एमाले फर्किएका १० नेता तितरबितर : रावल र भुसालले चुनौती दिने, बाँकीले ओलीको आशीर्वाद लिने

एमाले फर्किएका १० नेता तितरबितर : रावल र भुसालले चुनौती दिने, बाँकीले ओलीको आशीर्वाद लिने

काठमाडौँ : दश बुँदे कार्यान्वयनको सर्त बोकेर एमालेमा फर्किएका १० जना नेतामध्ये उपाध्यक्ष भीम रावलले आइतबार पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्दा उनी एक्लै थिए।

१० बुँदे बनाउने समितिमा माधव नेपाल समूहबाट संयोजन गरेका उनी नेपाल समूह छाडेर एमालेमै फर्कँदा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यसँगै घनश्याम भुसाल पनि सँगै थिए।

स्थायी समिति सदस्य रघुजी पन्त, अमृत बोहरा र नेता सुरेन्द्र पाण्डे पनि रावलसँगै नेपालको साथ छाडेर एमालेमा फर्किएका थिए। उनीहरू फर्किएपछि १० बुँदे कार्यान्वयन अलपत्र पर्यो। रावलले जति प्रयास गरे पनि सकेनन् र कार्यान्वयन समितिबाटै राजीनामा दिए।

केही समय उनीहरू सँगै बसेर अजेण्डाहरु बनाउन सक्रिय नै थिए। तर महाधिवेशनको मिति नजिकिएसँगै १० भाइको एकता तितरबितर भइसक्यो। आइतबार अध्यक्षमा उम्मेदवारी दिँदा रावल एक्लै हुनु त्यसैको प्रमाण थियो।

अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले महाधिवेशनमा प्यानल बनाउन निषेध भएकाले आफूले एक्लै उम्मेदवारी घोषणा गरे पनि अन्यले पनि उम्मेदवारी दिने दाबी त गरे। तर कसले कुन पदमा उम्मेदवारी दिन्छन् खुलाउन सकेनन्।

एकीकृत समाजवादीका अध्यक्ष बनेर नयाँ पार्टी दर्ता गरेका माधव नेपालले कात्तिक ६ गते सिन्धुपाल्चोक पुगेर एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको बताएका थिए।

‘ओलीको आदेश पालना गर्यो भने स्याबास, ऊ पार्टीमा बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने ट्याउँ–ट्याउँ गर्न ओलीले छोड्दैनन्। एमालेमा १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भइरहेको छ।’

रावललाई हेर्दा त्यस्तै देखियो। उनीसँगै एमालेमा फर्किएकामध्ये घनश्याम भुसालमात्र ओलीको विपक्षमा देखिन्छन्। बाँकी नेताहरू सकेसम्म ओलीलाई फकाएर पार्टीको केन्द्रीय कमिटीमा अटाउने रणनीतिमा देखिएका छन्।

सबै आकाङ्क्षी तर छैन टक्कर दिने हिम्मत

चितवनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष एक–एक जना, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव एक जना, उपाध्यक्ष चार जना सचिव  ७ जना गरी १५ जना पदाधिकारी चयन हुनेछन्।

एमालेभित्रै आगन्तुक नेताको रूपमा परिचित १० जनै नेता पदाधिकारीको आकाङ्क्षी छन्। तर रावल बाहेक अन्यले उम्मेदवारी घोषणा गर्ने हिम्मत गर्न सकेका छैनन्। भुसाल बाहेक अन्य कतै ओलीको प्यानलमा अटाइन्छ कि भन्ने आसमा रहेको देखिन्छ।

पार्टी विधानमा स्थायी कमिटी सदस्य बन्न ७० वर्षे उमेर हद्दका कारण कार्यकारी पदमा रहन ६६ वर्षका रावललाई दशौँ महाधिवेशन अन्तिम महाधिवेशन हुनेछ।

पदाधिकारी रहने अन्तिम अवसर गुमाउन नचाहेको हो ? भन्ने प्रश्नमा रावल भन्छन्, ‘होइन, अवसरलाई म त्यसरी हेर्दिन। म ३० सालदेखि विद्यार्थी राजनीतिबाट पार्टीमा प्रवेश गरेको हुँ। त्यही बेलादेखिको निष्ठा र आस्थाको निरन्तरता हो।’

