ब्रिटिस कलेजमा ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय थपियो

ब्रिटिस कलेजमा ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषय थपियो

काठमाडौँ : द ब्रिटिस कलेजले ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय’को पढाई सुरु गर्ने भएको छ।

कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ। कलेजले बिहीबार औपचारिक कार्यक्रम गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो।

उसले यो नेपालमै पहिलो पटक पढाई हुन लागेको दाबी गरेको छ। शैक्षिक कार्यक्रमको प्रारम्भ नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले सुरुवात गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे।

नेपाल राष्ट्र बैङ्कले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरेका थिए।

नेपालमा एटिएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पुर्याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरेका थिए।

उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए।

एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौती पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको औँल्याए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले डिजिटल नेपालको अवधारणमा जानको लागि सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरू भइरहेको बताए।

उनले सञ्चार मन्त्रालयमा पनि साइबर सेक्युरिटी सेन्टरको स्थापना भएको बताए। उनले ब्रिटिस कलेजले यस्तो शैक्षिक कार्यक्रमको सुरुवात गरेको भन्दै अन्य कलेजहरूले पनि यस्तो विषयको पढाई थाल्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सिइओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठुलो माग रहेको बताए।

यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठुलो आवश्यकता छ।'

१७ मंसिर, २०७८, १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।