सेतो कपालबाट मुक्ति पाउने पाँच घरेलु उपाय

सेतो कपालबाट मुक्ति पाउने पाँच घरेलु उपाय

कसै-कसैलाई सेतो कपाल बुद्धिमानको सङ्केत लाग्न पनि सक्छ। तर अधिकांशलाई सेतो कपाल मन पर्दैन। त्यसैले यहाँ कपालमा चढिरहेको सेतो रङ भगाउने केही प्राकृतिक उपाय सुझाइएको छ।

बदामको तेलसँगै कागतीको मिश्रण

बदामको तेल भिटामिन इको राम्रो स्रोत हो। यसले कपालको जरालाई बलियो समेत बनाउँछ। यसले उमेरभन्दा अगाडि नै कपाल सेतो हुनबाट समेत जोगाउँछ। कागतीको रसले कपालको चमक समेत बढाउँछ।

बदामको तेलमा कागतीको रस राम्रोसँग मिसाएर कपालमा मसाज गर्दा कपालको जरासम्म तेल र कागतीको रस पुग्छ। यसलाई आधा घण्टा त्यतिकै राखेर नुहाउँदा हुन्छ।

अमला र मेथीको मिश्रण

अमला पनि कपालको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा भिटामिन सीसँगै अन्य महत्वपूर्ण तत्त्वहरू समेत हुन्छ जसले कपालको स्वास्थ्यलाई राम्रो गर्छ। यसको प्रयोगले कपाल बलियो पनि हुन्छ अनि कालो पनि।

एक भाडामा तीन वटा जति अमला राखेर त्यसलाई पानीमा उमाल्ने। केही समयपछि त्यसमा मेथीको धुलो राखेर पेस्ट बनाएर कपालमा मसाज गर्ने। आधा घण्टा राखेपछि नरम स्याम्पुले कपाल धुने।

नरिवलको तेल र करी पत्ता

नरिवलको तेल पनि कपालको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा करी पत्ता मिसायो भने यसले कपाल कालो हुनबाट जोगाउँछ। नरिवलको तेल लगाउँदा यसले कपालको जरा बलियो बनाउँछ। करिको पातमा रहेको भिटामिन बीले कपाललाई सेतो हुन दिँदैन। सेतो भएको छ भने पनि बिस्तारै कालो बनाउँदै लैजान्छ।

करीको पात र नरिवलको तेल मिसाएर तताउने। जबसम्म यो कालो देखिँदैन तबसम्म तताउनु पर्छ। कालो भएपछि सेलाउन दिएर कपालमा मसाज गर्ने।

कालो चियाले कपाल धुने

कालो चिया खानु स्वास्थ्यका लागि फाइदाजनक त छ नै कपालका लागि पनि फाइदा छ। कालो चिया बनाएर त्यसले कपाल धुँदा केराटिन र मैलेनिन प्रोटिनमा सुधार आउँछ। यसले सेतो कपालको उपचार हुन्छ।

यसका लागि २ चम्चा कालो चिया लिने। त्यसमा एक चम्चा नुन मिलाउने। यी दुवै मिश्रण मिलाएर कपाल सेतो भएको स्थानमा लगाएर सामान्य पानीले नुहाउने। एक एक हप्तामा एक पटक गरे हुन्छ।

प्याजको रसको प्रयोग

प्याजको रस कपालको स्वास्थ्यका लागि निकै फाइदाजनक छ। यसले कपालको हरेक समस्याको समाधान गर्छ। यसले कपालको कालोपन फर्काउँछ। यसले कपाल बढाउन सघाउँछ। प्याजमा सल्फरको मात्रा धेरै हुन्छ जसले कपालको चमक समेत बढाउन सघाउँछ।

यो बनाउन तीन चम्चा प्याजको रसमा एक चम्चा ओलिभ ओयल मिसाएर त्यसमा एक चम्चा कागतीको रस मिलाएर कपालमा मसाज गर्ने। एक घण्टापछि हल्का तातो पानीले कपाल धुने। प्राय कपालमा स्याम्पु प्रयोग गर्दा कडा खालको स्याम्पु प्रयोग गर्नु हुन्न। यो हप्तामा २ पटक गर्दा हुन्छ।

३ मंसिर, २०७८, १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।