थान्कामा जीवन चक्र बुझाउने नानीमाया 

थान्कामा जीवन चक्र बुझाउने नानीमाया 

काठमाडौं : चाँगुनारायण मन्दिर छेउमै छ नानीमाया तामाङको थान्का पसल। त्यहाँ उनी थान्का बेच्ने मात्र होइन, बनाउँछिन् पनि। १० वर्षदेखि थान्का बनाएर बेच्दै आएकी नानीमायाले थान्का बनाउन चाँगुमै सिकेकी हुन्।

प्रायः थान्काले बौद्ध दर्शनहरु चिनाउने गर्छन्। उनले बनाउने थान्का पनि बौद्ध धर्मका विभिन्न दर्शन चिनाउने खालका हुन्छन्। ‘मैले बनाउने थान्का प्रायः बौद्ध धर्मसँग सम्बन्धित हुन्छन्,’ उनले भनिन्, ‘थान्काले हाम्रो मनस्थिति शान्त बनाउँछन्।’ 

एउटा थान्का बनाउन १५ देखि २० दिनसम्म लाग्ने नानीमाया बताउँछिन्। ‘आम्दानी पनि ठिकै हुन्छ। एउटा थान्काको एक हजारदेखि १५ सय रुपैयाँसम्म पर्छ,’ उनी भन्छिन्।

सुनको जलप पनि लगाइन्छ थान्कामा 
थान्का प्रायः सामान्य कागज र क्यानभासमा बनाइन्छ। नानीमाया भने कटन क्यानभासमा बनाउने गर्छिन्। जसमा सुनको जलपको पनि प्रयोग गरिन्छ। ‘सुनको जलप पनि प्रयोग गर्ने गर्छौं,’ उनले भनिन्, ‘कुनै धार्मिक कारणभन्दा पनि राम्रो देखियोस् भनेर यसो गरिन्छ।’

बौद्ध धर्मसँग थान्काको अर्थ जोडिए पनि मानव जीवन चक्रसँगै जोडिएको उनी बताउँछिन्। साइकल जस्तै हाम्रो जीवनको चक्र पनि घुमिरहेको हुन्छ। बच्चादेखि मृत्यु नहुँदासम्मको हाम्रो जीवनचक्र एउटै थान्काले बोल्ने उनको कथन छ। 

चाँगुनारायणमा घुम्न नेपालीभन्दा विदेशी कम जान्छन् तर उनका अनुसार थान्का किन्ने ग्राहक भने विदेशी धेरै छन्। ‘विदेशीले नै हो हाम्रो थान्का किन्ने त हो,’ उनले भनिन्, ‘बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्।’

३ मंसिर, २०७८, १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।