पत्रकार महासङ्घको विधान मिच्दै उपाध्यक्ष नै भइन् काँग्रेसको उम्मेदवार

पत्रकार महासङ्घको विधान मिच्दै  उपाध्यक्ष नै भइन् काँग्रेसको उम्मेदवार

उनी खुल्ला महिलातर्फबाट महाधिवेशन प्रतिनिधिहरू अहिले नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधीहरुसँग सामाजिक सञ्जालबाट भोट माग्न व्यस्त छिन्। अधिकारी महासङ्घको गत निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर लगायतको सहज गठबन्धन बनेपछि युनियनको उपाध्यक्ष रहँदै महासङ्घको उम्मेदवार बनेकी थिइन्।

महासङ्घको विधानको परिच्छेद ८ को दफा ३२ अनुसार भने महासङ्घको पदाधिकारी रहँदै कुनै पार्टीको राजनीतिमा प्रत्यक्ष संलग्न हुनु कारबाहीयोग्य कदम हो। परिच्छेद ८ को १ नं बुँदामा 'महासङ्घको विधान तथा अनुशासनको पालना गर्नु महासङ्घको हरेका सदस्य तथा समिति र संस्थागत सदस्य संस्थाको कर्तव्य हुनेछ' लेखिएको छ।

त्यस्तै २ नं बुँदामा 'महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने उल्लेख छ।

अधिकारी काँग्रेसको भातृ सङ्गठन प्रेस युनियनको उपाध्यक्ष पदमा रहनु नै विधानको यो प्रावधान विपरीत हो नै। उनी अहिले झन् एक कदम अगाडि बढेर पार्टीको उम्मेदवारै बनेर भोट माग्न सक्रिय भएकी छिन्।

यसबारे जिज्ञासा राख्दा अधिकारीले काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा समेत महाधिवेशन महासमिति सदस्य रहेकाले यस पटक पनि उम्मेदवारी दिएको बताइन्।

‘विधान अनुसार कार्यकारी पदमा बस्न नमिल्ने भन्ने छ। महाधिवेशन महासमिति के हुन्छ भनेर म छलफल गरेरै आएको हुँ' उनले दाबी गरिन्।

भूगोलको राजनीति छोडे राजनीतिमा ५ वर्ष ब्याक हुने भएकाले उम्मेदवार बनेको बताउँदै उनले उकेरासँग भनिन्' अहिले छोडे भने भूगोलको राजनीतिको लागि अर्को ५ वर्ष कुर्नुपर्छ। पत्रकार महासङ्घको कार्यकाल त २ वर्षपछि सकिन्छ। पत्रकारिताकै राजनीति गर्ने मान्छे हौँ नि हामी। प्रेस युनियनले टिकट दिएर महासङ्घमा आएको हुँ म। प्रेस युनियन काँग्रेसको शुभेच्छुक संस्था हो भनेर सबैलाई थाहा छ।'

कार्यकारी पद हो भने नैतिकताले पनि महासङ्घमा नबस्ने बताउँदै उनले उम्मेदवारी दिने, नदिने यकिन नभएको दाबी गरिन्। जबकि भोट माग्ने उनका प्रचार सामाग्रीहरू सामाजिक सञ्जालमा फैलिइसकेका छन्।

अधिकारी मात्रै हैन। महासङ्घको विभिन्न तहमा नेतृत्व गरिरहेका अन्य पत्रकारहरू पनि अहिले काँग्रेसको विभिन्न तहमा उम्मेदवार बनिरहेका छन्। महासङ्घको केन्द्रीय सदस्य छविलाल तिवारी पर्वतबाट प्रदेश सभा (ख) को सचिव पदका उम्मेदवार छन्।

महासङ्घकी केन्द्रीय सदस्य सरिता तिम्सिना पनि कास्की ३ केन्द्रीय महाधिवेशन (खुल्ला) महिला पदको उम्मेदवार छिन्। महासङ्घको प्रदेश सभा सचिव रोशनराज पाण्डे काभ्रेको निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन्।

