कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि भन्छिन्- शेरबहादुर मेरो रोजाइमा छैनन्, बरु शेखर आकर्षक लाग्छन्

कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि भन्छिन्- शेरबहादुर मेरो रोजाइमा छैनन्, बरु शेखर आकर्षक लाग्छन्

नेपाली कांग्रेसकी नवनिर्वाचित महाधिवेशन प्रतिनिधि हुन् सिन्धुपाल्चोककी करिना पुरी। सम्भवतः उनी नेपाली कांग्रेसको सबैभन्दा कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्। हिजो आइतबार भएको अधिवेशनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं २ को महिलातर्फबाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भइन्।

नेपाली कांग्रेसको प्रचारप्रसार समितिको महिला विभाग सदस्य रहेकी उनी कराँते खेलाडी समेत हुन्। उनले इन्डोनेसियामा भएको खेलमा स्वर्ण पदक, मलेसिया र बंगलादेशमा कास्य पद हात पारेकी थिइन्। सिन्धुपाल्चोककै इन्द्रेश्वरी मावि नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष समेत भइसकेकी करिना पुरीसँग प्रजु पन्तले गरेको कुराकानीः 

राजनीति भनेको के हो? 
राजनीति भनेको परिवर्तनलाई आत्मसात गर्दै समाज चलाउने नीति हो। हरेक परिर्वतन राजनीतिबाट मात्रै सम्भव हुन्छ। कुन देशको राजनीति कस्तो छ भनेर त्यो देशको अवस्था हेरेर बुझिन्छ। राजनीति राम्रो भयो भने मात्र अन्य कुरा राम्रो हुन्छ भन्ने मलाई लाग्छ। समाजको हरेक कालखण्डमा हुने परिर्वतनलाई नेतृत्व दिने काम राजनीतिले गर्छ।

नेपालको अवस्था लथालिंग छ भनिन्छ। राजनीति बिग्रेर हो उसो भए ? 
राजनीति जसरी चल्नुपर्ने हो त्यसरी चल्न सकेको छैन। हामीले राजनीतिक परिर्वतन त गर्यौं तर संस्थागत गर्न सकेका छैनौं। समाजमा राजनीतिले धेरै परिर्वतन ल्याएको छ तर प्रणालीमा ढाल्न सकिएको छैन। राजनीति सुधार्नुपर्छ भन्ने लागेर नै म राजनीतिमा लागेकी हुँ। 

 

तपाईं नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनुभयो। कांग्रेसको वाद चाहिं के हो? 
नेपाली कांग्रेसको वाद समाजवाद हो। यसको व्याख्या त बिपी कोइरालाले गर्नुभएको छ। उहाँले २०१७ सालमा राजा महेन्द्रले कु गर्नुअघि समाजवादको सहज व्याख्या गर्दै प्रत्येक नेपालीको घर, गरेर खाने जग्गा, दूध खान गाई होस्, केटाकेटीले पढ्न पाउन्, बिरामीले उपचार पाउन् भन्नुभयो। अहिले हेर्दा केही कुरा बदलिए होलान् तर नेपालको निरपेक्ष गरिबी १८ प्रतिशत छ। आधारभूत आवश्यकता पूरा भएका छैनन् सबै नेपालीका। आधारभूत आवश्यकता पूरा हुनु नै समाजवाद हो। नेपाली कांग्रेसले परिकल्पना गरेको समाजवाद पनि यही हो भनेर बुझेकी छु। 

लामो समय कांग्रेस सत्तामा बस्यो। सबै नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्न सकेन। कांग्रेसले तपाईंले भनेको समाजवाद ल्यायो त? 
केही परिर्वतन त भएकै हुन्। कांग्रेसले क्रान्ति गर्दा र अहिलेको अवस्था हेर्दा समाज धेरै चेतनशील भइसकेको छ। शैक्षिक संस्था, स्वास्थ्य चौकी, यातायातको अवस्था त धेरै परिर्वतन भएको छ। तर जुन रफ्तारमा र जसरी समान ढंगले जानुपर्थ्यो, सो भएन। समतामुलक समाज निर्माण यो नेतृत्वले गर्छ जस्तो पनि लाग्दैन। 

