कर्णालीमा परीक्षा आउँदा पनि विद्यार्थीले पाउदैनन् पाठ्यपुस्तक

कर्णालीमा परीक्षा आउँदा पनि विद्यार्थीले पाउदैनन् पाठ्यपुस्तक

सुर्खेत : वीरेन्द्रनगर—३ की बिपना बादीले शिव माध्यमिक विद्यालय बाट कक्षा ५ पास गरिन्। उनले आन्तरिक मुल्याङकनका आधारमा कक्षा पाँच पास गरेकी हुन्। कोरोना भाइरसका कारण विद्यालयले जुम मार्फत पढाइ सुरु गरेको थियो।  

जुममा पढाइ हुँदा उनीसँग न त एन्ड्रोइड मोबाइल नै थियो नत घरमा इन्टरनेट नै। त्यसकारण उनले अनलाइन कक्षा पनि लिन पाइनन्। 

असार १ गतेदेखि विद्यालयमा भर्ना खुल्यो। उनी १० गते जाँदा किताब नै सकिएको भन्दै  विद्यालयले रित्तो हात घर फर्कायो।

उनले अर्को विद्यालयमा पढ्ने सोच गरिन्। वीरेन्द्रनगर—३ स्थित हरिडिलभूमी माध्यमिक विद्यालयमा भर्ना भइन् उनी। उक्त विद्यालयमा पनि उनले किताब पाउन सकिनन्। विद्यालयले अरू विद्यार्थीलाई बाँडेर सकिएको भन्दै नयाँ आएकालाई पछि व्यवस्थापन गर्ने भन्यो।

अहिले उनी बिना किताब विद्यालय गइरहेकी छन्। 

वीरेन्द्रनगरकी बिपना मात्रै होइन, कर्णालीका दुर्गम ठाउँका अधिकांश विद्यार्थीले किताब पाउन सकेका छैनन्। नयाँ विद्यार्थीलाई त झनै किताब पाउन सकस छ।  

हरेक वर्षको चैतमा विद्यालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र काठमाडौँलाई फ्ल्यास रिपोर्ट पठाइसक्नुपर्छ। अघिल्लो वर्षको रिजल्टको आधारमा केन्द्रले पाठ्यपुस्तकको ८५ प्रतिशत रकम स्थानीय तहलाई पठाउँछ। त्यसपछि स्थानीय तहले विद्यालयको खातामा पठाउँछ। सोही अनुसार विद्यालयले पनि पाठ्यपुस्तक खरिद गर्छ। 

भर्नाको समयमा विद्यार्थीहरू बाहिरबाट पनि आउने हुँदा किताब नपुग्ने गरेको शिव माध्यमिक विद्यालय वीरेन्द्रनगर—९ का शिक्षक नवराज घिमिरेले बताए।

‘विद्यालयले पठाएको फ्ल्यास रिपोर्टका आधारमा केन्द्रले ८५ प्रतिशत रकम पठाउँछ। विद्यार्थीहरू थपिन्छन्। पछि उनीहरूलाई पाठ्यपुस्तक पाउन समय लाग्छ’,घिमिरेले भने, ‘यो वर्षबाट त कोरोनाका कारण सबै शैक्षिक तालिका नै बदलियो त्यसकारण भर्ना पनि ढिला भयो। अहिलेसम्म भर्ना प्रक्रिया चलिरहेको छ। त्यसैले पाठ्यपुस्तकको अभाव भयो।’

पहिलो त्रैमासिक परीक्षा सकिएर पनि पुसको पहिलो हप्ता दोस्रो त्रैमासिक परीक्षा हुँदासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नभएपछि शैक्षिक सिकाइ नै प्रभावकारी नहुने उनले बताए।

पाठ्यपुस्तक अभाव हुन नदिन जुनसुकै बेला पनि विद्यालयले पठाएको रिपोर्ट अनुसार किताब पाउने व्यवस्था गर्नुपर्ने शिक्षक घिमिरेको भनाई छ।

जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रादेशिक कार्यालयका प्रमुख धन बहादुर केसी भने पाठ्यपुस्तक अभाव भएका ठाउँमा जानकारी आएसम्म पठाउने गरेको दाबी गर्छन्। 

किताब राख्नका लागि गोदामको अभाव भए पनि माग अनुसार काठमाडौँबाटै भए पनि कर्णालीका जिल्लाहरूमा पाठ्यपुस्तक पठाएको उनले बताए।

‘मुख्य कुरा हामीसँग ठुलो गोदाम छैन। चार हजार वर्ग फिटको गोदाम चाहिएको छ। यता कहीँ भेटाउन सकेको छैन। जग्गाको प्रक्रियाका लागि पनि धाउन थालेको तीन वर्ष भयो तर केही काम अगाडी बढ्न सकेको छैन’,प्रमुख केसीले भने, ‘कर्णालीका आठ वटा जिल्लामा २८ हजार सेट पाठ्यपुस्तक गइसकेका छन्। करिब तीन हजार स्टक छन्।’

गोदाम नभएका कारण आवश्यक पुस्तकहरू काठमाडौँबाट मगाउनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ ढिला हुने गरेको प्रमुख केसीले बताए।

उनका अनुसार रुकुमपश्चिम र सल्यान जिल्लामा नेपालगन्जबाट पाठ्यपुस्तक आउने गरेको छ।

९ मंसिर, २०७८, २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।