बडुवाल हत्या प्रकरण: हत्यारालाई प्रहरीकै संरक्षण भएको भन्दै परिवार सशङ्कित

बडुवाल हत्या प्रकरण: हत्यारालाई प्रहरीकै संरक्षण भएको भन्दै परिवार सशङ्कित

धनगढीः कैलाली लम्कीका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या भएको दुई साता पुग्यो। चिसापानीका गुन्डा नाइके भनिने नवीन रावलको समूहले कार्तिक २३ गते टीकापुरमा लखेटी–लखेटी धारिलो हतियार प्रहार गरेर भुपेन्द्रको हत्या गरेको थियो। 

घटनापछि सो समूहका १० जना पक्राउ परे पनि मुख्य अभियुक्त रावलसहित ६ जना अझै फरार छन्। 

तर घटनाको दुई साता बित्दा समेत मुख्य अभियुक्त पक्राउ नपरेपछि परिवार आक्रोशित भएको छ भने प्रहरीले नै हत्यारालाई संरक्षण गरेको आरोप लगाउन थालेको छ।  

जिल्ला प्रहरी कार्यालय कैलाली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रदर्शनमा पीडित पक्ष 
न्याय नपाएको भन्दै पीडित पक्षले दैनिकजसो लम्कीमा प्रदर्शन गरिरहेका छन्। हत्यारालाई प्रहरी र राजनीतिज्ञहरूले संरक्षण गरेको भन्दै विरोधस्वरूप लम्कीमा प्रदर्शन जारी छ। 

'चक्कु प्रहारबाट छोरोको हत्या भयो। हत्यारा फरार छ। प्रहरीको भूमिकामाथि शङ्का लाग्न थाल्यो। कतै हत्यारालाई प्रहरी र राजनीतिज्ञबाट त संरक्षण भएको छैन', भुपेन्द्रका बुवा डम्मरले भने, 'दुई सातासम्म पनि मुख्य अभियुक्त पक्राउ परेको छैन। हामीले कहिले न्याय पाउने।'

भुपेन्द्रकी आमा भावनाको आक्रोश झन् बढ्दै गएको छ। उनी क्षतिपूर्ति होइन हत्यारालाई कारबाही भए पुग्ने बताउँछिन्। 

'सरकारले कारबाही गरोस् होइन भने हाम्रो जिम्मा लगाओस्, हामी लिन्छौ बदला। नवीनलाई कारबाही नभएसम्म हाम्रो मन र भुपेन्द्रको आत्माले शान्ति पाउँदैन', आमा भावनाले भनिन्।

भुपेन्द्रको परिवारसँगै उनका साथीहरू झन् आवेगमा छन्। नवीन रावलको समूहलाई प्रहरीले कारबाही गर्न नसके प्रहरीले आफूहरूको जिम्मा लगाउनुपर्ने उनीहरू बताउँछन्। 

'प्रहरीले कारबाही गर्ला भनेर अहिलेसम्म हामी चुप थियौँ। तर नवीनलाई संरक्षण भएको भान भइरहेको छ। समयमै दोषीमाथि कारबाही भएन भने नवीनको समूहले अझै धेरैको हत्या गर्छ', लम्कीका गणेश न्यौपानेले भने, 'हामी अब चुप लागेर बस्दैनौँ। भुपेन्द्रको न्यायको लागी हामी जस्तो सुकै लगाइ लड्न तयार छौँ।' 

कहाँ पुग्यो अनुसन्धान? 
बडुवालको हत्या आरोपमा प्रहरीले भोलिपल्टै आठ जनालाई पक्राउ गरेको थियो। लम्किचुहा–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्किचुहा–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, २१ वर्षीय रोहित आले र सोही ठाउँका २६ वर्षीय सोहन शाह पक्राउ परेका थिए। 

घटनापछि फरार रहेका लम्किचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्कालाई कार्तिक २८ गते (आइतबार) दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गर्यो।

फरार रहेका ७ जना मध्ये सोमबार १९ वर्षीय मदन शाही पक्राउ परे। प्रहरी निरीक्षकका भाइ रहेका उनी धरानबाट पक्राउ परेका थिए। 

बडुवाल हत्या प्रकरणमा गहिरो अनुसन्धान भइरहेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारी आफैँले घटनाको अनुसन्धान गरिरहेका छन्। 

'सबै फाइल मैले नै हेरिरहेको छु। १६ जनाविरुद्ध जाहेरी आएको थियो। १० जना पक्राउ परिसकेका छन्। बाँकी ६ जनाको खोजी भइरहेको छ। आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कारबाही हुन्छ', प्रहरी उपरीक्षक अधिकारीले भने, 'हामीले २५ दिनभित्र मुद्दालाई अदालतमा पुर्याउनुपर्छ। त्यो अवधिभित्र सबै अनुसन्धान सक्छौं।'

७ मंसिर, २०७८, ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।