रावलपछि भुसाल महासचिवमा उम्मेदवारी दिने तयारीमा छन् तर घोषणा गरिसकेका छैनन्। अन्य नेताहरू पार्टीले जे भन्छ त्यही पदमा कम्प्रोमाइज गर्ने बताउनुले त्यही देखाउँछ।

तत्कालीन समयमा ओलीका कट्टर आलोचक नेता सुरेन्द्र पाण्डे पनि महासचिवमा दावेदारी गरिरहेका छन्। तर चुनावी प्रतिस्पर्धा जाने सङ्केत छैन।

‘पुरानो जेठ २ अघिको कमिटीको आयु पनि सकिइसक्यो। महाधिवेशनमा गइसकेपछि अब सबै कमिटी नयाँ ढङ्गले अघि जानुपर्छ। पार्टी नेतृत्वमा सम्भवतः ओली नै दोहोरिने देखिरहेको छु,’ नेता पाण्डेले भने।

रघुजी पन्तले आफूलाई उपाध्यक्षको दाबेदारको रूपमा प्रस्तुत गरिरहेका छन्।

उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सके वरिष्ठ उपाध्यक्षमा त्यो नभए साबिककै पदमा दोहोरिने दाउँला छन्। सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य पनि पाए उपमहासचिव नभए सचिव पदमा चित्त बुझाउने मुडमा छन्।

तत्कालीन समयमा अध्यक्ष ओलीको कटु आलोचक योगेश भट्टराई अहिले नरम भइसके। उनी अध्यक्षमा ओली सर्वसम्मत हुने बताउँदै आएका छन्। तर रावलको घोषणाले उनको दाबी फेल खाने देखियो।

‘अध्यक्षमा दाबी गर्न मापदण्ड पुगेका सबैले पाउँछन् तर अध्यक्षमा ओली सर्वसम्मत हुनुहुन्छ नभए पार्टीलाई एकताबद्ध गर्न ओली नै अध्यक्ष हुनुहुन्छ,’ भट्टराईले भने।

उनले आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी भन्ने समेत खुलाउन सकेनन्। आफू पार्टी एक बनाउन लागि परेकाले पदको आकाङ्क्षी नरहेको उनको दाबी थियो।

‘म अहिले सचिव छु सचिवमा नै ठिक छु। पार्टीमा सहमति हुन्छ भने त्यो भन्दा माथि पनि हुन्छ, पार्टीमा सहमति गर्नुपर्यो र केन्द्रीय सदस्य मात्र बन्नुपर्यो भने म तयार। मुख्य कुरा पार्टीमा एकता हुनुपर्यो,’ भट्टराईले उकेरासँग भने।

पदाधिकारीकी अर्की आकाङ्क्षी शाक्यले पनि पार्टी एकतालाई नै जोड दिइन्।

‘मेरो पदाधिकारीमा उठ्ने चाहना भए पनि अहिलेसम्म यो पद भनेर निश्चित छैन। सल्लाह पनि गरेको छैन। पार्टी एक ढिक्का हुनुपर्यो। पदको विषयमा छलफल जारी राखौँला,’ शाक्यले उकेरासँग भनिन्।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि ६८ वर्षको हाराहारी उमेरका भएकाले यो महाधिवेशन नै कार्यकारी पदमा रहन वा पदाधिकारी रहनको लागि अन्तिम महाधिवेशन हुनेछ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावल भुसालबाहेक अन्य नेता ओलीतिर लागेको स्वीकार गर्दैनन्।

रावल भन्छन्, ‘ त्यो तपाईँको विश्लेषण होला। म प्रत्येक विश्लेषणलाई सम्मान गर्छु। मैले त्यस्तो देखेको छैन।’

उनले अस्वीकार गरे पनि एमालेभित्रको राजनीतिक दृश्य उनी मैत्री देखिँदैन। सार्वजनिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दा पनि १० जना नेताबिच छलफल हुन नसक्नु र उनलाई बधाई नआउनु नै १० भाइमा रावल एक्लिइसकेको पुष्टिका लागि काफी छ।

५ मंसिर, २०७८, २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।