परीक्षा नदिई उतिर्ण हुने ओली रणनीतिमा रावल-भुसाल गलपासो : वरिष्ठ उपाध्यक्ष थपेर मनाउने कसरत

परीक्षा नदिई उतिर्ण हुने ओली रणनीतिमा रावल-भुसाल गलपासो : वरिष्ठ उपाध्यक्ष थपेर मनाउने कसरत

काठमाडौँ : गत मङ्सिर ताका तत्कालीन नेकपामा किचलो चलिरहँदा नेकपा ओलीले दोहोराउने गरेका थिए ‘म कक्षा दोहोर्याएर पढ्दिन।’

यसको अर्थ ‘फेरि अध्यक्षका लागि महाधिवेशनमा उम्मेदवार हुन्न’ भन्ने थियो। गत फागुन २३ मा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदियो। एमाले फुट्यो।

ओलीले कक्षा दोहोराउने मात्रै हैन नवौँ महाधिवेशनमा जस्तो रस्साकस्सी नगरी १० औँ महाधिवेशनमा चितवनमा परीक्षा नै नदिई उत्तीर्ण हुने रणनीति बनाए। तर उपाध्यक्ष भीम रावल परीक्षार्थीको रूपमा उभिएर उनको रणनीतिलाई धक्का दिए। महाधिवेशन प्रतिनिधिमा एकलौटी गरेकाले कसैले आफू विरुद्ध उम्मेदवारी दिने साहस नगर्ने उनको निष्कर्ष फेल भयो। असफल भए पनि भइयोस् भनेर रावल अगाडि सरे।

रावलको उम्मेदवारी घोषणापछि माहौल बदलियो। उनी आक्रामक प्रचारमा सक्रिय भइसकेका छन्। अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि आफू अनुकूल केन्द्रीय कमिटी बनाउने दाउमा थिए ओली। तर अब उम्मेदवारी दिने बाटो खुलेकाले अन्य पदमा पनि उनले सोचे जस्तै सर्वसम्मतको सम्भावना देखिएको छैन।

रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अर्का नेता घनश्याम भुसाल पनि कुन पदमा उम्मेदवारी दिँदा ठिक होला भने निकटहरूसँग गहन छलफलमा छन्। अन्य पदका आकाङ्क्षीहरू पनि आफूले चाहेको पदमा सर्वसम्मत नभए निर्वाचनमा जाने रणनीतिमा लागेका छन्।

सकेसम्म निर्वाचन टार्ने उपाय खोज्न महाधिवेशनको मुखमा सोमबार स्थायी कमिटीको बैठक डाँके पनि बैठक बस्न सकेन। स्रोतका अनुसार बैठक विधान संशोधनमार्फत पद बढाएर भए पनि निर्वाचन टार्ने रणनीति अनुसार बोलाइएको थियो। त त्यो सङ्केत नदिएपछि गृहकार्यका लागि बैठक मङ्गलवारलाई सारियो।

आफ्नै समूहमा समेत मिलाउन सकस

असोजमा सम्पन्न एमाले विधान महाधिवेशनबाट पारित विधानअनुसार एमालेमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव सहित १५ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ भने २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ।

मुख्य समस्या पदाधिकारीमा देखिन्छ। नवौँ महाधिवेशनमा निर्वाचित आफ्नो पक्षका पदाधिकारीसँगै माओवादी छाडेका नेताहरूलाई समेत मिलाउनुपर्ने बाध्यतामा छन् ओली। तर पद भन्दा आकाङ्क्षीको सङ्ख्या दोब्बर हुँदा कसरी व्यवस्थापन गर्ने सकस छ।

वरिष्ठ उपाध्यक्षको पद एउटा छ तर आकाङ्क्षी ३ जना छन्। महासचिव ईश्वर पोखरेल, माओवादी छाडेर एमालेमा बसेका रामबहादुर थापा अनि संसदीय दलका उपनेता सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी हुन्।

‘सकेसम्म पदाधिकारी सर्वसम्मत होस् भन्ने चाहना हो। वरिष्ठ उपाध्यक्ष अध्यक्ष भन्दा तल्लो पद भएकाले त्यो बाहेकका अन्य पदमा सहमति होस् भन्ने चाहना हो। साथीहरूसँग छलफल भइरहेको छ,’ वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी नेम्वाङले भने।

चार उपाध्यक्षमा ६ जना आकाङ्क्षी छन्। वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले सके पदोन्नति नसके सोही पदमा दोहोर्याउने आस राखेका छन्।

‘पार्टीमा परिस्थिति कस्तो बन्छ हेरौँ, सहमतिमा पदाधिकारी चुन्नुपर्छ। पहिलेको भन्दा तल हुने त कुरो भएन। तर सहमति हुने हो भने त पद भनेर हुन्न,’ शाक्यले उकेरासँग भनिन्।