तपाईं कुन नेताबाट प्रभावित हुनुहुन्छ, नेपाली कांग्रेसलाई चलायमन बनाउनसक्ने नेता को हो जस्तो लाग्छ? 
ठ्याक्कै भन्दा शेखर कोइराला आकर्षक लाग्छ मलाई। उहाँले कांग्रेसले अँगालेको वादलाई र प्रणालीलाई अघि बढाउन सक्नुहुन्छ कि भन्ने लाग्छ। 

भनेपछि तपाईंले सभापतिमा शेखर कोइरालालाई भोट हाल्नुहुन्छ? 
हाँस्दै..., त्यो त गोप्य मत भयो नि। 

तपाईंले सभापति छान्ने आधारहरु केके हुन्? 
नेपाली कांग्रेस भनेको प्रजातान्त्रिक शक्ति हो। नेपाली कांग्रेस नीति र विधिमा चल्नुपर्यो। राष्ट्रिय मुद्दामा पार्टीभित्र व्यापक छलफल हुनुपर्यो। मैले सभापति छान्दा जसले नीति र विधिमा चल्ने र राष्ट्रको नीति-नियम विकासका कुरालाई व्यापक छलफल गर्नसक्छ उही मेरो रोजाइ हुन्छ। ती भनेका युवाहरुको जोश र अग्रजहरुको विचारलाई समेटेर लैजान सक्ने व्यक्ति नै हुन्। 

शेरबहादुर देउवा तपाईंको रोजाइमा किन पर्नुभएन? 
अहिलेको पार्टी सभापति शेरबहादुर देउवा हो। चार वर्षमा हुनुपर्ने महाधिवेशन समयमा गर्न सक्नुभएन। केपी ओली प्रधानमन्त्री भएको बेला भएको भ्रष्टाचारदेखि विवादित नियुक्तिमा प्रतिपक्षीको भूमिका राम्रोसँग निभाउन सक्नुभएन। पार्टीलाई त लथालिंग बनाउनुभयो। भ्रातृ संगठन त यति बिजोग छ कि कुरै नगरौं। टीका लगाएर अध्यक्ष बनाउनुभयो। उहाँको समयमा कांग्रेसलाई चलायमन बनाउन सक्नुभएन। त्यसकारण उहाँ मेरो रोजाइमा हुनुहुन्न। 

तपाईंलाई कांग्रेसको मनपर्ने तीन चिज के हो?
एक, नेपाली कांग्रेस पार्टी र यसमा आबद्ध व्यक्तिहरु ‘रिजिड’ हुनुहुन्न। दोस्रो, नेपाली कांग्रेस प्रजातान्त्रिक शक्ति हो। यसले सबैको अस्तित्व स्वीकार्छ। अर्को, नेपाली कांग्रेस व्यवहारवादी पार्टी हो। 

कांग्रेसले सुधार्नुपर्ने तीन कुरा?
पहिलो त कांग्रेस विधान अनुसार चल्न सक्नुपर्यो। अन्तिम समयमा महाधिवेशन भएको हो  अहिले पनि। त्यसमा पनि निर्वाचन आयोगले ताकेता लगाउनुपर्यो। लोकतान्त्रिक पार्टीले महाधिवेशन स्वतः गर्नुपर्ने हो नि। आयोगले ताकेता लगाउनुपर्ने हो र? यो त लाजमर्दो कुरा भयो नि। अर्को हाम्रो सिद्धान्त र व्यवहार एकै हुनुपर्यो। सिद्धान्त सबैलाई समान गर्ने भन्ने छ तर व्यवहार त त्यो छैन। अर्को सबैलाई समेट्न सक्नुपर्यो। महिला, दलित, जनजाति, सीमान्तकृत, मधेसी सबैलाई। 

तपाईंको विचारमा नेकपा एमाले, माओवादी, जसपा कस्ता पार्टी हुन्?
तीनै पार्टी वामपन्थी विचारधाराका हुन्। कम्युनिस्टहरु मलाई अहंकारी लाग्छ, तानाशाही टाइपको। आफूले जे भन्यो त्यही ठिक हो, त्यही धु्रवसत्य हो भन्ने। मलाई यी तीनै पार्टी उस्तै लाग्छ। 

नेपाली कांग्रेसका सभापतिले पनि त पार्टीभित्र फरक विचार राख्नेलाई हप्काउनुहुन्छ नि?
त्यसैले त हामी युवा महाधिवेशन प्रतिनिधि भएर आएका छौं। केही समस्या छ अहिलेको नेतृत्वमा, हामी कांग्रेस बदल्न चाहन्छौं।

१३ मंसिर, २०७८, १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।