काँचो सुन ल्याउने धमाधम समातिदै, यस्तो छ नयाँ नियम

काँचो सुन ल्याउने धमाधम  समातिदै, यस्तो छ नयाँ नियम

काठमाडौँ : झिटिगुन्टाको आवरणमा सुन तस्करी बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कडाइ गरेसँगै दैनिक सुन बरामद हुने क्रम बढेको छ।

विदेशबाट आउँदा आफूसँगै ल्याउन पाइने सुनको परिणामको दुरुपयोग गर्दै अधिकांशले काँचो सुनलाई नै गहना भन्दै ल्याउन थालेपछि भन्सारले कडाइ सुरु गरेको थियो।

सोमबारदेखि भन्सारले काँचो सुनका लागि अनिवार्य भन्सार तिर्नुपर्ने गरेपछि दैनिक जन्माउने सुनको परिमाण बढिरहेको छ। बिहीबार भन्सारले विदेशबाट आएका २ सय ११ जनाको साथमा रहेको ९ किलो सुन बरामद गरेको थियो।

प्राय दुबई, कतार र मलेसियाबाट नेपाल आउने नेपालीहरूले यस्तो सुन बोकेर आउने गरेका छन्। यस्तोमा अधिकांश वैदेशिक रोजगारीमा जाने नेपालीहरू हुने गरेका छन्। उनीहरूलाई उता रहेका एजेन्टहरूले सुन बोकाएर नेपाल पठाएर यता अर्को एजेन्टले सङ्कलन गर्ने गर्दै आएका थिए।

भन्सार नीति परिवर्तन गरेपछि यो बिचमा ५६ किलो सुन भन्सारमा पुगेको छ। ती सुनहरू गैर कानुनी भने हैनन्। जसले सुन ल्याएका हुन् उनीहरूले भन्सार दर अनुसार तिरेर लैजान पाउँछन्।

यस अगाडि भन्सार तिर्नु नपर्दा सुन सस्तो पर्ने भएकाले तस्करीमा संलग्न समूहले यो उपाय अपनाउने गरेका थिए। अब भन्सार अनिवार्य भएपछि वैध बाटोबाट मगाउनु र यसरी झिटीगुन्टाको सुविधा उपयोग गर्नु बराबरै मूल्य पर्छ। यसले सुन तस्करी नियन्त्रण हुने भन्सारका अधिकारीहरू आशावादी देखिन्छन्।

नेपालमा वाणिज्य बैङ्कहरूले मात्र काँचो सुन भित्र्याउन पाउँछन्। त्यसमा पनि राष्ट्र बैङ्कले कोटा तोकिदिएको छ।

यस्तो छ नयाँ नियम

५० ग्राम सुन विना भन्सार ल्याउन पाउने नियम यथावत छ। विभागले ५० ग्राम भन्दा थप २०० ग्राम सम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने तर त्यो भन्दा बढी ल्याएमा बढी परिणाम जफत गर्ने गरेको छ।

व्यक्तिगत प्रयोगको सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम एक सय ग्रामसम्मलाई भन्सार महसुल लिएर भित्र्याउन पाइने तर त्यो भन्दा बढी ल्याए जफत गरिने निर्णय गरेको थियो।

१७ मंसिर, २०७८, १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।