गच्छदारको ओरालो यात्रा : गृह जिल्ला सुनसरीमा सहमति जुटाउन असफल

गच्छदारको ओरालो यात्रा : गृह जिल्ला सुनसरीमा सहमति जुटाउन असफल

सोमबार हुने भनिएको मनोनयन उनकै दबाबमा एक दिन पछाडि सरेको थियो। सहमतिको अधिकतम प्रयास गरेका उनी पछिल्लो समय थकित भएका छन्।

संस्थापन इतर पक्षको बलियो प्रभाव रहेको सुनसरी ३ मा आफू निकट उम्मेदवार पराजित हुने भएपछि उनले सहमतिको प्रयास थालेका थिए। 

उनको प्रयासलाई टेवा पुग्ने गरी केही दिन अगाडि सुनसरी पुगेका प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पनि सहमतिबाटै अधिवेशन सम्पन्न गर्न भनेका थिए। 

तथापि संस्थापन इतर पक्षका मेहेदी हुसेनले क्षेत्रीय सभापति बाहेक अन्य पदमा नजाने अडान लिएपछि निर्वाचनबाटै नेतृत्व छनोट हुने भएको छ। लामो प्रयासमा असफल भएपछि गच्छदारले सबैलाई उम्मेदवार हुने बाटो खुल्ला गरेका छन्। उनकै टिमबाट क्षेत्रीय सभापतिमा प्रदीप चौधरी र सत्यनारायण मण्डल दुवै जना चुनावी प्रतिस्पर्धामा जान तयार भएका छन्। 

इतर पक्षबाट पनि मेहेदी हुसेन र फुपराज शर्माको उम्मेदवारी परेको थियो। पछि शर्मालाई अन्तै व्यवस्थापन गर्ने टिमको निर्णयपछि हुसेन सर्वसम्मत उम्मेदवार भएका छन्। अहिले सम्मको अङ्कगणित अनुसार हुसेन संस्थापन पक्षका उम्मेदवार भन्दा निक्कै शक्तिशाली देखिएका छन्। बुधबार बिहान १० बजेदेखि मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। 

महाधिवेशन प्रतिनिधिमा बार्गेनिङ गरेका गच्छदारले त्यसमा पनि स्वतन्त्र उम्मेदवारी दिन बाटो खोलेका छन्। आफूले सक्दो प्रयास गर्दा नभएपछि उनले घरैमा बोलाएर निर्वाचनमा लाग्न आग्रह गरे। 

यसअघि उनकै गृह नगर दुहबी नगर समितिमा पनि सहमति गराउने उनको प्रयास असफल भएको थियो। उनका विश्वास पात्र टेकचन्द्र विश्वासलाई सहमतिको सभापति बनाउन नसकेपछि निर्वाचन भएको थियो। निर्वाचन मार्फत संस्थापन इतर पक्षका वेदनारायण गच्छदार निर्वाचित भए। पहिला गच्छदार निकट वेदनारायणले उनको साथ छाडे।  

एकपछि अर्को प्रयासमा असफल भएका गच्छदारलाई अगामी निर्वाचन पनि ढुङ्गाको चिउरा हुने देखिएको छ। यसअघि पनि झिनो मतान्तरले विजयी भएका उनी पछिल्लो समय झनै अलोकप्रिय बन्दै गएका छन्।

कुनै बेला गच्छदारको गढ मानिएको सुनसरी ३ अहिले उनको बुता बाहिर पुगेको छ। पछिल्लो समय आफ्नै पार्टीका कार्यकर्ताले समेत मान्न छाडेपछि उनको राजनीतिक यात्रा ओरालो लागेको हो। 

८ मंसिर, २०७८, ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।