नवौँ महाधिवेशनमा उपाध्यक्षमा हारेका एमाले नेताहरू लालबाबु पण्डित र किरण गुरुङ कम्तीमा यही पदमा दोहोरिने चाहना राखिरहेका छन्। माओवादीबाट एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझीले पनि उपाध्यक्षको दाबी गरेका छन्। रघुजी पन्त पनि उपाध्यक्षको आकाङ्क्षी हुन्।

एक महासचिवको पदमा ४ जना आकाङ्क्षी छन्। यसअघि उपमहासचिव हारेका शङ्कर पोखरेल र उपमहासचिव विष्णु पौडेलको दाबी त्यही पदमा छ। पृथ्वी सुब्बा गुरुङले पनि त्यही ताकेका छन्।

९ औँ महाधिवेशनमा महासचिवमा ६ मतले मात्र पराजय भोगेका सुरेन्द्र पाण्डे समेत महासचिवका आकाङ्क्षी हुन्। यदि महासचिव नभए उनी उपाध्यक्षमा जान सक्छन्। तर उनको जोड महासचिवमै देखिन्छ।

उपमहासचिवमा पनि उस्तै छ। एक पदमा ४ जना आकाङ्क्षी छन्। वर्तमान सचिव प्रदीप ज्ञवाली उपमहासचिवको दाबेदार हुन्। वर्तमान सचिव योगेश भट्टराई पनि पार्टीमा एकताको पक्षमा रहेको भन्दै पदाधिकारीका जुनसुकै पदको लागि खुला रहेको बताए पनि उनी सकेसम्म उपमहासचिवको आकाङ्क्षी हुन्।

वर्तमान सचिव मध्येकै गोकर्ण विष्ट र भीम आचार्य सके पदोन्नति हुने नसके पुरानै पदमा रहने मनसायमा छन् ।

सात जना सचिव छान्न सकिन्छ। तर यो पदमा धेरै आकाङ्क्षी देखिएका छन्। सात सचिवका लागि ३० जनाभन्दा बढी आकाङ्क्षी छन्। माओवादीबाट आएका लेखराज भट्ट र मणि थापालाई व्यवस्थापन गर्नका कम्तीमा सचिव पद दिनुपर्ने दबाबमा छन् ओली।

विष्णु रिमाल, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, महेश बस्नेत, हिक्मत कार्की, किरण गुरुङ, खगराज अधिकारी, यामलाल कँडेल, कर्ण थापा, प्रभु साह, रघुवीर महासेठ, गोकुल बास्कोटा, राजेन्द्र गौतम, शेरधन राई, गुरु बराल, अरुण नेपाल, आनन्द पोखरेल र कृष्णगोपाल श्रेष्ठले पनि सचिवमा उम्मेदवारी दिने योजनामा देखिएका छन्।

खिमलाल भट्टराई, राधा ज्ञवाली र पद्मा अर्याल पनि सचिवका आकाङ्क्षी देखिएका छन्।

सदस्यको मात्रै निर्वाचनको रणनीति

महाधिवेशन प्रतिनिधि चयन भएका अधिकांश केन्द्रीय सदस्यको आकाङ्क्षी देखिएका छन्। त्यसैले केन्द्रीय सदस्यमा चुनाव भए पनि पदाधिकारीमा भने चुनाव नगर्ने पक्षमा छ ओली समूह।

‘पुराना पदाधिकारीहरुलाई व्यवस्थापन गर्नकै लागि पद थपिएको हो। उहाँहरूलाई सोही पदमा दोहोर्याउने कुरा छ,’ एक नेताले उकेरासँग भने। तर रावलको उम्मेदवारी घोषणा महाधिवेशन हलसम्म कायम रहेमा भने पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना छ।

त्यसैले अहिले ओली समूह वरिष्ठ उपाध्यक्षको पद थपेर भए पनि रावललाई मनाउन सकिन्छ कि भन्नेतिर समेत केन्द्रित भएका छन्।

‘एक वरिष्ठ उपाध्यक्ष थपेर रावललाई मनाउन सकिन्छ। पार्टीको विधान हो संविधान त होइन नि,’ ओली निकट एक नेताले भने। उता भुसालले समेत उम्मेदवारी दिने तयारी गरेपछि पनि ओली समूह समस्यामा परेको छ। त्यसैले ओली भुसालसँग पहिल्यै छलफल गर्ने तयारीमा रहे पनि बालकोट आउन उनले सोमबार दिएको निमन्त्रणा भुसाले स्वीकार गरेनन्।

६ मंसिर, २०७८, २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।