अविश्वासमा सकियो एमालेको डिजिटल महाधिवेशन

अविश्वासमा सकियो एमालेको डिजिटल महाधिवेशन

चितवन : नेकपा एमालेले पार्टीको दसौँ महाधिवेशनमा डिजिटल मत परिणाम सार्वजनिक गर्यो। पहिलो डिजिटल महाधिवेशन भनेर उद्घोष गरेको एमालेको नेतृत्व चुन्न क्युआर कोड स्क्यान गरी प्रतिनिधि प्रवेश गराइयो। पर्चा-पम्प्लेट प्रयोग नगरिएको सफा महाधिवेशन बन्यो एमालेको। 

तर, महाधिवेशनको नयाँ नेतृत्व चयन प्रक्रिया भने कार्यतालिका अनुसार चलेन। निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिए पनि एमाले नेतृत्वले भोटिङ मेसिन टिमलाई शंकाको नजरले हेर्दै दु:ख मात्र दियो। 

१२ गते उपमहासचिव (उपाध्यक्षमा निर्वाचित) विष्णु पौडेलले पार्क सफारी होटेलमा केन्द्रीय सदस्यदेखि वर्गीय सङ्गठन र पदाधिकारीको सूचीमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नाम राखे। बाँकी ३०१ केन्द्रीय सदस्य र १९ पदाधिकारी नाम हातले टिपियो। सोही हस्तलिखित विवरण ओलीको कोर टिममा हेरफेर भयो। भोटिङ मेसिनको सफ्टवेयरमा विवरण अपलोड गर्न समेत हस्तलिखित विवरण दिइएको थियो। 

‘ब र व नमिल्ने, एउटा विवरण दिनुहुन्छ, अर्को चाहियो भन्नुहुन्छ,’ राम-लक्ष्मण भोटिङ मेसिनका आविष्कारक रामप्रसाद रिमालले उकेरासँग भने, ‘ब होइन व चाहियो, व होइन ब चाहियो भन्नुभयो।’ 

मत परिणाम औपचारिक घोषणा गर्न लाग्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सूची पाएनन्। पोखरेल, सुवास नेम्वाङ र अध्यक्ष केपी ओली छलफलमा रहे। उनीहरूबीच कानेखुसी भयो। ओलीले रोक्न निर्देशन दिए। पोखरेल एक छिन अलमलिए। त्यतिबेला देशभरका प्रायः मिडिया लाइभमा थिए। पोखरेलले कार्यकर्तालाई गीत गाउने, साहित्य रचना वाचन गर्ने अवसर दिने बताए। चुनावी परिणाम घोषणा गरेर बन्द सत्र समापन गर्ने कार्यक्रममा कार्यकर्ता र केन्द्रीय सदस्यलाई नचाइयो। 

१४ गते बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको समय तोकिएको थियो। मतदान सुरु भयो ४ बजे। करिब साढे १० बजे मतदान सकियो। तर एमालेको नेतृत्वमा रहेको आशङ्का र अविश्वासले मुचुल्का उठाएर १ बजे नै भोटिङ मेसिन टिमले सम्पूर्ण विवरण बुझाउन खोज्दा अनावश्यक काम लगाइयो। 

मत गन्दा समेत पदाधिकारीपिच्छे फरकफरक नतिजा अद्यावधिक गराइरहेका थिए। सूचनाको लागि सञ्चारकर्मीले आफ्नो आफ्नो स्रोत प्रयोग गरेका थिए। एमालेको निर्वाचन आयोगका पदाधिकारीहरू फरकफरक नतिजा दिइरहेका थिए। भोटिङ मेसिनका कर्मचारी भने सूचनामा नजिक पुग्थे। 

फाइनल नतिजा अघिल्ला विवरणभन्दा फरक आयो। केही मत खाली थियो। ‘नयाँ प्रणाली भयो, हामी अभ्यस्त हुन सकेनौँ,’ आयोगका सदस्य कमल पाठकले भने, ‘भित्र हामीलाई त अलमल भयो।’

भोटिङ मेसिनबाट मतदान गर्ने एमालेका मतदातालाई पर्याप्त प्रशिक्षण दिइएन र दिन आवश्यक ठानिएन। 