महासङ्घको बाँकेका जिल्ला अध्यक्ष दामोदर भण्डारी बाँकेबाट काँग्रेसको क्षेत्रीय प्रतिनिधि भइसकेका छन्। उपत्यका प्रदेश समिति अध्यक्ष सृजन झा काठमाडौँ महानगरपालिका १९ वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भैसकेका छन्। क्षेत्रीय प्रतिनिधि चुनिएको विषयलाई गोप्य राख्न चाहेका झाले उकेरासँग अनभिज्ञता व्यक्त गरे।

‘म अहिले महासङ्घको केन्द्रीय कार्यालयमा छु। मलाई थाहा छैन। यस विषयमा छलफल भइरहेको छ। कोही पनि राजनीतिबाट अछुतो छैन। प्रेस चौतारीका १८ जना पत्रकार महाधिवेशन प्रतिनिधि आएका छन्। हामी पनि छलफल गर्दैछौं।’

प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशनको प्रतिनिधिका लागि उसको भातृ  संस्था प्रेस चौतारीबाट १८ पत्रकार महाधिवेशन प्रतिनिधि छानिएका थिए।

एमालेको १८ जना महाधिवेशन प्रतिनिधिमा पत्रकार महासङ्घको वर्तमान सल्लाहकार निर्मला शर्मा पनि छिन्। त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल पनि एमालेको महाधिवेशन प्रतिनिधि छानिएका छन्।

तर उनीहरू महासङ्घको सदस्य रहे पनि कुनै पदमा भने छैनन्।  

महासङ्घको नेतृत्वमा रहेकाहरू खुलेरै राजनीतिक दलको विभिन्न पदमा उम्मेदवार बन्दा समेत पत्रकार महासङ्घको नेतृत्व भने नदेखेझैँ गरेर बसेको छ। यसले महासङ्घको सार्वजनिक छवि पेसागत सङ्गठनभन्दा पनि पार्टीगत सङ्गठनको बन्ने जोखिम बढाएको छ नै। तर केन्द्रले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

यस अगाडिका निर्वाचनमा पार्टीहरूबाट विभिन्न तहमा उम्मेदवार बनेका र जितेकाहरूको सदस्यता समेत महासङ्घले खारेज गरेको थियो।

महासङ्घका अध्यक्ष विपुल पोखरेल विधानमा प्रस्ट भनेको कुरा पालना गर्नु सबै सदस्यको दायित्व रहेको बताए।

'राजनीतिक रूपमा तटस्थता पत्रकारले देखाउनुपर्छ भनेर आफ्ना सदस्यलाई भनेर आन्तरिक सर्कुलर जारी गरेका छौँ। सार्वजनिक रूपमा बोल्नुपर्ने भए बोल्ने कि भन्ने पनि भएको छ,' पोखरेलले भने' जो-जसले विधानको उलङ्घन गरेका छन् उनीहरूको सन्दर्भमा अनुशासन विभागले एक्सन लिन्छ।’

प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल पत्रकार महासङ्घमा रहेर राजनीतिमा प्रत्यक्ष संलग्न हुनु आचारसंहिता विपरीत रहेको बताए। उनले संहिता पालना नगर्नेलाई रामराम मात्र भन्न सकिने प्रतिक्रिया दिए।

अर्का पूर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारले राजनीतिक दलको कुनै पदमा दाबेदार प्रस्तुत गर्नु र हुनु पत्रकारको नैतिकता र व्यक्तिगत आचरणको कुरा रहेको बताए।

‘राजनीतिमा प्रत्यक्ष संलग्न हुँदा पेसागत दायित्व, तटस्थता विश्वसनीयतामा प्रश्न उठ्न सक्छ,’ डा विष्टले भने‘स्वतन्त्र पत्रकारिता पनि गर्छु, पार्टीको महाधिवेशनमा प्रतिनिधिको हिसाबले भाग लिन्छु भन्नु उपयुक्त देखिन्न।’

२ मंसिर, २०७८, १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।