उज्ज्वल थापाको अभियान ब्युँताउन नेपाल विवेकशील पार्टी दर्ता, अध्यक्षमा कर्मा

उज्ज्वल थापाको अभियान ब्युँताउन नेपाल विवेकशील पार्टी दर्ता, अध्यक्षमा कर्मा

काठमाडौँ : साझा र विवेकशील पार्टीबिच एकता प्रक्रियामा सहभागी नभएका विवेकशीलका नेताहरूले नयाँ दल दर्ता गरेका छन्। उनीहरूले निर्वाचन आयोगमा नेपाल विवेकशील पार्टी दर्ता गरेका हुन्। आयोगमा दर्ता भएको पार्टीले पुरानो विवेकशीलले प्रयोग गर्दै आएको चुनाव चिन्ह झैँ कुकुरको मुखाकृति भएको चिन्ह माग गरेका छन्।

सो समूहका प्रवक्ता विजयबाबु शिवाकोटीका अनुसार आयोगले कात्तिक ३० मा पार्टी दर्ता गरेर दर्ता नम्बर १७४ दिएको छ। पार्टीले कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ सङ्घीय समिति गठन गरेको छ।

दलको राजनीतिक प्रस्थान विन्दु सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षता हुने विज्ञप्तिमा उल्लेख छ। दलका सदस्यहरूलाई व्यक्तिगत रूपमा बाटो देखाउने मूल्य मान्यताहरूमा निष्ठा, पारदर्शिता, साहस, सहानुभूति, विनम्रता, उत्कृष्टता हुनेछन् र दललाई संस्थागत रूपमा चुस्त बनाउने मूल्य(मान्यताहरूमा जबाफदेहिता, कार्य कौशल, ‘ठगी, भ्रष्टाचार, हिंसा, उत्पीडन, भेदभाव’ विरुद्ध शून्य सहनशीलता, समावेशिता, सुयोग्यता, आन्तरिक सहभागितामूलक लोकतन्त्र रहने उल्लेख गरिएको छ।

दलका सङ्घीय पदाधिकारीहरूमा कर्मा लामा तामाङ ( अध्यक्ष,) अजीता राई ( उपाध्यक्ष प्रमुख, सङ्गठन र रणनीति), छिरिङ तामाङ ( सचिव, नीति, अनुसन्धान तथा विश्लेषण), सङ्गीता बाटाजु ( सचिव, प्रशिक्षण तथा क्षमता विकास), शशि विक्रम कार्की ( सचिव, अभियान र सञ्जाल), विजय बाबु शिवाकोटी ( प्रवक्ता प्रमुख, सूचना तथा सञ्चार) रहेका छन्।

सङ्घीय समितिका अन्य सदस्यहरूमा विशाल विक्रम निरौला, कृष्णदेव भण्डारी, साधना राई, किरण साह, सन्तोष घिमिरे, जमाल अलि, मोहना मोथे खनाल, अञ्जन निरौला, सुनिता बाटाजु, समीर वली, सतिष बाबु कार्की, आशीष राई, जङ्गे बहादुर कुँवर, अमृत विष्ट र लक्ष्मण श्रेष्ठ छन्।

उसले २०६९ सालदेखि सुरु भएको विवेकशील आन्दोलनलाई जोगाएर समय सापेक्ष सुधार गर्दै अगाडि बढाउने दाबी गरेको छ।

विवेकशील र साझाबिच दोस्रो पटक एकता हुँदा तत्कालीन संस्थापक उज्ज्वल थापासहितको एक समूह एकता प्रक्रियामा सहभागी भएको थिएन। मिलन पाण्डे समूह मात्र एकता प्रक्रियामा गएको थियो।  एक्कासी स्वास्थ्य बिग्रदा थापाको निधन भयो।

पछिल्लो समय विवेकशील साझामा पार्टी अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रस्ताव र कार्यशैलीलाई लिएर विवाद बढिरहेको छ। विवादका क्रममा विवेकशीलबाट गएका युवा नेताहरूले राजीनामा दिइरहेका छन्। केही दिन अगाडि विवेकशीलका युवाहरूले नयाँ युवा सङ्गठन समेत घोषणा गरेका थिए।

मंसिर ५, २०७८ आइतबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।