म्युजिक भिडियोमा लगानी : बुढेसकालमा रेभिन्यु आउने आस

म्युजिक भिडियोमा लगानी : बुढेसकालमा रेभिन्यु आउने आस

फिल्म तथा म्युजिक भिडियोका निर्देशक सुब्रतराज आचार्य रेभिन्यु लिन एक युट्युब च्यानलमा पुगे। उनका चार वटा म्युजिक भिडियोको भ्युज हिसाब गरियो। भिडियो सार्वजनिक भएको दुई महिनामा चारै वटाको भ्युज गन्दा झन्डै २० लाख पटक हेरिएको रहेछ।

२० लाख भ्युजको रेभिन्युको हिसाबकिताब भयो। चार वटा म्युजिक भिडियोको रकम निकै होला भन्ने आस उनले गरेका थिए। नतिजा निस्कँदा छाँगाबाट खसेजस्तै भए। उनको खल्तीमा चार वटा म्युजिक भिडियोको युट्युब रेभिन्यु आयो जम्मा ३५ हजार। युट्युबले दिएको यो रेभिन्यु रकम एक प्राविधिकको तलब हो।

केही दिनअघि आँचल शर्मा अभिनीत ‘झ्याई झ्याइँ पञ्चे बाजाले’ नामको म्युजिक भिडियो सार्वजनिक भयो। राइजिङ मलमा रहेको क्युज सिनेमामा प्रिमियर गरेर म्युजिक भिडियो सार्वजनिक भएको घोषणा गरिएको थियो। निकै हिट गीतहरू दिइसकेको नेस स्टुडियोले गीत सार्वजनिक गरेको थियो।

म्युजिक भिडियो घोषणा कार्यक्रमको खर्च ७० देखि ७५ हजार रहेको यस कार्यक्रमका मिडिया संयोजक प्रभात लामाले जानकारी दिए। उनले भने, ‘एक घण्टाका लागि हल लिएर खाजा-नास्ताको व्यवस्था गर्दा मल्टिप्लेक्स हलहरूमा सस्तोमा ७० हजार त खर्च हुन्छ नै। हल मालिकको सम्बन्धको आधारमा केही छुट पनि पाइने उनले बताए। त्यसरी आधा छुट लिँदा पनि ५० हजार न्यूनतम खर्च हुन्छ,’ उनले भने।

करोड कटेका गीतले उठाउँछन् लगानी

एक महिनाअघि सार्वजनिक भएको म्युजिक भिडियो ‘रमरम मरौटी’ ले छोटो समयमै युट्युबमा एक करोड भ्युज पार गर्यो। खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र ओबी रायमाझीको अभिनय रहेको गीतको भिडियोलाई एक करोड बढी पटक हेरिएको हो। यो गीतको भिडियो ‘ओबी रायमाझी’को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

यो म्युजिक भिडियोले कति कमाइ गर्यो होला? लगानीकर्ता प्रिन्सेस खरेलले आम्दानी बताउन चाहेनन्। उनले आम्दानीमा एकरूपता नहुने भन्दै कुरा टारे।

उनले भने, ‘युट्युबमा राखेको एक महिनामै करोड भ्युज पाएका छौँ तर यसैको आधारमा मात्रै पैसा आउँदैन। कुन देशबाट हेरियो भन्ने हिसाब हुन्छ, कति पटक हेरियो मतलब हुँदैन।’ नेपाल जस्ता युट्युबमा दर्ता नभएका देशबाट जति नै भ्युज भए पनि पैसा नउठ्ने उनले बताए।

यही वर्ष करोडको भ्युज पाएको ‘पिपल छेउमा बर’ म्युजिक भिडियोले भने एक वर्षमा झन्डै पाँच लाख कमाइ गरेको गायक विमल अधिकारीले बताए। उनले भने, ‘गीत एक वर्ष पुग्दा एक करोड भ्युजमा गयो र यसले पाँच लाख कमाइ गर्यो। हिसाब गर्दा गीतले अझै लगानी उठाएको छैन।’

लगानीकर्ताको बुढेसकालमा रेभिन्यु आउने आस

निर्देशक तथा लगानीकर्ता सरोज ओलीले राजनराज शिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको ‘मायालु तिमी कता छौ’ बोलको गीत किने। त्यसको म्युजिक भिडियोमा निकै चलेका कलाकार कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्मालाई नचाए। म्युजिक भिडियो निकै मिहिनेतका साथ बनेको छ। यो गीतको म्युजिक भिडियो बनाउन ओलीलाई झन्डै १६ लाख लगानी लाग्यो।