‘हामीले साँढे ३ बजे परिणाम उहाँहरूलाई बुझाएका हौँ। मेसिनबाट आएको विवरण हामीले बुझायौँ। त्यसमा कसले जित्यो कसले हार्यो भन्ने विवरण आफैँ गर्छौँ भनेर लैजानु भयो,’ वैज्ञानिक रिमाले भने, ‘पछि नतिजा आएकै रहेनछ, गर्नु नै भएनछ भन्नुभयो।’ 

एमालेले धेरै जान्ने भएर आफैँ नतिजा निकाल्छु भन्यो। पछि काम नै पूरा नगरेको भनेर भोटिङ मेसिन व्यवस्थापन टिमलाई आरोप लगायो। 

‘उहाँहरूको तयारी केही थिएन, के गर्ने कसो गर्ने सामान्य तयारी पनि थिएन,’ मेसिन व्यवस्थापनका एक कर्मचारीले भने, ‘बिचरा बुढाहरू। युवा जमात पो प्रविधि जान्न मन गर्छन्।’ 

निकै रस्साकस्सी पर्यो नामावली राख्ने समयमा। डिजिटल महाधिवेशन भनेर राम्रो हाइट कमाएको थियो। नामहरू डिजिटल दर्ता थियो। ‘दर्ता गराउन हातले लेखेर ल्याउनुभयो। फेरि एक्सेल फाइल ल्याइनुभयो। त्यहाँ भएको नाम अक्षरशः चाहियो भन्नुभयो,’ एमाले नेतृत्वले हेपेको व्यवहार गरेको एक कर्मचारीले बताए। 

हरेक व्यक्तिको ४/४ पाना प्रिन्ट निकाल्न भन्नुभयो। ६९ वटा मेसिनको हरेक मान्छेको ४/४ पाना प्रिन्ट गरेर दिइयो सबैलाई। साँढे ३ घण्टा त्यसैले खाइदियो। आवश्यक नै थिएन त्यो। पार्टी प्रतिनिधि र हामी बसेर एक्सेलमा हालेर गरौँ भनेको कता कता डाइभर्ट भयो। 

‘डिजिटल भन्ने अनि किताबै छाप्ने यो त डिजिटल भएन बनेर हाँसो पनि गर्यौँ,’ ती कर्मचारीले भने। 

एउटा मेसिनको १२ वटा पाना प्रिन्ट गरियो। छाप्नै नपर्ने छापियो। सबै मेसिनको गरी ३ हजार ३१२ पाना छापियो। जबकी २ पानामा सबै मेसिनको हिसाब (मत परिणाम) आउन सक्थ्यो। 

भोटिङ मेसिनका कर्मचारी भन्छन्, ‘मत आउने बेलामा एउटा पक्षको कम रहेछ। के भन्छन् भन्ने हिसाबले निर्वाचन समिति आत्तिएको हो कि कुरो बुझ्न सकिएन। हाम्रो काम त दूधको दूध पानीको पानी हो। त्यस्तो हामीलाई मतलब भएन। २/३ पक्ष थिए। कहिले २ वटा प्रिन्ट दिन भन्नुहुन्छ कहिले ३ वटा प्रिन्ट दिन भन्नुहुन्छ।'

अरूलाई आरोप लगाउने भन्दा पनि आफूहरूले समयमा निर्देशन नपाएको वैज्ञानिक रिमालले बताए। 

राम-लक्ष्मण रिमाल दाजुभाइ २ दिनदेखि निदाउन पाएका थिएनन्। साढे ६ बजेसम्म मत परिणाम आउन नसकेपछि उकेराकर्मी भोटिङ मेसिन भएको ठाउँमा पुग्दा मेसिन निकालिएको थियो। अनिँदा कर्मचारी सुस्ताइरहेका थिए। केही कर्मचारी भने एमाले नेतृत्वले मत परिणाम सहजै स्वीकार नगरेकोमा गुनासो गर्दै थिए। 

सामान प्याक गर्न हतारोमा रहेका उनीहरू भन्दै थिए, ‘खोई के गर्या के, ओ साथी कमरेड छिटो गरन यार।’

१५ मंसिर, २०७८, ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।