वृद्धभत्ताको पैसाले उम्मेदवारी दर्ता गरेका प्रेमबहादुरले भने- म ७८ वर्षे युवालाई एक भोट है !

वृद्धभत्ताको पैसाले उम्मेदवारी दर्ता गरेका प्रेमबहादुरले भने- म ७८ वर्षे युवालाई एक भोट है !

इटहरी : ‘जय नेपाल साथीहरु! म अठहत्तर वर्षे युवालाई एक भोट है। अहिलेसम्म मैले केही मागेको छैन। यो मेरो पहिलो र अन्तिम माग हो।’ 

वृद्ध वयमा पनि निक्कै फुर्तिलो देखिएका प्रेमबहादुर गौतम हाँस्दै भोट मागिरहेका थिए। उनी सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन्। 

उम्मेदवारी मनोनयनको समय सुरु हुनुअगावै निर्वाचन क्षेत्रमा पुगेका गौतम सबैलाई ‘जय नेपाल’ भन्दै परिचय दिइरहेका थिए। एक-आपसमा समूह बनाएर चुनावी मैदानमा होमिएका युवाहरु उनीतिरै आकर्षित भइरहेका थिए।

विजयकुमार गच्छदारको दबाबमा सोमबार मनोनयन दर्ता हुन नपाएपछि यो क्षेत्रमा मंगलबार १० बजेलाई मिति सारियो। दुई साता सहमतिको प्रयास गर्दा पनि नभएपछि निर्वाचनमार्फत नै क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय भयो। निर्वाचन गर्दा आफू कमजोर भइने डरमा रहेका गच्छदारले सहमतिका लागि अधिकतम प्रयास गरे। तर उनी सफल भएनन्। त्यसपछि आज बुधबार निर्वाचन गर्ने सहमति भयो।

उता गौतम भने सहमति भए उम्मेदवार बन्नै नपाइने हो कि भन्ने डरमा थिए। उम्मेदवारी दिन पाउनु नै आफ्नो जित ठानेका छन् उनले। त्यही भएर मंगलबार बिहानै निर्वाचन स्थलमा पुगे। अघिल्लो दिन खाली हात फर्किएका उनी बिहानैदेखि निक्कै जोसिला र फुर्तिला देखिन्थे। 

हातमा मनोनयनको फारम बोकेर घुमिरहेका गौतम सबैलाई ‘एक भोट है साथी हो’ भन्दै हिँडिरहेका थिए। बर्जु गाउँपालिका- ३ का उनी सुनसरीकै पुराना कांग्रेसी हुन्। २०२७ सालदेखि पार्टीमा संगठन गर्दै हिँडेको बताउने उनी अहिलेसम्म लाभको पदमा नपुगेको बताउँछन्। वडा सभापतिदेखि क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाले पनि पार्टीको हितभन्दा बाहिर कतै काम नगरेको उनको भनाइ छ।  

सहमति नभएपछि यो क्षेत्रमा दुई टिमको प्रतिस्पर्धा हुने भएको छ। दुवै टिममा नअटाएका उनी स्वतन्त्र उम्मेदवार बन्ने निर्णयमा पुगेका छन्। कसैले टिममा राख्छौं नभनेकाले स्वतन्त्र उम्मेदवार बनेको उनले सुनाए। 

जब उम्मेदवारी मनोनयनको समय सुरु भयो, खासै भीड नभएकाले पहिला नै उनले पालो पाइहाले। मनोनयन दर्ता गर्न ५ हजार शुल्क आवश्यक पर्ने सुनेपछि पार्टी निकै महँगो भएको टिप्पणी गर्दै उनले गोजीबाट निकालेर पैसा तिरे। 

‘अस्ती भर्खरै वृद्धभत्ता आएको थियो। अधिवेशनकै लागि जोगाएर राखेको थिएँ। आज ठूलो काममा लगानी भयो,’ उनले हाँस्दै भने, ‘पान, गुड्का, सूर्ती लगायतका कुनै पनि नशा लिने मेरो बानी छैन। तर राजनीतिको नशा भने छ। मलाई यो नशा बिपी कोइरालाले लगाइदिनुभयो। म धन्य छु।’

उनले बिपीसँग भेटघाट भएको स्मरण पनि गरे। धेरै पटक बिपीको कुरा सुन्न निवास जाने गरेको उनले बताए। बिपीका अभिव्यक्ति धेरै शक्तिशाली र प्रभावशाली हुने उनले सुनाए। अहिले कांग्रेस पार्टीले बिपीलाई बिर्सिएकाले कांग्रेस कमजोर अवस्थामा आइपुगेको गौतमको बुझाइ छ। 

कांग्रेसले आफ्नो आदर्श र औकात बिर्सिएकोमा दुःखी छन् गौतम। भन्छन्, ‘म बिपीको सपना साकार पार्न काम लाग्ने केही सुझाव दिन महाधिवेशन प्रतिनिधिमा लागेको हुँ। हार-जित जे भए पनि बिपीलाई सम्झिएर उम्मेदवारी दिएको हुँ। अहिलेका नेताहरुको सोच ठिक भएन। बिपीको नीति अनुसार कांग्रेस चल्न सकेन।’

अहिलेको प्रणालीप्रति असन्तुष्टि जनाउँदै उनले शिक्षा नीतिमा परिमार्जन जरुरी रहेको सुनाए। ‘सानो मुलुकमा शिक्षा नीतिलाई ध्यान दिनुपर्छ। हाम्रो जस्तो देशलाई आक्रमण गर्न बम चाहिँदैन, शिक्षा नीतिले काम गर्छ। विदेशीले आफू अनुकुलको शिक्षा प्रणाली बनाउन लगाएर हामीलाई भुलाएका छन्। छोराछारीलाई अंग्रेजी जान्ने बनाउनुपर्छ भन्ने हाम्रो मानसिकता छ, गौतमले भने, ‘अंग्रेजीमात्र जानेर के गर्नु? काम केही आउँदैन। परीक्षामा पास हुने शिक्षा हैन, जीवनउपयोगी शिक्षाले मात्र संसार बदल्न सक्छ। अहिलेको शिक्षा नीतिले भ्रष्टाचार बढायो। चिट चोरेर पास गर्ने शिक्षाले केही हुँदैन।’

नेपालमा समाजवाद होइन, अवसरवाद र कृपावाद आएको उनले बताए। गरिबसँग विश्वेश्वर जस्तै जनताको जीवनसँग जोडिएका कार्यक्रम कांग्रेसले ल्याउनुपर्ने गौतमको भनाइ छ।

८ मंसिर, २०७८, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।