पुँजीगत खर्च बढाउन नयाँ प्रणाली अपनाउनु पर्छ : अर्थमन्त्री शर्मा 

पुँजीगत खर्च बढाउन नयाँ प्रणाली अपनाउनु पर्छ : अर्थमन्त्री शर्मा 

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन नयाँ प्रणाली अपनाउनु पर्ने बताएका छन्। विद्यमान प्रणालीबाट नभए नयाँ प्रणाली अपनाउनुपर्ने अर्थमन्त्री शर्माको भनाई छ।

बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले नयाँ प्रणाली कस्तो भन्ने चाहिँ खुलाएनन्। 

विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने उनले बताए। ‘यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु,’उनले भने,‘अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ। खर्च चाहिँ जसरी पनि गर्नुपर्छ।’ 

मन्त्री शर्माले आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए। अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने उनको भनाई थियो। 

उनले कृषि विकास बैङ्कको नाम परिवर्तन गर्नुपर्ने बताए। लघुवित्तको ब्याज घटाएर एकल डिजिटमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैङ्कको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्ने मन्त्री शर्माले बताए। 

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए। उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको उल्लेख गरे। त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ थियो। 

८ मंसिर, २०७८, २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।