दुई वर्षअघि यो म्युजिक भिडियो बन्दा सबैभन्दा धेरै खर्चमा बनेको म्युजिक भिडियो यही थियो तर अहिले भने यसको लगानीलाई उछिन्ने धेरै म्युजिक भिडियो बनिरहेका छन्।

गीत बनेर युट्युबमा राखेको दुई वर्षमा बल्ल गीतले लगानी उठाएको ओलीले बताए। उनले भने, ‘अहिलेसम्ममा म्युजिक भिडियोले लगानी उठायो, अब आउने रेभिन्यु नाफा हो।’ उनले आफ्नै च्यानलमा गीत हालेपछिको रेभिन्युले बुढेसकाल राम्रोसँग चल्ला भन्ने आशा पनि व्यक्त गरे।

फोर के क्यामरा प्रयोग गरेर, सुन्दर स्थान खोजेर, महँगो पारिश्रमिक कलाकारलाई दिएर, गीत-संगीतदेखि शब्दसम्म किनेर एउटा म्युजिक भिडियो बनाइन्छ। आजभोलि बन्ने गरेका सामान्य म्युजिक भिडियोको लगानी पनि पाँच लाखभन्दा बढी पर्छ। राम्रो गुणस्तर, चलेका कलाकार लिएर म्युजिक भिडियो बनाउने हो भने त त्यसको लगानी १५ देखि २०/२५ लाखसम्म हुन्छ। फिल्मका गीतहरूमा त ५० लाखसम्म खर्च गरेको सुनिन्छ।

अर्काको सम्पत्ति निःशुल्क प्रयोग गर्नु राम्रो हैन

म्युजिक भिडियोका लगानीकर्ताहरू आफ्ना सिर्जना निःशुल्क बाँडिरहेका छन्। कलाको रोयल्टी लाग्छ, कपिराइट लाग्छ। गीतकार एवं फिल्म निर्देशक यादव खरेल भन्छन्, ‘खै हामी कस्तो समाजमा बाँचिरहेका छौँ। आफ्ना लेख-रचना निःशुल्क पढिदिनुस्, हेरिदिनुस् भन्दा लज्जा महसुस हुन्छ।’ अहिले आएको टिकटक भन्ने एपले त झनै नेपाली कन्टेन्टलाई रेभिन्यु समेत नदिने उनले सुनाए।

‘अर्काको सम्पत्ति बिना निःशुल्क प्रयोग गर्नु राम्रो हैन,’ खरेलले भने, ‘यसको छुट्टै मापदण्ड बनाएर आर्थिक उपार्जनको बाटोमा डिजिटल प्लेटफर्महरूलाई ल्याउन जरुरी छ।’

एक जना चलेकै कलाकार सामाजिक सञ्जालमा ‘गीतको कभर भिडियो बनाइदिनुस्, उत्कृष्ट बनाउनेलाई नगद पुरस्कार’ भन्दै हात जोड्दै गरेको भेटिएको उनले बताए। ‘आफूले बनाएका कुरामा अरूले नक्कल गरेर भिडियो बनाइदिए उल्टै पैसा दिने जमानामा के रोयल्टीको कुरा गर्नु,’ उनले भने।

युट्युब र स्पोन्सर बाहेक छैन कमाइको आस

दुई वर्ष अघिसम्म म्युजिक भिडियोले राम्रो भ्युज पाए कमाइ राम्रै हुन्थ्यो। कोभिड- १९ को समयमा म्युजिक भिडियोमा निकै सक्रिय निर्देशक आचार्यले भने, ‘तर अहिले युट्युबले पनि कर धेरै काट्न थालेको छ।’

म्युजिक भिडियो निर्देशक समाजका महासचिव समेत रहेका आचार्य अहिले भ्युज जति गए पनि कमाइ राम्रो नभएको बताउँछन्। ‘लगानी उठाउनै बर्सौँ कुर्नुपर्ने स्थिति छ,’ उनी भन्छन्।

तर, लगानी नउठे पनि नाम कमाउने लोभले म्युजिक भिडियो बन्न भने नछाडेको उनी बताउँछन्। उनी भन्छन्, ‘रोयल्टी माग्नुपर्ने ठाउँमा मेरो गीतको टिकटक बनाइदेऊ भनेर निर्माताले उल्टै पैसा दिन्छन्?’

सामाजिक सञ्जालमा स्पोन्सर गर्न समेत लाखौँ खर्च गरिने उनले बताए। ‘कतिपय गीतमा टन्नै भ्युज गएको हुन्छ। भ्युजले पैसा कमाउला भन्यो उल्टै त्यसलाई किन्न लगानी भएको हुन्छ,’ आचार्यले भने।

१५ मंसिर, २०७८, ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।