वर्षाले अवरुद्ध चुरेका सडक अझै खुलेनन्, बिरामीलाई पिठ्युँमै बोकेर अस्पताल !

वर्षाले अवरुद्ध चुरेका सडक अझै खुलेनन्,  बिरामीलाई पिठ्युँमै बोकेर अस्पताल !

धनगढी : गत असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण कैलालीको चुरे गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भए। तर सडक अवरुद्ध भएको डेढ महिना पुगिसक्दा पनि सञ्चालन हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ।

चुरेबासीहरू खाद्यान्न लगायतका सामग्री मात्र होइन, बिरामीलाई पनि पिठ्युँमा बोक्नुपर्ने बाध्यतामा छन्। 

‘बुबा एक्कासि बेहोस हुनुभयो। सडक अवरुद्ध छन्। एम्बुलेन्स आउन सक्ने अवस्था छैन। स्टेचरको पनि पाएनौँ। चार जनाले काँधमा बोकेर सहजपुर लैजादैछौँ’, चुरे- १, अलाडका प्रशान्त बोहराले भने’, त्यहाँ उपचार सम्भव नभए धनगढी लैजान्छौँ।’

चुरेका गाउँपालिका- १ का सायल, बबैना, भासु र देशना, वडा नम्बर २ र ४ का खैरालाबासी र वडा नम्बर ६ का गजार, ढुंग्यानी, गौजेना, तितरे, बहुनपानी, आमपानी, गजार र गिथडाका स्थानीय बिरामी र दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोक्न बाध्य छन्।

सडक अवरुद्ध भएको एक महिना पुग्दा पनि सरोकारवाला निकायले सडक मर्मतमा चासो नदेखाउँदा ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य भइरहेको स्थानीय बताउँछन्।

‘गाउँमा पसल छैन। सडक अवरुद्ध हुँदा खैरालाबाट १८ किलोमिटर दक्षिणमा रहेको चौमाला बजारबाट खाद्य सामग्री चामल, दाल, नुन, तेल, चिनी, सोडा साबुन लगायतका दैनिक उपभोग्य वस्तु बोकेरै ल्याउने गरेका छौँ,’ गजेन्द्र बमले भने, ‘बालबालिकाको दैनिकी विद्यालयभन्दा पनि जीविकोपार्जनका सामग्री जुटाउनमै बित्न थालको छ।’

सडक अवरुद्ध नभएको बेला बस-जिपमा सामान मगाउँथ्यौँ। सडक अवरुद्ध भएपछि सवारी साधन चल्न पनि बन्द भए अनि साँझ-बिहानको हातमुख जोड्नको लागि भए पनि बच्चाहरुलाई खाद्य सामग्री लिन चौमाला बजार पठाउने गरेको छौँ,’ स्थानीय पदम साउदले भने, ‘हामी बुढापाकाहरू ज्याला मजदुरी गर्न जान्छौँ। बालबच्चालाई खाद्यान्नका सामग्री लिन चौमाला बजारमा पठाउँछौं। हामी साँझ काम सकेर घर पुग्छौँ, उनीहरू पनि रासन लिएर घर पुग्छन्। यसरी हाम्रा दैनिकी चलेको छ।’

अवरुद्ध सडक खुलाउनेतर्फ चुरे गाउँपालिकाले ध्यान नदिएको स्थानीयको आरोप छ। ‘अन्दाधुन्दै सडक काटियो। वर्षाले भत्किए। अवरुद्ध बनेको दुई महिना पुग्न लाग्यो तर अझै खुलाउन सकिएको छैन। के गर्दैछन् जनप्रतिनिधि? के गर्दैछन् प्रशासकीय प्रमुख र इन्जिनियर? सडकमा गाडी चलाउन हामीले अझै कति कुर्नुपर्ने हो?’ चुरे ६ गजारका भगवती ठगुन्नाले भने।

अवरुद्ध सडक खुलाउने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल पाण्डेय बताउँछन्। ‘हामीले सडक खुलाउन प्रयास नगरेका हैनौँ। चुरे गाउँपालिकाका प्रायः सडक अवरुद्ध भएका छन्। जेसिबी सडकमै छन्। काम भइरहेको छ। अबको एक साताभित्र पूर्ण रुपमा सडक खुल्छन्,’ पाण्डेयले भने।

१३ मंसिर, २०७८, १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।