फ्लप हिरोइनको नखरै बढी

फ्लप हिरोइनको नखरै बढी

काठमाडौँ : गत सोमबार एभरेस्ट होटलको मुलायम कार्पेटमाथि फुल सजाइएको थियो। कार्यक्रमका आयोजकहरू कसैको प्रतीक्षामा थिए। केही समयमै घ्यु कलरको अलि असुहाउँदो पोसाकमा देखिइन् एलिजा गौतम। उनीसँगै थिए कुन्साङ बोमजन।

दुवै कार्यक्रम हलमा प्रवेश गरेपछि उनीहरूमाथि फुलको वर्षा भयो। उनीहरू हाँस्दै हलको बिचमा आइपुगे। हाफ कट पोसाकमा रहेकी एलिजाले कट भएको भाग खोज्दै अगाडि ल्याइन् अनि कपडा माथि सार्दै पोज दिन थालिन्। फोटो सेसन सकिएपछि उनी मञ्चमा पुगिन्।

कार्यक्रम थियो फिल्म घुइँचोको घोषणाको। एलिजा यसको नायिका अनि बोम्जनको नायकको रूपमा डेब्यु फिल्म। यी दुबैलाई कार्यक्रम हलमा भित्र्याउँदा चर्चित र सफल कलाकारको भान दिन खोजिएको थियो। यसको निर्देशन छन् दीपेन्द्र लामा।

कार्यक्रममा कसैले सोध्यो' कार्यक्रममा त हट भएर आउनु भयो। फिल्ममा कत्तिको हट हुनुहुन्छ ?' उनले अनकनाउँदै फिल्मको चरित्रबारे नबोलौँ क्यार भन्दै हट र कुल दुवै भएको बताइन्। अनि व्यक्तिगत जीवनमा चैँ कत्तिको हट हुनुहुन्छ भन्ने जिज्ञासामा उनले आफू कुल भएको बताइन्।

कार्यक्रममा मिसिङ थियो त एलिजाका श्रीमान् ऋषि धमलाको। अभिनय एलिजाको पेसा हैन रहर मात्रै हो। त्यही रहर पुरा गर्न उनले आफ्नै लगानीमा अनुराग फिल्म बनाएकी थिइन्।

फिल्म सफल बनाउन उनलाई उनका श्रीमानले हदै समर्थन गरे। नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्वार्ता बन्यो आफ्नै श्रीमान्ले आफ्नै श्रीमतीको लिएको अन्तर्वार्ता। फिल्मले पनि इतिहास कायम गर्यो सुपरडुपर फ्लप भएर। यो बिचमा उनले केही म्युजिक भिडियोमा काम गरेर अभिनयको रहर मेट्ने प्रयास गरिन्। तर अनुरागको अभिनयको छापले उनलाई दर्शकले त्यसरी फुलै बर्साएर स्वागत गर्नुपर्ने कोटीमा राखिसकेको देखिँदैन।

उनले कार्यक्रममा फिल्मको नाम झैँ हलमा दर्शकको पनि घुइँचो लगाउने दाबी त गरिन्। फिल्मका निर्देशक अनुभवी नै छन्। घामपानी जस्तो सफल फिल्म बनाएकै हुन् उनले। तर निर्देशक राम्रो छन् भन्दैमा ढुङ्गालाई बोलाउन त पक्कै सक्दैनन्।

यो बिचमा एलिजाले अभिनय कलामा चमत्कारीक सुधार नगरेको भए अनुरागको अभिनस्तरले त फिल्मको नाम घुइँचो हैन सुनसान राख्नुपर्ने जोखिम भने छ है।

८ मंसिर, २०७८, १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।