' मौनीले प्रेमीसँग विवाह गरिन्

यी दुवैको विवाहसम्बन्धी तस्बिर अहिले सामाजिक सञ्जालभरि फैलिएको छ। भाइरल भएको तस्बिरमा सुरजले मौनीलाई मङ्गलसूत्र लगाइरहेका छन्। मौनीको विवाह दक्षिण भारतीय रिति रिवाज अनुसार भएको....

अक्षय कुमारको 'बच्चन पाण्डे' लाई १७५ करोडको अफर

भारतका विभिन्न समाचार एजेन्सीले गरेको सर्वेक्षणमा पनि उनले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पार्दै २०२१ को सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पारेका थिए। आगामी फागु पुर्णिमाको अवसर....

कस्तो होला साम्राज्ञी र मुन्द्रेको जोडी !

तितोसत्य टिमसँग फिल्ममा अभिनय गर्दा पनि जितुले आफ्नो छवी अनुसारकै चरित्रमा अभिनय गर्दै आएका थिए। नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा डेब्यु गर्दै कपिल रिजालले अपोजिट छवी भएका यी दुबैलाई जोडि बनाएर फिल्म ‘ह्यारीकी प्यारी’को निर्माण शुरु गरेका छन्। कोरोनाको....

तारा देवीको गीतमा कलाकारदेखि पूर्व मन्त्रीले गरे नक्कल  

काठमाडौँमा भएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधव घिमिरेको शब्द, नातिकाजीको सङ्गीत र शुभ बहादुर सुनामको सङ्गीत संयोजन रहेको गीत फूलको थुँगा.. गाइन्।  जेरक्स चौधरीले....