एमाले महाधिवेशन: गैंडाको मस्कटमा 'सेल्फी पोइन्ट'

एमाले महाधिवेशन: गैंडाको मस्कटमा 'सेल्फी पोइन्ट'

चितवनः नेकपा एमालेको शुक्रबारबाट सुरु हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार र सौराहा  क्षेत्रमा चहलपहल बढ्दो छ। एमालेको महाधिवेशन प्रतिनिधि पनि चयन गरी सकिएकाले विभिन्न जिल्ला, क्षेत्र, केन्द्रका नेतादेखि प्रतिनिधिहरू पनि आउने क्रम जारी छ।

यस्तै एमालेले १०औं महाधिवेशनका लागि गैंडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा अङ्कित मस्कट तयार पारेको थियो। मस्कट हाल तयार भइसकेको छ। एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार चितवन एकसिङ्गे गैंडाका लागि चर्चित भएकाले महाधिवेशनको लोगोमा पनि गैंडा नै राखिएको हो।

एमाले महासचिव ईश्वर पोखरेलले गत कात्तिक २६ मा गैंडाको मस्कट सार्वजनिक गरे यता मस्कटलाई लिएर खुबै चर्चा भएको थियो। अब भने गैंडाको मस्कटसँगै महाधिवेशन स्थलमा सेल्फी खिच्न पनि पाइने भएको छ।

नारायणी नदी किनारमा मञ्चको पश्चिमतर्फ मस्कट राखिने भएको छ भने सो स्थानमा सेल्फी पोइन्टहरू पनि निर्माण गरिएको छ। महाधिवेशनमा लाखौं नेता/कार्यकर्ताहरू सहभागी हुने भएकाले आकर्षणका लागि मस्कटसँगै सेल्फी पोइन्टहरू निर्माण गरिएको बताइएको छ। 

९ मंसिर, २०७८, ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।