एमाले महाधिवेशन : कार्यकर्ताको चिन्ता दाउन्नेको सडक

एमाले महाधिवेशन : कार्यकर्ताको चिन्ता दाउन्नेको सडक

बुटवल : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा हुँदैछ। पाँच लाख कार्यकर्ता उतार्ने उद्घोष गरिएको एमाले महाधिवेशमा कति सहभागी हुन्छन् त्यो हेर्न बाँकी छ। तर महाधिवेशनमा सहभागी हुन आउने दाउन्ने पश्चिमका तीन वटा प्रदेशका कार्यकर्ताको मुख्य पिरलो भने दाउन्ने सडक यात्राको छ।

लामो समयसम्म जाम हुँदा यो सडक प्रयोग गर्ने प्रयोगकर्ताले सोचे जसरी यात्रा गर्न सक्ने छैनन्। निर्माणाधीन बुटवल-नारायणगढ सडकको दाउन्ने उकालो भएको र धेरै ठाउँमा एकतर्फी सवारी सञ्चालन हुने भएकाले महाधिवेशनका लागि आएका सवारी जाम भएर रोकिनुपर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छ।

धेरै जिल्लाबाट चितवनका लागि कार्यकर्ता आजै हिँडिसकेका छन्। भोलि दिउँसो १२ बजे उद्घाटन सत्र सुरु हुने भनिए पनि सडककै कारण समयमा नपुग्ने डरले दाउन्ने पश्चिमका अधिकांश जिल्लाका कार्यकर्ता, महाधिवेशन प्रतिनिधि आजै हिँडेको लुम्बिनी प्रदेशका प्रचार-प्रसार संयोजक झपेन्द्र जिसीले बताए।

दाउन्नेमा हुने सडक जामलाई मध्यनजर गर्दै आज साँझदेखि मालबाहक ट्रक, टिप्पर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ। 

पूर्वी र पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरुको नवलपुरमा सम्पन्न बैठकले बिहीबार साँझ ६ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि ठूला सवारी साधनको आवागमनमा रोक लगाएको हो।  

साँघुरो र उकालो सडक हुँदा पश्चिमतर्फबाट आउने सवारी बीचमै राकिने भएकाले ठूला सवारी साधनलाई आज बिहीबार साँझदेखि नै रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

पूर्व-पश्चिम भएर जाने सवारी साधनलाई बिहीबार साँझदेखि नै रुपन्देही र गैंडाकोटबाट रोक लगाइने छ। आवत-जावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकायका दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको मिश्रले बताए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगबहादुर थापाले उकालो ओरालोमा बिग्रेका गाडी तत्काल साइड लगाउन ठाउँ-ठाउँमा क्रेनको व्यवस्था गरिएको बताए। 

९ मंसिर, २०७८, १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।