प्रेमी भनिएका प्रतापले गायिका प्रविशाको विवाहमा जब खुट्टा ताने

प्रेमी भनिएका प्रतापले गायिका प्रविशाको विवाहमा जब खुट्टा ताने

काठमाडौँ : गायिका प्रविशा अधिकारी र गायक प्रताप दासबिच प्रेम सम्बन्ध रहेको भन्दै निकै हल्लाहरू आए। युट्युब च्यानलहरूमा 'टप सिक्रेट अफ प्रविशा एन्ड प्रताप', प्रताप र 'प्रविशाको प्रेम कस्तो?',' प्रतापले बिहे गर्दा प्रविशालाई तनाव', अनि 'प्रेम गीतको नयाँ जोडी प्रविशा र प्रताप' जस्ता हेडलाइनमा यी दुवैको अन्तर्वार्ताहरू आइरहे।

यी दुवैको सम्बन्धलाई प्रेम सम्बन्धको अर्थ लगाउने गरी सबैभन्दा धेरै 'रमाइलो छ' नामको युट्युब च्यानलले सामाग्री राखेको देखिन्छ। यसका सञ्चालकसँग प्रविशा र प्रताप दुवैको सम्बन्ध निकट देखिन्छ।

प्राय अन्तर्वार्ताहरूमा प्रतापले प्रविशालाई दिदी भनेर सम्बोधन गरिरहेका हुन्थे भने प्रविशाले पनि भाइ भनेर। तर यी दुवैको अफेयर्सको हल्ला भने थामिएन।

योबारे प्रविशा पनि जानकार थिइन्। उनले केही अन्तर्वार्ताहरूमा' तपाइहरूको कस्तो राम्रो जोडी। विवाह गर्नुस्' भनेर सुझाव आउने गरेको बताउँदै उनले भनेकी थिइन्' हामीले सँगै प्रेम गीतहरू गाएकाले यस्तो भनिएको होला तर प्रताप मेरो रगतकै भाइ जस्तै हो र रहिरहनेछ।'

नेपाल आइडलमा तेस्रो भएर चर्चामा आएका प्रताप दास र फिल्मी गीतहरूबाट परिचित प्रविशाविच सन् २०१८ मा फिल्म रोजीमा सँगै गीत गाएपछि दुवै निकट भएका थिए। युगल स्वरमा दुवैको स्वर म्याच भएपछि उनीहरू सँगसँगै गीत गाउन थाले। प्रेम गीत ४ को टाइटल गीतले दुबैलाई चर्चित बनायो। सँगै प्रेमी प्रेमिका भनेर हल्ला पनि चलायो।

प्रविशाले प्रतापलाई राखी बाँधिदिएर तस्बिर सार्वजनिक नगरेकी पनि हैनन्। तै पनि बजारमा हल्ला हराएन।

गत शनिवार झापामा प्रविशाले अर्कैसँग विवाह गरिन्। उनी थिए अमेरिका बस्दै आएका इन्जिनियर। प्रविशाको विवाहमा प्रविशा र प्रतापको प्रेम सम्बन्ध छ भन्ने खालका हेडलाइन राख्नेसँगै प्रताप आफैँ पनि सहभागी थिए। तर प्रताप त्यहाँ कुनै साथीको विवाहको सहभागी हुन पुगेका थिएनन्। साँच्चै दिदी प्रविशाको विवाहमा सहभागी हुन पुगेका थिए।

विवाहको धार्मिक परम्परा अनुसार प्रविशाको आमा-बाबु अनि परिवारका सदस्यले जसरी प्रविशाको कन्यादान गरे प्रतापले पनि उसरी नै कन्यादान गरे। उनी प्रविशा बसेको जग्गेमा गएर उनको खुट्टा ताने। प्रविशाले अलि अप्ठ्यारो मानिन्। उनले छाडेनन्। प्रविशाको खुट्टा तानेर करुवाबाट पानी हाल्दै सफा गरे अनि सुरूप सुरूप पानी खाएर कन्यादान गरे।

सँगै उनले भिनाजुको पनि उसरी नै खुट्टा धोएर भाइको धार्मिक कर्तव्य पुरा गर्दै प्रविशाले भनेझैँ' आफ्नै आमाले नजन्माए पनि रगतको भाइ जस्तै सम्बन्ध' रहेको पुष्टि गरे।

८ मंसिर, २०७८, १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।