महाधिवेशनमा आगन्तुक र नव आगन्तुक समूहलाई जैविक एमालेकै भर

महाधिवेशनमा आगन्तुक र नव आगन्तुक समूहलाई जैविक एमालेकै भर

काठमाडौँ : अहिले एमालेमा तीन धार छन् जैविक, आगन्तुक र नव आगन्तुक। कम्युनिस्ट पार्टीको यात्रामा विभिन्न दल हुँदै एमाले भएकाहरू, एमाले र माओवादी केन्द्रबिचको एकतामा एमालेमा सहभागी भएकाहरू अनि नयाँ दल गठनको मुखैमा एमालेमै रहेकाहरू।

अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिए पनि संसद् पदै त्यागेर एमालेमै बसेका आगन्तुक एमालेको नेतृत्व गरेका छन् रामबहादुर थापा बादलले। यो समूहमा छन् टोपबहादुर रायमाझी, लेखराज भट्ट प्रभु शाह सहित २३ पूर्व माओवादी नेता।

तत्कालीन एमालेमा विद्रोह हुँदा माधव नेपाललाई साथ दिएका र पार्टी विभाजन गर्न नहुने भन्दै १० बुँदे सहमति गरेर एमालेमा फर्किएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य ओलीकै पक्षमा लागेर नव आगन्तुक एमाले बने।

त्यसमा स्थायी समिति सदस्य रघुजी पन्त, अमृत बोहरा र सुरेन्द्र पाण्डे पनि सहभागी छन्। उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले यो समूहलाई नेतृत्व गर्न सक्छन्।

जैविक एमाले धारमा रहेकाहरूको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन्। चितवनमा हुँदै गरेको पार्टीको १० औँ महाधिवेशन यही तीन धार वरिपरि घुम्ने देखिन्छ।

ईश्वर पोखरेल, शङ्कर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका जैविक एमालेको धारमा रहेकाहरूमध्ये कसले कुन पद उपहार पाउँछन् भन्ने मात्र अन्योल बाँकी छ। उनीहरू पार्टी नेतृत्वबाट बाहिरिने जोखिम छैन।

आगन्तुक एमालेका नेताहरू अस्तित्वको सङ्कटमा देखिए पनि उनीहरूलाई एकीकृत र व्यवस्थापन गर्नुपर्ने चुनौती जैविक एमालेका नेता ओलीले बोकेकाले पार्टीको मूलधारबाटै बाहिरिने जोखिम देखिँदैन।

पार्टीमा समाहित भएसँगै तितरबितर भएकाले नव आगन्तुक एमालेजन भने सङ्कटमा छन्। यही सङ्कट देखेर सुरक्षित अवतरणका लागि नव आगन्तुक धारका अधिकांश नेताहरू अहिले ओलीको पक्षमा लागिसकेका छन्। असन्तुष्ट देखिएका रावल र भुसाल मात्रै हुन्।

राजनीतिक विश्लेषक नरेन्द्र पिटर एमालेको १० औँ महाधिवेशन कर्मकाण्डी मात्र हुने भएकाले जैविक एमालेको समूह शक्तिशाली रहेको बताउँछन्। महाधिवेशनको तयारीको दृश्यले पनि प्रतिस्पर्धाबाट भन्दा सर्वसम्मत नेतृत्व चयनको अभ्यास भइरहेकाले १० औँ महाधिवेशन स्थलमा त्यति ठुलो चुनावी रस्साकस्सी हुने सङ्केत देखिएको छैन।

रावलले अध्यक्षमा उम्मेदवारी दिने दाबी गरे पनि अध्यक्षमा सहमति हुनसक्ने र प्रतिस्पर्धी भए पनि ओलीलाई प्रभाव नपर्ने पिटरको विश्लेषण छ।

‘नव आगन्तुक र आगन्तुक दुवैलाई जैविक एमालेले पत्याउँदैनन्। यसले असमझदारी निम्त्याउँछ। जसले महाधिवेशनलाई प्रभावित पार्न सक्छ,' उनले भने'सङ्ख्यात्मक हिसाबले केही प्रभाव त पार्दैन। तर जैविक एमालेले आगन्तुक एमालेलाई पचाउन सक्दैनन्। जसले आउने चुनावदेखि केन्द्रीय चुनावसम्मलाई असर गर्छ।'

यसले समस्या हल गर्ने भन्दा पनि समस्या थप्ने र ओलीको निर्देशनबाट मात्रै तलसम्म माहौल सकारात्मक हुन नसक्ने उनको निष्कर्ष छ।

केन्द्रमा ओलीले सर्वसम्मतको डन्डा चलाएर वा चुनावी प्रतिस्पर्धा भए पनि आफ्नो समूहमा राखेर आगन्तुक एमाले धारमा रहेकाहरूको उद्धार गर्न सक्छन्।

तर त्यसले केन्द्रको समस्या समाधान गर्न सक्छ। जिल्ला तहमा भने असमझदारी देखिन थालिसक्यो। सुदूर पश्चिम प्रदेशका जिल्ला र ओखलढुङ्गा लगायतका केही जिल्लामा समस्या देखिइसक्यो।

‘नेतृत्व सर्वसम्मत नेतृत्व गराएर  आन्तरिक प्रजातन्त्रलाई ध्वस्त गर्नलाई सोचिएको छ। जसले हस्तक्षेप हुन्छ। अहिलेको महाधिवेशन आन्तरिक लोकतन्त्रान्त्रिकरण भन्दा निर्देशित रूप देखिइरहेको छ। महाधिवेशन संविधान र निर्वाचन आयोगले दिएको निर्देशनलाई पालना गर्ने औपचारिक थलोको रूप मात्र हुने देखिएको पिटर बताउँछन्।

