नेपालकै नमुना बेलबास-बेथरी सडक : कहाँ पुग्यो काम ?, कहिले बनिसक्छ ?

नेपालकै नमुना बेलबास-बेथरी सडक : कहाँ पुग्यो काम ?, कहिले बनिसक्छ ?

बुटवल : नेपालकै नमुना सडकका रुपमा परिकल्पना गरिएको बेलबास-बेथरी सडक निर्माण सुरु भएको पाँच वर्ष बितेको छ। आयोजना सुरु हुँदा संघीय सरकार माताहतमा रहेको यो सडक अहिले प्रदेश सरकार मातहतमा आएको छ। पछिल्लो समय यो सडक निर्माणको काम धमाधम भइरहेको छ।

तीन प्याकेजमा गरी कुल एक अर्ब ६७ करोडको लागतमा निर्माण थालिएको २२ किलोमिटरको सडक अहिले तीन वटै प्याकेजको काम जारी छ।

अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी पुग्न पूर्व-पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी बेलबास-बेथरी सडक आयोजना सुरु गरिएको थियो। बेलबास-बेथरी सडक बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुवैतिर दुई-दुई लेनको सडक र नहरको छेउछाउमा हरियाली सहितको उद्यान बनाउने योजना सहितको अघि बढेको नमुना सडक हो।

२०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसँग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना अबको एक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ।

२०७४ असार १० गते रमण कन्स्ट्रक्सनसँग सम्झौता भएपछि २२ किलोमिटर सडकलाई तीन प्याकेजमा बाँडिएको थियो। तीन प्याकेजमध्ये रमण जेजेसिसिएल जेभीले सबैभन्दा बढी ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ।

६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयाँमा सम्झौता भएको कम्पनीले ९५ प्रतिशत काम सम्पन्न गर्दा ५६ करोड ४३ लाख ४ हजार ५८१ रुपैयाँ भुक्तानी लगिसकेको छ। त्यस्तै रमण कन्स्ट्रक्सनले ९० प्रतिशत काम सम्पन्न गरेको सडक पूर्वाधार कार्यालय कपिलवस्तुले जनाएको छ।

३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौता भएको उक्त ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्दा २५ करोड ५७ लाख ९ हजार ६१८ रुपैयाँ भुक्तानी भएको छ।

सुरुमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले भने ४५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा ठेक्का पाएको यो कम्पनीले हालसम्म २२ करोड २१ लाख ५४ हजार ७१३ रुपैयाँ भुक्तानी लगेको सडक पूर्वाधार कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख जितेन्द्र रायमाझीले जानाकारी दिए।

सडक अधिकार क्षेत्रभित्र परेका निजी घर तथा जग्गा जमिनको मुअब्जा माग गर्दै काममा अवरोध तथा प्रदेश सरकारलाई ठेक्का हस्तान्तरण र साइट क्लियरेन्समा समस्या हुँदा समयमै सडक निर्माण सम्पन्न हुन नसकेको उनले बताए। सडक छेउ रहेका सिंचाइ कुलो विस्थापन भएको र सोको विकल्प माग गर्ने उपभोक्ताहरुबाट पनि काममा अवरोध हुँदा निर्माणमा बिलम्व भएको उनले बताए।

‘अहिले ३ वटै प्याकेजमा म्याद थप भई २०७८ चैत ३० सम्म कायम भएको छ। तर संघ सशर्त अनुदानबाट सञ्चालन भइरहेकाले यस आयोजनाको लागि माग अनुसारको बजेट नै प्राप्त भएको छैन,’ उनले भने।

२२ किलोमिटरको यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। त्यति मात्र हैन, प्रदेश सरकारले अगाडि बढाएको बेथरी-गुरबनिया-तुनिहवा-मझगावा-सेमरा-खैराघाट सडक र बेलबास-बेथरी सडक आयोजना सम्पन्न भएपछि रुपन्देही जिल्लाको पिछडिएको मर्चवार क्षेत्र नजिकको हुलाकी राजमार्ग र महेन्द्र राजमार्गसँग छोटो दूरीमा जोडिने सडक हो।

बुटवलको बेलवास झोलुंगे पुल चोकदेखि भैरहवा-लुम्बिनी सडकको बेथरीसम्म २२ किलोमिटर लामो यो सडकको बीचमा नहर छ। नहरको दुवैतिर हरियाली बनाउन ग्रिनेरी बेल्ट छ, त्यसको बाहिर सात/सात मिटर फराकिला सडक, त्यस बाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फुटपाथ समेत बन्नेछ। नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइने छ।

दुवैतिर सडक बत्ति र नहरको पानीतर्फ फर्काइएका रंगीन बत्तिले यो सडकलाई आकर्षक बनाउनेछन्। नहरमा पानीको मात्रा बढाई र लामो दूरीको र्याफ्टिङ वा बोटिङसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ।

 

१४ मंसिर, २०७८, ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।