प्रदेश १ को काँग्रेस सभापतिमा राजीव कोइराला उठ्दै, गुरुराज र अमृत पनि छन् आकाङ्क्षी

प्रदेश १ को काँग्रेस सभापतिमा राजीव कोइराला उठ्दै, गुरुराज र अमृत पनि छन् आकाङ्क्षी

इटहरी : नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशनको तयारी सुरु भएको छ।

प्रदेश अधिवेशनमा उमेद्धवारले आ–आफ्नो प्रचार अगाडी बढाएका छन्। मङ्सिर १६ र १७ मा हुने प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा अगाडी बढेसँगै उम्मेदवारहरू पनि देखिन थालेका छन्।

प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। संस्थापन इतर समूहबाट कोइरालाले उम्मेदवारी दिने तयारी गरेका छन्।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि इतर समूहबाटै उम्मेदवारी दिने चर्चा बढेका बेला कोइरालाले आफ्नो तयारी अगाडी बढाएका छन्।

शुक्रवार सुनसरी जिल्ला कार्यसमितिको उम्मेदवारी घोषणा सभाबाट कोइरालाले प्रदेश सभापतिमा उठ्ने बताए। सबैभन्दा धेरै प्रतिनिधिसभा जिताउने जिल्ला सुनसरी भएको आफू त्यही जिल्लाको सभापति भएकाले प्रदेशमा स्वाभाविक उम्मेदवारी रहने उनले बताए।

प्रदेश सरकारको सबैभन्दा ठुलो दलका नेता कोइराला मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए। संस्थापन लाइनको नभएकै कारण मुख्यमन्त्री बन्न नपाएका उनी प्रदेश सभापति हुने तयारीमा लागेका हुन्। प्रदेश भरी राम्रो प्रभाव बढाएका उनले भेटघाट र सम्पर्कलाई अगाडी बढाएका छन्।

दुई कार्यकाल सुनसरी जिल्ला सभापति भएका उनी भर्खरै सम्पन्न महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले निर्वाचित भए। सुनसरीका ३ वटा प्रतिनिधिसभामा काँग्रेसलाई विजयी गराएका उनी शालीन र लोकप्रिय नेताको रूपमा चिनिन्छन्। भर्खरै सम्पन्न प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इतर समूहको बाहुल्यता भएका कारण उनी प्रदेश सभापतिमा निर्वाचित हुने सम्भावना बढेको छ।

कोइराला हाल प्रदेश महाधिवेशन आयोजक समितिको प्रचारप्रसार विभाग प्रमुख हुन् । इतर समूहबाट उनी उम्मेदवार भए संस्थापन पक्षका अमृत अर्यालसँग प्रतिस्पर्धा हुने देखिएको छ। गुरुराजले उम्मेदवारी नछाडे त्रिपक्षीय प्रतिष्पर्धा हुँदा अर्याललाई सहज हुनेछ।

१० मंसिर, २०७८, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।