जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

धनगढीः पेशाले शिक्षक हुन्- डिल्लीराज जोशी। तर कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाका उनी शिक्षकभन्दा पनि आफूलाई कृषक भन्न रुचाउँछन्। 

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्। 

उनको फार्ममा बाह्रै महिना च्याउ उत्पादन हुन्छन्। तर माग धान्न हम्मेहम्मे पर्छ उनलाई। 

उनले उत्पादन गरेको च्याउ सुदूरपश्चिमका ९ वटै जिल्लामा बिक्री हुन्छ। डिल्लीराजलाई श्रीमती विष्णा जोशीले दह्रो साथ दिइरहेकी छिन्। 

स्नातकोत्तरसम्म अध्ययन गरेका जोशी दम्पती च्याउले दिने आम्दानीमा रमाइरहेका छन्। ‘आर्थिक रूपमा च्याउ खेतीबाट र सामाजिक रूपमा शिक्षण पेशाबाट आनन्द मिलिरहेको छ’, डिल्लीराजले भने।

१० हजार बाट व्यवसाय सुरु, मासिक डेढ लाख आम्दानी 
अध्ययनकै क्रममा काठमाडौंमा डिल्लीराजले केही समय च्याउ फार्ममा काम गरेका थिए। छोटो समयमै उत्पादन र मनग्य आम्दानी हुने देखेपछि उनी च्याउ खेतीतर्फ आकर्षित भए।

घर फर्केपछि उनले 'त्रिपुरा मसरुम एग्रो हर्बस फार्म' दर्ता गरेर परीक्षणस्वरूप १० हजारको लगानीमा आफ्नै खेतमा च्याउ खेती गर्न थाले।

‘च्याउ उत्पादन राम्रो भयो। मैले बजारमा लग्नै परेन ग्राहक यहीँ आएर किन्न थाले। कतिपय त च्याउ नपाएर रित्तो पनि फर्किन्थे। बढ्दो माग देखेर मैले च्याउका टनेल विस्तार गर्दै गएँ। अहिले १४ टनेल छन्’, जोशीले भने, ‘अझै पनि बजारको माग धान्न सकेको छैन।’

च्याउ खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका डिल्लीराजले दुई जनालाई पूर्ण र १७ जनालाई आंशिक रोजगारी समेत दिइरहेका छन्। 

‘स्वदेशमै मनग्य आम्दानी गरेर अरूलाई पनि रोजगारी दिन पाइएको छ। आफ्नो काममा सन्तुष्ट छु। खुशी लाग्छ’, जोशीले भने, ‘कम लगानी, कम समय र थोरै जमिनमा राम्रो आम्दानी हुन्छ।' 

उनी अब व्यवसायलाई थप अघि बढाउन च्याउका विभिन्न परिकार पाउने रेस्टुराँ खोल्ने योजनामा छन्।

१२ मंसिर, २०७८, १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।