आम्दामा उपचार गर्दा भएको ‘गल्ती’ले ऋणमा डुबिन् तुलसी

आम्दामा उपचार गर्दा भएको ‘गल्ती’ले ऋणमा डुबिन् तुलसी

बुटवल : गुल्मी मालिका गाउँपालिका वडा नम्बर ७ घमिर अर्चेङकी तुलसी सुनारलाई १२ वर्ष अघि देखि पाठेघरको समस्या थियो। अघिल्लो फागुन १३ गते उनलाई पाठेघर अझ दुख्न थाल्यो। उनी उपचारका लागि बुटवलको आम्दा अस्पतालमा आइन। सामान्य परिवारकी तुलसीको आम्दामा उपचार सुरु भयो। उपचारकै क्रममा वैशाख ३० गते उनको पाठेघरको अप्रेसन भयो। पाठेघरमा घाउ रहेको भन्दै डाक्टरले उनको पाठेघर निकाले।

त्यसपछि उनी आम्दाबाट बुटवल बुद्धनगरमा रहेका ज्वाइँ राजु सुनारकोमा बसिन्। पिसाब रोकिएको थिएन। अप्रेसन गरेको घाउ भएकाले पिसाब नरोकिएको हो कि भन्ने लाग्यो उनलाई। १० दिन पर्खेर उनी गाउँ फर्किइन्।

गाउँमा बस्दा पनि उनको पिसाब रोकिएको थिएन। तर शरीर कमजोर भएकाले पिसाब नरोकिने भन्दै गाउँलेले उनलाई सुझाव दिए। तुलसीले पनि त्यही ठानिन् र पिसाब रोकिने पल कुरेर बसिन्। केही महिना गाउँमै बसिन्।

‘बुटवलबाट घर आएपछि पनि पिसाब रोकिएन। अप्रेसन गरेको घाउको पिडा त थियौ नै, त्यसमाथि पिसाब रोकिएन। पिसाब नरोकिएपछि ज्वाइँलाई अस्पतालमा बुझ्न पठाए, उनीहरूले बिरामी हेर्नुपर्छ बुटवल बोलाउनुस् भनेपछि फेरी बुटवल आए,’ उनले भने।

डाक्टरले बोलाएपछि तुलसी साउन ११ गते बुटवल आइन। डाक्टरले सलायन चढाए। केही औषधी पनि खुवाए। तर पनि पिसाब रोकिएन।

‘बेडमा म उपचारमा थिए। त्यहाँ भएका बिरामीहरूले पिसाब गन्हायो भनेर अन्यत्र सरे। तर मेरो पिसाब रोकिएन। डाक्टरले चासोले हेरेनन्,’ उनले भनिन्।

बुटवल ल्याएपछि मात्र थाहा भयो पाठेघर निकाल्नेक्रममा तुलसीको पिसाब नली नै काटिएको रहेछ। डाक्टरले पाठेघरको साइज ठुलो भएर नसा बाङ्गिँदा अन्जानबस काटिएको भन्दै बिरामीको आफन्तलाई जानकारी गराए।

‘नसा बाङ्गो भएर घुमेको र झुक्किएर नसा काटिएको रहेछ।  १ सय जनामा १-२ जनालाई यस्तो समस्या हुने डाक्टरले भन्नुभयो,’ तुलसीका ज्वाइँ राजु सुनारले भने।

अनजानमा पिसाबको नली काटिएपछि त्यसको उपचार अस्पतालमै निःशुल्क गरिने डाक्टरले भनेको उनले बताए। ‘तपाईँहरूले यही अस्पतालमा उपचार गर्नुहुन्छ भने पनि निःशुल्क हुन्छ। काठमाडौँ पाटनमा गए पनि निःशुल्क हुन्छ भन्नुभयो। पछि नर्सले पनि ठुलो अस्पताल पाटन भएकाले निःशुल्क हुने भए, जाने आउने भाडा मात्र खर्च हुने भएपछि हामीहरू काठमाडौँ जान तयार भयौ,’ उनले भने।