तर जैविक एमालेले स्वीकार नगर्नेमा ढुक्क देखिन्छन् आगन्तुक एमालेहरू। १० औँ महाधिवेशन एमाले महाधिवेशन मात्र नभएर एमालेको एकता महाधिवेशन भएकाले यसलाई त्यही कोणबाट हेरिनुपर्ने उनीहरूको मत देखिन्छ।

एमालेमा नवप्रवेश हुन् वा फर्किएका हुन् ती सबैको एकता अहिलेको एकताबद्ध एमालेका आवश्यकता रहेको केन्द्रीय सदस्य तथा माओवादीबाट एमालेमा प्रवेश गरेका नेता मणि थापाको मत छ।

माओवादी र एमालेको नेकपा हुँदा समेत ओलीलाई पहिलो अध्यक्ष मानेकाले पार्टी भित्र समस्या नरहेका थापाको दाबी छ।

‘केपी ओलीलाई बहुमत प्राप्त गरेर फेरी प्रधानमन्त्री बन्ने चाहना छ, त्यसमा पूर्व माओवादीबाट आएका साथीहरू र हाम्रो जनमतको उहाँलाई खाँचो छ,’ नेता थापाले उकेरासँग भने।

महाधिवेशन प्रतिनिधि छनोटमा होस् वा पार्टीको आन्तरिक राजनीतिमा ओलीले एमालेका नव आगन्तुक भन्दा आगन्तुक एमालेलाई प्राथमिकता दिएका छन्। त्यसैले त रावलभन्दा लेखराज भट्ट अनि अष्टलक्ष्मी शाक्य भन्दा रामबहादुर थापा बादलले नै जिम्मेवारी पाइरहेका छन्।

 ‘लिडरसीपले कसरी सोच्छ भन्ने हो । कुन पात्र नजिक गराउने आवश्यकता समय सन्दर्भले छान्छ। त्यो अनुसार उहाँले छान्नुभएको होला। बिचमा उहाँहरूको ट्रेल बढी भएको कारणले पनि त्यस्तो भएको हुनसक्छ। तर, ठ्याक्कै त्यस्तै चाहिँ मैले देखेको छैन’ थापाले भने । 

प्रारम्भमा अलि असहजझैँ देखिए पनि ओली समूहमा घुलमिल भएकाले नव आगन्तुक समूहका धेरै नेताहरूले असहज महसुस गरेका छैनन्। योगेश भट्टराई त प्रचार विभाग प्रमुखको रूपमा सक्रिय भइसके। अन्य नेताहरू पनि अहिले ओलीको आलोचना भन्दा निकट हुने वातावरणमै बढी केन्द्रित देखिएका छन्। तर रावल र भुसाल भने अटाउन सकेका छैनन्।

‘म फर्किएको भए पनि मलाई त्यस्तो फरक व्यवहार छ जस्तो लाग्दैन। कार्यकर्ता यो कित्ता त्यो कित्ता भन्ने हुँदैन। फर्किएर आएपछि पनि मलाइ सबैले उस्तै व्यवहार गरेका छन्। मैले पनि यो नाता, त्यो नाताले व्यवहार गरेको छैन,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उकेरासँग भनिन्।

उनले बरु माओवादीबाट आएकालाई एमालेकरण गर्नुपर्नेमा जोड दिइन्। उनले एमालेमा रहेको तीन धार मिलाएर एकै धार बनाउनुपर्ने बताउँछिन्।

‘अब माओवादी भनेर बस्ने होइन। एमालेमा आइसकेपछि एमालेकरण गर्नुपरेन ? उहाँहरूलाई पनि उपयुक्त स्थान दिनुपर्छ,’ शाक्यले भनिन्।

एमाले प्रवेश गरेका र फर्किएकालाई आगन्तुक एमाले भन्नै नमिल्ने एमाले सचेतक विशाल भट्टराईको मत छ।

‘उहाँहरूलाई मज्जाले स्वीकारेका छन्। कतिपयले एमालेमै रहेकालाई पनि अस्वीकार गर्न सक्छन्, आगन्तुकको के कुरा। उहाँहरूलाई आगन्तुक भन्न मिल्दैन। क्षमता योग्यता इतिहास अनुसारको उचित ठाउँ दिएर जिताउने दायित्व एमालेका कार्यकर्ताहरूको रहन्छ, त्यसमा तलमाथि हुँदैन। मिलाएर लान सकस पर्दैन,’ भट्टराईले भने।

थापा,शाक्य अनि भट्टराईले जे भने पनि यी तीन धारको व्यवस्थापन नै आगामी १० औँ महाधिवेशनको मुख्य चुनौती देखिन्छ। यसमा जैविक एमाले धारले कत्तिको लचकता अपनाउँछन् महत्त्वपूर्ण पाटो त्यही नै हो।

महाधिवेशनमा स्वतन्त्र प्रतिस्पर्धा भएमा आगन्तुक र नव आगन्तुक एमालेहरू कर्नरमा पर्ने निश्चित छ। त्यही बुझेर नै पार्टी अध्यक्ष ओली सर्वसम्मत नेतृत्व चयनको पक्षमा सक्रिय भएको प्रस्टै देखिन्छ।

अब तीनै धार कसरी समेटिन्छन् त्यो केही दिनमा चितवनमा देखिने छ नै।

३ मंसिर, २०७८, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।