त्रिविमा विद्यार्थीको अलग-अलग तालाबन्दी : पदाधिकारीको निर्देशनमा तालाबन्दी भएको आंशिक प्राध्यापकको आरोप

त्रिविमा  विद्यार्थीको अलग-अलग तालाबन्दी : पदाधिकारीको निर्देशनमा तालाबन्दी भएको आंशिक प्राध्यापकको आरोप

काठमाडौँ : करार उपप्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णयको विरोधमा त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल छैटौँ, अखिल (क्रान्तिकारी) समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति टाँस्दै त्रिवि उपकुलपति कार्यालय, रजिस्ट्रार कार्यालय र कोषाध्यक्षको कार्यालयमा तालाबन्दी गरेका हुन्।

विज्ञप्तिमा ‘मङ्सिर १४ गते करार उपप्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णयप्रति त्रिवि संयुक्त विद्यार्थी सङ्गठनले आपत्ति जनाउँछ। नियमित खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक छनौट गर्नुपर्नेमा चोर बाटोबाट उपप्राध्यापक नियुत्ती गर्दा विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किएको सबैलाई थाहै छ। विश्वविद्यालय धराशायी बनाउने यस्ता नीति क्रियाकलाप बन्द गरी स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्दछौँ।’

विद्यार्थीहरूले करार प्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णय तत्काल स्थगित गर्नुपर्ने, खुल्ला प्रतिस्पर्धाको छनौट प्रक्रिया तोकिनुपर्ने, आंशिक प्राध्यापकलाई स्वतः करार गर्ने प्रक्रिया त्रिविले अघि बढाइरहेको हुँदा रोकिनुपर्ने, शैक्षिक क्यालेन्डर अनुसार काम हुनुपर्ने र स्ववियु चुनाव फागुन १४ गते गराउनु पर्ने माग राखेका छन्।

अखिलले किन लगायो सुरुमै ताला ?

एमालेको भातृ सङ्गठन अनेरास्ववियुले पटक-पटक भनिसक्यो कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने। यस अघि अन्य विद्यार्थी सङ्गठनले त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरे पनि तालाबन्दी नगर्न सुझाव दिन्थ्यो अनेरास्ववियुले।

तर बिहीबार त्रिविमा तालाबन्दी गर्नेमा संयुक्त विद्यार्थी सङ्गठन भन्दा अनेरास्ववियु अगाडि सर्यो। आफ्नो वाचाबाट आफैँ किन पछि हटेको भन्ने प्रश्नमा अखिलकी अध्यक्ष सुनिता बराल त्रिवि सिनेटको निर्णयले ताला लगाउने बाध्यतामा पुगेको उनको तर्क गरिन्।

उनी भन्छिन्,‘त्रिविमा ताला नलगाउने अनेरास्ववियुको निर्णय नै थियो। तर मङ्सिर १४ गते बसेको सिनेट बैठकले विना प्रतिस्पर्धा करार उपप्राध्यापकलाई स्थायी गर्ने भएपछि हामी ताला लगाउन बाध्य भएका हौँ।’

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना पनि करार प्राध्यापकलाई स्थायी गर्ने निर्णयले खुल्ला प्रतिस्पर्धा गर्ने ढोका बन्द गरेको उनले बताए। ‘खुल्ला प्रतिस्पर्धाबाट बर्सेनि मागोस् न उपप्राध्यापक किन माग्दैन त्रिवि ?,’उनले भने, ‘करारलाई स्थायी गराउने निर्णयले हाम्रो विश्वविद्यालयको साख गिरेको छ।’

त्रिवि पदाधिकारीको निर्देशनले तालाबन्दी भएको आंशिकको आरोप

मङ्सिर १२ गतेदेखि त्रिवि उपकुलपति कार्यालयमा आन्दोलित छन् आंशिक प्राध्यापक। आंशिक प्राध्यापक सङ्घर्ष समितिका प्रवक्ता एलवि विष्टले त्रिवि पदाधिकारीको निर्देशनमा विद्यार्थीले तालाबन्दी गरेको आरोप लगाए।