दोस्रो पटक आम्दामा ७ दिन बसेपछि काठमाडौँ जाने तयारी भयो। त्यो बेलासम्म तुलसीलाई २ लाख ऋण लागिसकेको थियो।

‘पैसा थिएन । काठमाडौँ जानुपर्ने भएपछि घरमा भएको लैनो भैँसी बिक्री गरेर ५० हजार लिएर गए,’ तुलसीले भनिन्।

काठमाडौँ जानासाथ तुलसीको दुरुविनको माध्यमबाट हेरेर अप्रेसन गर्नुपर्ने चिकित्सकले बताए। ७ दिन पछि बोलाए। उनीहरू बुटवल आए। फेरी ७ दिनमा गए, डाक्टरले १५ दिन पछि बोलायो। फेरी उनीहरू बुटवल आए।

‘काठमाडौँ बस्ने आफन्त थिएनन्। बुटवल ज्वाइँकोमा आउने जाने गरियो। त्यही गर्दा गर्दै भैँसी बिक्री भएको पैसा सकियो,’ उनले भनिन्।

१५ दिन पछि काठमाडौँ पाटन अस्पतालमा जाँदा डाक्टरले हेर्दा पिसाब थैली चुँडिएको बताए। भर्ना गर्नुपर्ने भयो। भर्ना गर्दा ६० हजार धरौटी अस्पतालले माग्यो। तर उनीहरूसँग थिएन। तुलसी भन्छिन्‘६० हजार धरौटी मागे।  हामीसँग थिएन। त्यही बेला म बिरामी भएको खबर सिलादी खोली खेतका सूर्य लम्सालले थाहा पाउनुभएछ। उहाँकै सहयोगमा भर्ना भए।’

सूर्य लम्सालकै सहयोगले उनको उपचार सम्भव भयो। अप्रेसनपछि आवश्यक औषधिको पैसा पनि लम्सालले विभिन्न अभियान सञ्चालन गरेर तिरेका थिए। काठमाडौँ २५ दिनको बसाई पछि तुलसी अहिले गुल्मी घमिर अर्चेङ छिन्। उनको घाउ अझै निको भएको छैन।

गाह्रो भयो खर्च धान्न

तुलसीको परिवारलाई बाहिरबाट हेर्दा जो कसैले पनि ‘आहा’ भन्ने खालको छ। तीन छोरा मध्ये जेठो दुर्गा विदेशमा छन्। माहिलो सागर भारतमा छन् भने कान्छो छोरा सूर्य नेपाल आर्मीमा। एउटी छोरी घरमै छिन्। तर यो पिडामा उनका श्रीमान् ज्ञान बहादुर सुनारले मात्र साथ दिए।

अहिले घर खर्च चलाउने मुख्य जिम्मेवारी ज्ञान बहादुर सुनारको काँधमा छ। दैनिक ज्यालादारी गरेर जसोतसो छाक टार्ने काम भएको छ।

उपचार नगर्ने डरले अस्पतालमा केही बोलेनन्

पिसाब नली काटिएको दोस्रो पटक बुटवल आएपछि तुलसीका परिवारले यसबारे अस्पताललाई केही भन्न सकेनन्। तर अस्पतालका डाक्टरले आम्दामै निःशुल्क उपचार हुने बताएको तुलसीका ज्वाइँ राजुले बताए।

‘डाक्टरबाट गल्ती भयो। तर फेरी हाम्रो उपचार हुँदैन कि भनेर हामी चुप भयौ। अहिले पनि बिरामीलाई सन्चो भइसकेको छैन। ऋणको भारी बोक्नुपर्ने स्थित आयो,’ उनले भने।

दोस्रो पटक बुटवल आउँदा अस्पताललाई नभन्दा आफूहरूले ठुलो गल्ती गरेको उनले बताए। ‘उपचार होस पहिले भन्ने ध्यान गयो। त्यही बेला भनेको भए केही हुन्थ्यो होला। तर अहिले पछुताउने, बिरामी लाई हेर्ने बाहेक केही गर्न सकिँदैन,’ उनले भने।

८ मंसिर, २०७८, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।