सात जना महिलाको सामूहिक उद्यम : कोसेली घर

सात जना महिलाको सामूहिक उद्यम : कोसेली घर

धनगढी : धनगढी निवासी कृष्णा विष्टको दैनिकी फेरिएको छ। सधैं घरको काममा समय बिताउने उनी अचेल ‘हाम्रो कोसेली घर' मा व्यस्त देखिन्छिन्। 

ग्राहकलाई मन्द मुस्कानले स्वागत गर्दै कृष्णा झोलाभरि नेपाली पोशाकका सामग्रीसहित फर्काउँछिन्। सस्तोमा नेपालमै उत्पादित सामग्रीहरू किनमेल गर्न पाउँदा ग्राहक पनि मक्ख हुन्छन्।

कृष्णासँगै ७ जना महिला उद्यमीले डेढ लाखका दरले लगानी गरेर धनगढीमा हाम्रो कोसेली (घर) सप्लायर्स सञ्चालन गरिरहेका छन्। 

‘नेपाल घरेलु महासंघ अन्तर्गत हामी ७ जना महिलाले डेढ/डेढ लाख लगानीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर बिक्री कक्ष सञ्चालन गरेका छौँ। नेपाली सामग्री उत्पादन गरी बिक्री-वितरण गर्ने उद्देश्यले  सामूहिक रूपमा व्यवसाय सुरु गरेका हौं,’ कृष्णले भनिन्, ‘सबै उद्यमी महिलाको हौसला बढोस् भन्ने हाम्रो चाहना हो।’

महिला उद्यमीहरूले सञ्चालनमा ल्याएको कोसेली सप्लायर्समा घरेलु उत्पादनका सामान (दन, औलोको कोट, ढाकाका सबै कपडा, सालको दुना-टपरी, उनीका सामग्री, कुसन, बेत बाँसका सामग्री, ढाकाका टाई) उपलब्ध छन्। 

‘सबै सामान हाम्रा महिला दिदी–बहिनीले नै उत्पादन गर्नुहुन्छ। अहिले स्वदेशी उत्पादन हराउँदै गइरहेको छ। बजारमा नेपाली उत्पादनका सामग्री पाउनै समस्या छ। नेपाली उत्पादनको प्रवर्धनका लागि हामीले कोसेली घर सञ्चालन गरिरहेका छौं,’ उनले भनिन्, ‘एक महिना भयो। सुरु गरेको एक महिनामै ग्राहकको आकर्षण बढ्दो छ।’

घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिमकी अध्यक्ष रुकमणी देवकोटा बाहिरबाट आउने पाहुनालाई अब के दिने भनेर खोज्नुपर्ने बाध्यता कोसेली घरले अन्त्य गरेको बताउँछिन्। ‘व्यवसाय सञ्चालन गरेर हामी मात्र स्वरोजगार बनेका छैनौं, स्वदेशी उत्पादनको प्रवर्धन पनि गरिरहेका छौं,’ उनले भनिन्, ‘गरे के सम्भव छैन र? तर अझै पनि अधिकांश महिला घरकै चुल्हो-चौकोमा सीमित छन्। सानै उद्यमबाट पनि ठूलो क्रान्ति गर्न सकिन्छ। म सबै महिलालाई सिप सिकेर व्यवसाय सुरु गर्न आह्वान गर्छु।’

धनगढीबाट सुरु भएको कोसेली घरको शाखा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा विस्तार गर्ने उद्यमी महिलाको लक्ष्य छ। ‘हामी व्यवसायबाट सन्तुष्ट छौं’, कृष्णाले भनिन्, ‘स्वदेशी उत्पादन सबैले प्रयोग गरौं। हामी बेच्ने मात्रै हैन, कसैले कुनै चिज उत्पादन गरिरहनुभएको छ भने किन्छौं पनि।’

९ मंसिर, २०७८, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।