चिकित्सकको सरुवापछि स्वास्थ्यमन्त्रीको आलोचना: ‘जहाँबाट नियुक्ति भयो त्यहींबाट रिटायर्ड हुने?' भन्दै गरे प्रतिप्रश्न

चिकित्सकको सरुवापछि स्वास्थ्यमन्त्रीको आलोचना: ‘जहाँबाट नियुक्ति भयो त्यहींबाट रिटायर्ड हुने?' भन्दै गरे प्रतिप्रश्न

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कर्मचारीहरू जुन ठाउँबाट नियुक्त भयो त्यही ठाउँबाट रिटायर्ड नहुने तर्क गरेका छन्। खतिवडाले केही दिनअघि आफ्नो तजविजी प्रयोग गर्दै कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको सन्दर्भमा यस्तो बताएका हुन्।

कर्मचारीको जिम्मेवारी हेरफेरप्रति प्रश्न उठ्न थालेपछि मन्त्री खतिवडाले सञ्चारमाध्यमलाई इङ्गित गर्दै 'किन एउटा मात्रै मान्छेप्रति चासो?' भन्दै प्रश्न समेत गरेका छन्।

विशेषगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई सार्क छयरोग तथा एचआइभी एड्स केन्द्र को प्रमुखको जिम्मेवारी दिइएको कुरा सार्वजनिक भएपछि कर्मचारी सरुवाको चर्को आलोचना भएको हो। दक्षिण अफ्रिकी तथा युरोपका विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र रूपमा फैलिरहेको सन्दर्भमा अनुभवी चिकित्सको सरुवा गर्न नहुने अधिकांशको तर्क छ।

यता मन्त्री खतिवडाले उकेरासँग कुरा गर्दै भने,‘जहाँ नियुक्ति भयो। आजीवन त्यहीं नै नियुक्ति पनि हुने, रिटायर्ड पनि त्यहींबाट हुने त हुँदैन नि।’ उनले प्रश्न गरे, ‘के हो? कुनै एउटा मान्छेको पछि, त्यही मान्छेको चासो चर्को छ।'

मन्त्री खतिवडाले अवसर नपाएका कर्मचारीलाई पनि काम गर्ने अवसर दिनुपर्ने तर्क गरे। उनले भने,‘अवसर दिने कुरा पनि हुन्छ। एउटा मान्छेले गरेपछि अर्को मान्छेलाई पनि चान्स दिनुपर्ने हुन्छ।'

स्वास्थ्य मन्त्री खतिवडाले करिब १४ जना कर्मचारीको जिम्मेवारी हेरफेर भएको पुष्टि गरे। जिम्मेवारी हेरफेरको निर्णय कहिले भएको हो भन्ने याद नभए पनि १० गतेको निर्णय भएको हुन सक्ने उनले बताए। मन्त्री खतिवडाले भने,‘मलाई १० गतेको निर्णय जस्तो लाग्छ।’

तर केहीको बाहेक कस्को कहाँ जिम्मेवारी हेरफेर भएको भन्ने नाम आफूलाई कण्ठ नभएको उनको तर्क छ। क–कस्को कहाँ–कहाँ जिम्मेवारी हेरफेर भयो भन्ने जिज्ञासामा मन्त्री खतिवडाले भने, ‘मलाई त्यो थाहा भएन। १२-१४ वटा गरेको। सचिवले गरेको कुरो हो। मलाई नामहरू कण्ठ पनि छैन। म कहाँबाट याद गर्न सक्छु।’

'जिम्मेवारी हेरफेरको निर्णय सचिवस्तरीय हो?' भन्ने अर्को जिज्ञासामा खतिवडाले भने,‘निर्णय मन्त्रीस्तरिय नै होला। तर, मलाई कहाँबाट सबै नाम याद हुन्छ त। सचिवले प्रस्ताव लिएर आए। मैले समर्थन गरें।’

मन्त्री खतिवडाले कर्मचारीको जिम्मेवारी हेरफेर हुनु सामान्य भएको तर्क गरे। उनले भने,‘सामान्य, यो त बिसौं चोटी भइरहेकै चिज हो नि त। प्रहरीको सरुवा हुन्छ। सीडीओको हुन्छ। अर्कोको हुन्छ। सबैको हुन्छ।’

कसको सरुवा कहाँ?
मन्त्रालय स्रोतका अनुसार टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्र को प्रमुखको जिम्मेवारी दिइएको छ। टेकु अस्पतालको निर्देशको जिम्मेवारी भने डा. मनिष रावललाई दिइएको छ।

तर, डा. बास्तोलाले भने आफ्नो जिम्मेवारी हेरफेर भएको विषयमा औपचारिक जानकारी नभएको बताए। उनले भने,‘मलाई केही थाहा छैन।’

यता मन्त्रालय स्रोतका अनुसार सरुवा नै गर्ने भए सार्क क्षयरोग केन्द्र नै सरुवा गर्न डा. बास्तोलाले मन्त्रीसँग इच्छा व्यक्त गरे अनुरुप नै उनलाई सरुवा गरिएको हो। तर, आफूले सार्क क्षयरोग केन्द्रमा सरुवा गरिदिनु नभनेको बास्तोलाले बताए।

उनले भने,‘कोभिडमा काम गरेको डाक्टर। जो आफ्नो घरमा बसेर काम गरेको छ। जान चाहन्छ होला? भगवान भरोसा। आई डण्ट नो।’

टेकुका तत्कालीन निर्देशक डा. सागरराज भण्डारी उमेर हदका कारण निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि डा. बास्तोला टेकुको निर्देशकको नियुक्ति भएका थिए। निर्देशकको नियुक्तिका लागि उनले निकै लबिङ गरेको चर्चा थियो। निर्देशक बन्नुअघि उनी टेकु अस्पतालकै प्रवक्ताको जिम्मेवारीमा थिए।

त्यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)की निर्देशक डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जानकारी दियो।

सो महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई महाशाखाविहीन बनाएको चर्चा छ। तर, जोशीले भने उकेरासँग कुरागर्दै जिम्मेवारी हेरफेर भएको बारे आफूलाई औपचारिक रूपमा जानकारी नभएको बताइन्।

प्रसूति गृहकी निर्देशक डा. मिश्रा मन्त्रालय आउने भएपछि प्रसूति गृहको निमित्त निर्देशकको जिम्मेवारी डा. आमिरबाबु श्रेष्ठलाई दिइएको मन्त्रालय स्रोत बताउँछ।

मन्त्री खतिवडाले प्रसूति गृहमा राम्रो काम गरेकी मिश्रालाई मन्त्रालयमा जिम्मेवारी दिइएकोप्रति कसैको चासो नभएको तर, व्यक्ति केन्द्रीत चासो भएको तर्क गरे। ‘प्रसूति गृहमा त्यति राम्रो काम गरेकी संगीता मिश्रा, त्यहाँबाट मन्त्रालयको सामान्य समन्वय शाखामा लगेको छु। त्यसमा कसैको चासो छैन’, मन्त्री खतिवडाले भने, ‘गुणराज लोहनी त्यति राम्रो डाक्टरलाई त्यति राम्रो प्रशासक भनेर सबैले तारिफ गरेको मान्छेलाई एउटा जिम्मेवारी दिएको छु। त्यसमा कसैको चासो छैन।’

त्यसैगरी मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी डा. तारा पोखरेललाई दिइएको मन्त्रालय स्रोतले बताएको छ। डा. पोखरेल सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशकको जिम्मेवारीमा थिए।

१३ मंसिर, २०७८, ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।