इच्छाराजको सुन्धाराको मल लिलामीको जोखिममा,कोषले निकाल्यो सूचना
काठमाडौँ : सङ्गठित रूपमा बचतकर्ताको रकम ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेको व्यवसायी इच्छाराज तामाङको सुन्धाराको सपिङ मल लिलामीको जोखिममा परेको छ।
इच्छाराजको नाममा राजधानीको सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेका १३२ इकाई पसल तथा कवलहरू लिलामी गर्ने कोषले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका तामाङविरुद्ध ऋण नतिरेको भन्दै कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेको छ।
लिलामीको प्रक्रिया अघि बढाउँदै कोषले पहिलो चरणमा ३५ दिनभित्र ऋण तिर्नका लागि समय दिएको छ। सो समयभित्र पनि ऋण चुक्ता नगरे लिलामीको प्रक्रिया अघि बढाउने सार्वजनिक सूचना मार्फत कोषले तामाङलाई जानकारी दिएको छ।
कोषले व्यक्तिगत जमानी दिने तामाङसहित केशवलाल श्रेष्ठ, प्रवीण मुखिया र लालकाजी गुरुङसहित ८ जनाको नाममा सूचना निकालेको हो।
ब्युरोको हिरासतमा रहेका तामाङसहित सिभिल सहकारीका १२ जना विरुद्ध ५ अर्बमाथिको ठगीको जाहेरी परेको छ। हालै सिभिल बैङ्कको अध्यक्षबाट समेत तामाङ हटेका थिए।
मंसिर ६, २०७८ सोमबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।