एमाले पदाधिकारीमा महिला : सके ६ लिने, नदिए पाँचमै चित्त बुझाउने 

एमाले पदाधिकारीमा महिला : सके ६ लिने, नदिए पाँचमै चित्त बुझाउने 

चितवन : निर्वाचन आयोगले केन्द्रीय समितिमा एक तिहाइ महिला नभएसम्म दल दर्ता हुँदैन। एक तिहाइ केन्द्रीय सदस्यमा संवैधानिक ग्यारेन्टी भए पनि एमालेको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा एमाले नेतृहरूले पदाधिकारीमा एक तिहाइ हुनु पर्ने माग गरिरहेका छन्। 

विधान संशोधन गरेर पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको एमालेले पदाधिकारीमै एक तिहाइ महिलाको प्रतिनिधित्व भने अनिवार्य गरेको छैन। पदाधिकारी बढाएपछि सोही अनुपातमा पदाधिकारीमा महिलाको प्रतिनिधित्व हुनुपर्ने एमाले नेतृहरूको माग छ। 

एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र गोमा देवकोटाले दाबी गरेका छन्। उपाध्यक्षमै दाबी गरेकी शिवमाया तुम्वाहाङफेले केपी ओलीको तजबिजी मानेर सचिवमा चित्त बुझाउने सम्भावना रहेको छ। सचिवमा बिन्दा पाण्डे, सुजाता शाक्य, पद्मा शाक्यको चर्चा छ। उपाध्यक्ष र सचिव पदमा दाबी गरेका महिला नेतृत्वहरुले उम्मेदवारी दर्ता नै भने गरिसकेका छैनन्। 

२ उपाध्यक्ष र २ सचिव तथा स्थायी कमिटीमा महिला नेतृत्वलाई समावेश गराउने कुरा भइरहेको एमालेकी एक नेतृले उकेरालाई जानकारी दिइन। 

एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित र दशौँ महाधिवेशनमा पनि उपाध्यक्ष पद मै उम्मेदवारी दिने दाबी गरेकी अष्टलक्ष्मी शाक्यले पदाधिकारीमा एक तिहाइ महिला हुनुपर्ने माग गरिरहेको बताइन। 

‘मुख्य कुरा सहमति हुनुपर्यो। हामी हाम्रो मागमा यथावत् छौँ,’उनले भनिन्,‘पछि हट्ने कुरै छैन।’ 

एमालेको १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष  ६ जना उपाध्यक्ष निर्वाचित हुने गरी विधान संशोधन गर्ने निर्णय एमालेले गरेको छ। केन्द्रीय कमिटीको महासचिवमा १ जना, उपमहासचिवमा ३ जना, सचिवमा ७ जना रहने निर्णय केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको छ। 

बन्द सत्रले केन्द्रीय कमिटीको निर्णय अनुमोदन गरेसँगै ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न निर्वाचन हुनेछ। एमाले नेतृ सरिता दाहालले १९ जना पदाधिकारी हुँदा ६ जना महिला हुनु पर्ने बताइन।  

‘प्रतिस्पर्धामा आउने सबै महिला सक्षम छन्। पदाधिकारी १५ हुँदा महिला ५ जना हुनुपर्छ भन्ने थियो,’दाहालले उकेरासँग भनिन्,‘पदाधिकारी बढ्दा ६ हुनुपर्छ भन्ने छ।’

पदाधिकारी सङ्ख्या एक तिहाइ हुनुपर्ने पर्ने माग गरेका महिला नेतृहरू नेतृत्व सर्वसम्मत चयन हुनुपर्ने बताउँछन्। एमाले नेतृ सुशीला नेपालले आफू दुई कार्यकाल केन्द्रीय सदस्य भए पनि पदाधिकारीको आस नराखेको बताइन। ‘पार्टी जोगाउनु अहिलेको आवश्यकता हो,’नेपालले उकेरासँग भनिन्,‘नेतृत्व सर्वसम्मत हुनुपर्छ।’

एमाले नेता सुरेन्द्र पाण्डेले नेतृत्व चयनमा सहमति हुँदा पनि महिलाको कोटा नखोसिने बताए। उनले एमाले समावेशीको सवालमा अरू दल भन्दामाथि रहेका दाबी पनि गरे।

११ मंसिर, २०७८, १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।