प्रदेश सभा सदस्य अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

प्रदेश सभा सदस्य अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

बुटवलः लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्याल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको प्रतिनिधिमा पराजित भएकी छिन्।
रुपन्देही –३ को प्रत्यक्ष महिला तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार अर्याल पराजित भएकी हुन्।

अर्यालले २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए। रामचन्द्र पौडेल समूहबाट मातृका प्रसाद यादव प्यानलकी अर्याल पराजित हुँदा देउवानिकट सुशील गुरुङ प्यानलकी अर्की प्रदेश सभा सदस्य पुष्पा थरुनी विजयी भएकी छिन्। थरुनीले ३ सय ९४ मत प्राप्त गरेकी छिन्।

४ जना प्रत्यक्ष महिला चुनिने पदमा यादव पक्षबाट ४ जना र गुरुङ पक्षबाट ४ जना गरी ८ जना महिलाहरूले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिएका थिए। जसमध्ये गुरुङ प्यानलका चारै जना विजयी भएका छन्।

पुष्पा थरुनीबाहेक जन्नतुन निशा धुनियाले ३ सय ३१ मत प्राप्त गरिन्। त्यस्तै बिना न्यौपानेले ३ सय ६९ मत र रमा कुमारी अधिकारीले ३ सय १५ मत ल्याएकी छिन्।

आफ्नै वडामा जनमत गुमाएकी अर्याल नेपाली कांग्रेस रुपन्देहीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद हुन्। पछिल्लो समय जिल्लामा कांग्रेसलाई कमजोर पार्न योजनाबद्धरूपमा लागेको आरोप उनीमाथि खाँण पक्षले लगाएको छ। 

९ मंसिर, २०७८, ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।