नगरपालिकाले दियो नदीमा डोजर चलाउने अनुमति, रानीघाट क्षेत्र बगाउने जोखिम

नगरपालिकाले दियो नदीमा डोजर चलाउने अनुमति, रानीघाट क्षेत्र बगाउने जोखिम

सुर्खेत : भेरी नदीमा जथाभावी बालुवा, ढुंगा उत्खनन् गर्दा वीरेन्द्रनगर-२ मा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र रानीघाट जोखिममा पर्दै गएको छ। 

वीरेन्द्रनगर नगरपालिकाले रानीघाट मन्दिर क्षेत्रसँगै जोडिएको भेरी नदीमा बालुवा, ढुंगा उत्खनन् गर्न अनुमति दिएको छ। ठेकेदार कम्पनीले डोजर लगाएर बालुवा-ढुंगा निकाल्न थालेपछि रानीघाट क्षेत्र जोखिममा परेको भन्दै स्थानीयले विरोध जनाएका छन्।

धार्मिक क्षेत्र रानीघाटको क्षेत्रभित्र उत्खनन् गर्नेगरी नगरपालिले ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता गरी काम गर्ने अनुमति दिई धमाधम डोजर लगाएर बालुवा, ढुंगा निकाल्न थालिएको विश्वेश्वरनाथ शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रजित थापाले बताए।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भएको व्यवस्थापन समितिको विधानमा पूर्वमा ५०० मिटरसम्म चोक्टे, उत्तरमा जनकल्याण सामुदायिक वनतर्फ २०० मिटर, पश्चिममा गरिघाट खोला र दक्षिणमा भेरी नदी भनेर चार किल्ला उल्लेख गरिएको छ। उनका अनुसार रानीघाट पर्यटकीय क्षेत्रको विषयमा डिपिआर समेत बनिसकेको छ।

तर, दक्षिणमा रहेको भेरी नदीमा उत्खनन् गर्न थालेपछि वर्षायाममा नदीको बहाव बढेपछि नजिकैको मन्दिर नै भत्किने जोखिम रहेको थापाले बताए।

‘धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको रानीघाट मन्दिर क्षेत्रभित्र नै नगरपालिकाले ढुंगा, बालुवा उत्खनन् गर्ने अनुमति दिएपछि यो सम्पदा नै नास हुने अवस्थामा छ,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले भने, ‘नगरपालिकाले पनि यो धार्मिक क्षेत्रको विषयमा ख्याल नराखी भेरी नदीभरि उत्खनन् गर्न पाउने भनेर सम्झौता गरेको छ। यो सम्झौता खारेज हुनुपर्छ।’

नगरपालिकाले रोयल विल्डर्स नामक वीरेन्द्रनगर-३, सुर्खेतको ठेकेदार कम्पनीलाई वीरेन्द्रनगर क्षेत्रभित्र पर्ने भेरी नदी, गिरीघाट खोला, झुप्राखोलाबाट उठाउन मिल्ने नदीजन्य पदार्थ संकलन गर्न पाउने भनी कार्य आदेश जारी गरेको छ।

आगामी जेठ मसान्तसम्म कार्य सम्पादन गर्न कार्य आदेश दिइएको पत्रमा वीरेन्द्रनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले हस्ताक्षर गरेका छन्।

साथै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कायर्यालयलाई समेत पत्रमा बोधार्थ राखिएको छ ।

धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र र बस्तीलाई असर नपर्ने गरी नदीजन्य पदार्थको उत्खनन् गर्ने भनेर स्पष्ट नीति भए पनि नगरपालिकाले त्यसको कुनै वास्ता नगरी मनोमानी रुपमा ठेकेदार कम्पनीलाई कार्यआदेश दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले आरोप लगाए।

‘यहाँ त नगरपालिकाले पूरै सेटिङ मिलाएको छ। हामी यहाँको धार्मिक पर्यटकीय क्षेत्र बचाउने अभियानमा छौं। अरुसँग हात थापेर महायज्ञ लगाएर संरचना बनायौं,’ उनले भने, ‘धार्मिक क्षेत्रको संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भए पनि त्यसलाई बिर्सेर काम गर्दा यस्ता क्षेत्र संकटमा परेका छन्।’

यता ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधि सम्भु पन्तले भेरी नदीभरि बालुवा, ढुगा निकाल्ने अनुमति अनुसार नै काम गरेको बताए।

‘यो धार्मिक क्षेत्र संरक्षण गर्नु सबैको दायित्व हो। तर नगरपालिकाले नै बकैता कानुन अनुसार भेरी नदीभरि बालुवा, ढुंगा निकाल्न पाउने सम्झौता अनुसार नै काम गरेका छौं,’ उनले भने, ‘कुन स्थानमा उत्खनन् गर्ने भनेर स्पष्ट लेखिएको छैन। जहाँ बालुवा छ, हामी त्यहीँ निकाल्छौं।’

विगत दुई वर्षदेखि मन्दिर क्षेत्र नजिकै उत्खनन् गर्न नदिएर जोगाए पनि यो वर्ष भने नगरपालिकाबाट अनुमति ल्याएको भन्दै ठेकेदार कम्पनीले धमाधम मन्दिर नजिकैको भेरी छेउमा डोजर लगाएर बालुवा र ढंगा निकासी गर्दा आफूहरुको रोजीरोटी नै गुमेको स्थानीय कमलराज खत्रीले गुनासो गरे।

‘पहिला डोजर नहुँदा हामीले बिहानदेखि साँझसम्म हातले बालुवा निकालेर बेच्थ्यौं। मन्दिरदेखि टाढा मात्रै बालुवा निकाल्थ्यौं,’ खत्रीले भने, ‘अहिले त डोजर लगाउँछन्। हामीले कामै पाउँदैनौं। उनीहरुले डोजर हरेरै दिन बित्छ।’

यसरी डोजरले प्रत्येक साल नदी दोहन गर्दा एक दिन मन्दिर भएकै स्थानमा भेरी नदी पस्ने चिन्ताले पिरोल्ने गरेको मन्दिरकी पुजारी कालीनाथ यज्ञीले गुनासो पोखिन्।

‘मेरा श्रीमान्लाई यो मन्दिरमा बाजागाजाका साथ भित्र्याएर पुजारी राखेका हुन्। म पनि यही मन्दिरमा बस्न थालेको १८ वर्ष भयो,’ उनले भनिन्, ‘यो धार्मिक क्षेत्र भएका कारण बाहिरबाट धेरै मान्छे आउँछन्। मेला लाग्छ। अहिले जताततै डोजर लगाएर हैरान बनाएका छन्।’

१५ मंसिर, २०७८, १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।