विद्यार्थीका मागहरूको बुँदा नम्बर तीनमा आंशिक प्राध्यापकलाई स्वतः करार गर्ने प्रक्रिया अघि बढेकाले सो प्रक्रिया लागु नगर्न उल्लेख छ। यो बुँदा विद्यार्थी सङ्गठनहरूले त्रिवि पदाधिकारीको निर्देशनमा राखेको आरोप विष्टले लगाए।

‘विद्यार्थी सङ्गठन उचालेर हामीलाई कमजोर बनाउन खोजिएको छ,’ उनले भने, ‘इँटको जवाफ इँटले पत्थरको जवाफ पत्थरले दिन हामीलाई पनि आउँछ। हाम्रो माग पूरा नभएसम्म हामी विरोध गरिरहन्छौँ।’

आंशिक प्राध्यापक सङ्घर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले आफूहरूको माग समान काम समान ज्याला र २०७४ मङ्सिर ८ गते तत्कालीन प्रधानमन्त्री एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएको १ हजार ४ सय २० आंशिक प्राध्यापकलाई स्वतः स्थायी गर्ने निर्णय लागू गर्न माग गरेको उनले बताए।

‘विद्यार्थी सङ्गठनहरूले हामीलाई करारमा लैजाने हल्ला चलेको आधारमा सो हुनुहुँदैन भनेर आफ्नो विरोध पत्रमा लेखेका छन् हाम्रो माग स्थायी गर्ने हो करार होइन,’लिम्बुले भने, ‘करिब २ हजार आंशिक प्राध्यापकले गरेको काम अवमूल्यन विद्यार्थीले कसैको उक्साहटमा गरिरहेका छन्।’

त्रिविमा संयुक्त विद्यार्थी सङ्गठनले एउटा ताला र अनेरास्ववियुले अर्को ताला लगाएको छ। त्रिवि पदाधिकारीलाई सिनेटको निर्णय चित्त नबुझेकाले  अनेरास्ववियुलाई ताला लगाउन लगाएको र अन्य विद्यार्थी सङ्गठनले ताला लगाएको आफूले थाहा पाएको त्रिविका एक कर्मचारीको दाबी छ।

‘करार प्राध्यापकलाई स्थायी गर्ने कुरा त्रिवि पदाधिकारीलाई पहिले देखि नै मन परेको थिएन,’ ती कर्मचारीले भने, ‘आंशिक प्राध्यापकहरूले आन्दोलन पनि गरिरहेका छन्। त्यसमाथि सिनेटको निर्णयले करारलाई स्थायी गर्ने निर्णय गर्यो। पदाधिकारीकै उक्साहटमा विद्यार्थीले तालाबन्दी गरेका हुन्।’

यसबारे अखिल र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष बराल र ढुङ्गानाको असहमति छ। अखिल अध्यक्ष बरालले मङ्सिर ८ गते नै करारलाई स्थायी नगर्न र आंशिकलाई स्वतः करारमा लैजान नमिल्ने भन्दै ध्यानाकर्षण गराएको बताइन्।

‘विभिन्न सूत्रबाट त्रिवि सिनेटले करार प्राध्यापकलाई स्थायी र आंशिक प्राध्यापकलाई केही समय पछि करार गर्छ भन्ने थाहा पाएका थियौँ,’उनले भनिन्, ‘उपकुलपतिज्यूलाई हामीले आठ गते नै ध्यानाकर्षण गराएका हौँ।’

१४ गते  बालुवाटारमा बसेको सिनेट बैठकले श्रेणिविहीन कर्मचारी र करारमा कार्यरत प्राध्यायपकहरुलाई ४ सय ८० जनालाई आन्तरिक प्रतिस्पर्धाबाट स्वतः स्थायी गर्ने निर्णय गरेको थियो । त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सकिने निर्णय गरेको थियो।

त्रिवि शिक्षाध्यक्ष शिव भुसाल भने पदाधिकारीले निर्देशन दिएको भन्ने कुरा गलत भएको बताए। उनले भने, ‘त्रिवि पदाधिकारीले निर्देशन दिएको भन्ने कुरा कुनै सत्यता छैन,’उनले भने, ‘हामी अहिले बैठक बसिरहेका छौँ।’

१६ मंसिर, २०७८, १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।