लालबाबु पण्डितकी श्रीमतीको गुनासो : ओलीले किक हान्नुभो

लालबाबु पण्डितकी श्रीमतीको गुनासो : ओलीले किक हान्नुभो

काठमाडौं : नेकपा एमालेका नेता लालबाबु पण्डितकी श्रीमती विमला महतले पार्टीको १०औँ महाधिवेशन प्रतिनिधि बन्न निकै प्रयास गरिन्। उनले स्थायी कमिटी बैठकले मनोनित गरेका १०३ जना प्रतिनिधिमा राखिदिन अनुरोध समेत गरिन्। तर उनको नाम परेन।

ललितपुरको गोदावरीमा भएको विधान सम्मेलनका प्रतिनिधिसँग विमलाले चितवनमा हुने महाधिवेशनको प्रचार गर्दै भोट मागेकी थिइन्। ‘विधान सम्मेलनमा लालबाबु पण्डितलाई भोट दिनुहोला भन्दा ओहो, उहाँलाई त उपाध्यक्ष बनाउनुपर्छ भनेका थिए, ’विमलाले उकेरासँग भनिन्, ‘केपी ओलीले पनि पार्टीमा तपाईँको उच्च मूल्यांकन हुन्छ भन्नुभएको थियो, तर अध्यक्षले त किक पो हान्दिनु भयो।’ 

उनी पनि केन्द्रीय महाधिवेशनमा चितवन पुगेकी थिइन्। उनले चितवनमा पनि श्रीमानलाई उपाध्यक्षमा भोट मागेकी थिइन्। ‘मैले भोट माग्दा लालुबाबु प्रतिनिधिको माझमा हाई-हाई हुनुहुन्थ्यो, ’उनले भनिन्, ‘काठमाडौँमा घर र कार नहुनेलाई किन हेर्नु भनेर होला अध्यक्षले सदस्यमा नाम राख्नुभयो, उहाँले अस्वीकार गरेर आउनुभयो।’ 

पण्डितले सचिव पदमा भए पनि चित्त बुझाउने ओलीलाई बताएका थिए। तर ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पण्डितको नाम सदस्यमा थियो। 

‘इमानदार मान्छेलाई पार्टीमा ठाउँ दिँदा रहेछन्, ’विमलाले भनिन्, ‘अब उहाँ साधारण सदस्य भएर देश र जनताको काम गर्नुहुन्छ।’ विमलाका अनुसार पार्टीको नवौँ महाधिवेशनमा उपाध्यक्ष लडे पनि पण्डितले १०औँ महाधिवेशनमा चुनाव भए उपाध्यक्षमा लड्ने सहमतिमा भए सचिवमा बस्ने तयारी गरेका थिए। 

तर, सदस्यमा बस् भनेपछि पण्डितले महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिई काठमाडौँ आएको उनले बताइन्। ‘उहाँ अरूले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौँमा घर र कार छैन,’ उनले भनिन्, बस र ट्याम्पो चढेर ठिङ्ग उभिने मान्छे देख्नु नपरोस् भन्ने ओलीलाई लागेको होला, होस् लागोस्।’ 

पण्डित २०७४ सालको निर्वाचनमा मोरङबाट कांग्रेसका डा. शेखर कोइरालालाई पराजित गर्दै सांसद पदमा निर्वाचित भएका थिए। 

तर, तिनै पण्डितले एमालेको दसौँ महाधिवेशन बहिष्कार गरेका छन्। ‘कसलाई भोट हाल्नु, सबै पद उहाँ (ओली) दिइसक्नु भएको छ,’विमलाले भनिन्, ‘मन दुख्छ नि, सधैँ एकनास त नहोला नि।’ 

नेकपा एमालेबाट २०५४ सालमा ललितपुरको सैंबु, भैंसीपाटीबाट निर्वाचित वडाअध्यक्ष समेत हुन् विमला महत।

१३ मंसिर, २०७८, १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।