लापरबाहीको हद: दरबन्दी स्वास्थ्य चौकीमा, काम गाउँपालिका कार्यालयमा

लापरबाहीको हद: दरबन्दी स्वास्थ्य चौकीमा, काम गाउँपालिका कार्यालयमा

धनगढीः आजभन्दा ठीक दुई महिनाअघि उकेराले 'अस्पतालमा न स्वास्थ्यकर्मी न सिटामोल !' शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचारमा कैलालीको चुरे गाउँपालिका-१ किम्तोलामा रहेको निगाली स्वास्थ्य चौकीमा चिकित्सको अभाव, औषधिको अभाव जस्ता विषय उठान गरिएको थियो। 

तर दुई महिनापछि उकेराकर्मीले 'फलोअप' गर्दा समेत अवस्था सुध्रिएको देखिएन। बुधबार स्वास्थ्य चौकीकी कार्यालय सहयोगी लक्ष्मी बम र गङ्गादेवी बम घाम तापेर बसिरहेका थिए। 

६ महिनादेखि अन्य स्वास्थ्यकर्मीहरू नफर्किएपछि स्वास्थ्य चौकीका प्रायः सबै कुर्सी खाली छन्। निगाली स्वास्थ्य चौकीमा हाल ६ जनाको दरबन्दी रहेको छ। 

तर, एक जना पनि स्वास्थ्यकर्मी छैनन्। औषधि ल्याउन ६ महिनाअघि गाउँपालिका कार्यालय गएका स्वास्थ्य चौकी इन्चार्ज विक्रम बोहरा अझै फर्किएका छैनन्। उनी गाउँपालिका कार्यालयमै कार्यरत छन्। 

सुत्केरी बिदामा बसेकी स्वास्थ्यकर्मी भूमा घिमिरे पनि अझै फर्किएकी छैनन्। सागर कार्की र लालीचन्द थारुले सरुवा लिइसकेका छन्।

‘हाकिम साहेब फर्केर आएनन्। सेवाग्राही आउँछन्, हेर्छन्, फर्किन्छन्’, कार्यालय सहयोगी गङ्गादेवी बमले भनिन्, ‘हामी कार्यालय कुरेर बसेका छौं। जानेको औषधी दिन्छौं। जटिल किसिमका बिरामी आए निजी क्लिनिकतिर जान भन्ने गरेका छौं।’

गाउँपालिका कार्यालयमै बसिरहेका बोहरा अहिले पनि स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारीमा छन्। ‘गाउँपालिकामा कर्मचारी अभाव भएर मेरो आवश्यकता परेकाले म यहीँबाट काम गर्दै छु। स्वास्थ्य चौकी प्रमुख म नै हुँ। करारमा राखेका कार्यालय सहयोगी र ल्याब असिस्टेन्ट त्यहाँ कार्यरत छन्', उनले भने। 

उनले आफूलाई जता खटाए, त्यतै खट्ने बताए।

निगाली स्वास्थ्य चौकीका लागि करारमा कर्मचारी राख्ने तयारी भइरहेको छ। ‘विक्रम गाउँपालिका कार्यालयमै खटेका छन्। हामी स्वास्थ्य चौकीका लागि करारमा कर्मचारी राख्दै छौं', गाउँपालिका अध्यक्ष धनबहादुर रोका मगरले भने, ‘बिहीबार अन्तर्वार्ता भइरहेको छ। दुई जना अहेब र दुई जना अनमी एक साताभित्र स्वास्थ्य चौकीमा खटिन्छन्।’

यसअघि स्वास्थ्य चौकीमा कार्यरत कसैले सरुवा लिएको र कोही बिदाबाट नफर्किएको उनले बताए। कर्मचारी आवश्यक भएकाले बोहरालाई गाउँपालिकामा खटाइएको अध्यक्ष मगरले बताए।  

'विक्रम गाउँपालिका कार्यालयमा भए पनि स्वास्थ्य चौकी प्रमुखको भूमिकामा छ, ऊभन्दा माथिल्लो पोष्टको कोही आएमा स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी पाउँछ, नभए उचित समयमा हामी विक्रमलाई नै स्वास्थ्य चौकीमा खटाउँछौँ', उनले भने। 

१६ मंसिर, २०७८, ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।